सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

बागलुङको छुर्पी अमेरिका निर्यात

सोमबार, ०५ कात्तिक २०८१, ०२ : ३७
सोमबार, ०५ कात्तिक २०८१

बागलुङ । पछिल्लो समय यहाँ उत्पादित  छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । 

यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । 

वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो । 

दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ ।

'दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ,' गौतमले भने । 

दुग्ध उत्पादक सहकारी संघमा एक हजार पाँच सय किसान आबद्ध छन् । संघले किसानबाट सङ्कलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । 

संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ । सहकारीले गत आवमा सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ ।
 
हाल सहकारी संघले छुर्पी प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । 

सहकारी संघमा १६ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताए । 

कृषकले उत्पादन गर्ने, सहकारीले संकलन गर्ने र सहकारी संघले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ । 

दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत संघले बजारीकरण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप