सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

माटोका भाँडा बनाउन भ्याइनभ्याई

सोमबार, ०५ कात्तिक २०८१, ०४ : ३०
सोमबार, ०५ कात्तिक २०८१

सुनसरी । इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्छन् । उनी दिनभर भाँडा बनाउने काममा व्यस्त रहन्छन् । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थालेका हुन् । 
 
पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्‍याउने हुन्छ । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन् । स्थानीय दरपी पण्डितका अनुसार कुम्भकार समुदाय तिहार र छठपर्वलाई लक्षित गरी माटोको घैला, दियो, धुपदानी, कलशलगायतका भाँडाकुँडा बनाउने काममा व्यस्त छ । 

भाँडा बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै उनीहरुले माटोको जाहो गर्ने गरेका छन् । एक महिना अगाडिसम्म विभिन्न सस्याका कारण माटो ल्याउन नसक्दा भाँडा बनाउन ढिला भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय बचिया पण्डितले बताए । 

'नजिक माटो पाइँदैन, टाढाबाट प्रतिट्रयाक्टर रु १० हजारदेखि रु २० हजारसम्ममा माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता छ,' उनले भने । तिहार र छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायत सामग्रीको अत्यधिक माग हुने भएकाले त्यसलाई लक्षित गरेर माटोका भाँडा बनाउने काममा लागेको पण्डितको भनाइ छ । 

चाडपर्वका बेलामा एउटा परिवारले एक लाखदेखि रु पाँच लाखसम्म माटोको दियो बनाएर बिक्री गर्ने गरेका छन् । चाडपर्वका बेलामा एउटा परिवारले माटोको भाँडाबाट रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दनी गर्ने गरेको बेचनीदेवी पण्डितले बताए ।

आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको बेचनीले बताए। कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप