सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु

सोमबार, ०५ कात्तिक २०८१, ०१ : ५१
सोमबार, ०५ कात्तिक २०८१

कैलाली । गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला पर्‍यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो । 

विसं २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भएको । विसं २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला पर्‍यो । 

डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो । उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो । 

कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

पछिल्लो छ वर्षमा पासोमा परेर कैलालीमा दुई वटा पाटे बाघ र पाँच वटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । 

जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा एउटा चितुवा, आव २०७८/७९ मा दुई चितुवा र एउटा पाटे बाघ, आव २०८०/८१ मा  एक पाटे बाघ र एक चितुवाको मृत्यु भएको छ भने चालु आवमा एक चितुवाको मृत्यु भएको छ ।

कैलालीमा भारतको दुधुवा नेशनल पार्क जोड्ने वसन्ता जैविकमार्ग र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने कर्णाली जैविकमार्ग छन् । यी मार्गबाट बाघ, चितुवा, हात्तीलगायतका जङ्गली जनावर ओहोरदोहोर गर्ने गर्दछन् । यी जैविक मार्गका वरिपरि बाक्लो मानव बस्ती छ । 

यसका कारण पनि यी क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका घटना हुने गरेको डिभिजनल वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए । 

जिल्लामा वन्यजन्तु उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीलाई बोलाइने गरिन्छ । समन्वय गरेर उद्धार टोली आइपुग्दा घण्टौँ बितिसकेको हुन्छ । कठायतले भने, 'यो अवस्थामा कतिपय मरिसकेका हुन्छन् र कतिपय उद्धार भएपछि मर्छन् । यदि हाम्रै ठाउँमा उद्धार टोली भएको भए समयमा उद्धार गरी बचाउन सकिन्थ्यो ।' 

उद्धार टोलीसँगै उद्धार गरिसकेपछि राख्ने ठाउँ यहाँ छैन । तत्काल उद्धार गरेर ‘साइकोलोजीकल थेरापी’सँगै पालनपोषणका लागि उद्धार केन्द्र आवश्यक पर्ने सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले बताए ।

विष्टकाअनुसार विविधकारणले उद्धार गरिएका वन्यजन्तु निकुञ्जले राख्न मान्दैन । सुदूरपश्चिममा उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता रहेको बताउँदै उनले भने, 'त्यसका लागि हामीले पहल गरिरहेका छौँ ।' पहिले निकुञ्ज क्षेत्रमा धेरै जसो वन्यजन्तुको द्वन्द्व हुने गथ्र्यो । त्यसैले निकुञ्जमा उद्धार केन्द्रहरू राखिएका छन् । अहिले निकुञ्ज बाहिर उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता महसुस भएको सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताए । 

सुदूरपश्चिममा कैलाली, कञ्चनपुरसँगै पहाडी जिल्ला बैतडी, डोटी, डडेल्धुरालगायतमा यस्ता समस्या रहेको उनले बताए। उद्धार टोलीका लागि नयाँ दरबन्दी राख्नुपर्छ । भेटनरी डाक्टरलगायतका कर्मचारीको आवश्यक पर्ने गरेको बताउँदै उनले भने, 'सरकारलाई यसका लागि प्रस्ताव गरेका छौँ ।  स्वीकृत भएपछि अगाडि बढ्ने छौँ ।' 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बनाइ रहेको उद्धार केन्द्रमा यो वर्ष बजेट विनियोजन गरेको बताउँदै उहाँले पहाडी जिल्लाका लागि डडेलधुरामा सेन्टर राख्ने योजना बनाएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप