सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : 'एमालेमा प्रश्न गर्नेलाई स्पष्टीकरण'देखि 'सभापति बचाउमा रास्वपाको आन्दोलन'सम्म

सोमबार, ०५ कात्तिक २०८१, ०० : ००
सोमबार, ०५ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’प्रस्तुत गरेका छौँ :-

आइतबार दिनभर सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेको पक्ष र विपक्षमा भएका प्रदर्शन, उनलाई हिरासतमा राख्न अदालतको अनुमति, बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता, पार्टीले जग्गा लिएको विषयमा असन्तुष्टि जनाउने तीन जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय लगायत समाचारहरूले महत्वपूर्ण स्थान लिए । मुख्य-मुख्य समाचारहरूको श्रृंखला तपाईहरूका लागि यहाँ प्रस्तुत गरेका छौँ । 

१. रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति, सभापति बचाउमा रास्वपाको आन्दोलन
कास्की जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार लामिछानेलाई कास्की जिल्ला अदालतमा पेस गरिएको थियो । 

२. बालुवाटारमा ओली र देउवाबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबिच आइतबार साँझ भेटवार्ता भएको हो ।

३. प्रश्न गर्नेलाई एमालेले सोध्यो स्पष्टीकरण
नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायीसँग जग्गा लिएको विषयमा असन्तुष्टि जनाउने तीन जनासँथ स्पष्टीकरण सोधेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

 

४. ओलीले कोर्स करेक्सन नगरे राजनीतिक वर्चस्व राख्न मुस्किल : झलनाथ 
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार सय दिन नपुग्दै अलोकप्रिय बनेको विश्लेषण गरेका छन् । ओलीले कोर्स करेक्सन नगरे राजनीतिक वर्चस्व राख्न मुस्किल हुने उनको टिप्पणी छ ।

५. रवि पक्राउ परेपछि के गर्दैछन् विपक्षी दल ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ गरेपछि सो पार्टीका नेता–कार्यकर्ता सडकमा उत्रिएका छन् । उनीहरुले रविको पक्राउप्रति विरोध जनाउँदै आएका छन् । तर अन्य विपक्षी दल भने यतिबेला ‘पर्ख र हेर’को अवस्थामा छन् ।


६. शेष घलेलाई परराष्ट्र मन्त्रालयले पठायो पत्र
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउने सन्दर्भमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औँ बैठकले गठन गरेको उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई परराष्ट्र मन्त्रालयले पत्र पठाएको छ । कात्तिक १ गते मन्त्रालयका उपसचिव पुष्करराज नेपालको हस्ताक्षरमा तयार पत्र आइतबार बालुवाटारस्थित संघको सचिवालयमा प्राप्त भएको सीईओ राजेन्द्र राउतले जानकारी दिए ।


७. कर्णालीका अर्थमन्त्री अर्बपति
कर्णाली सरकारमा कांग्रेसबाट सहभागी चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । जसअनुसार प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाह तुलनात्मक रूपमा अन्य मन्त्रीभन्दा निकै धनी देखिएका छन् । 

८. ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई अब डिजिटल चिट
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेमा सवारी चालकलाई ई–चलान (डिजिटल चिट) दिने प्रणालीको सुरुवात गरिएको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच नयाँ प्रणालीको सुरुवात गरिएको हो ।


९. अमेरिकाविरुद्ध टी–२० सिरिजमा लगातार दोस्रो जितसँगै नेपाललाई शृङ्खला
अमेरिकाविरुद्ध टी–२० सिरिजमा लगातार दोस्रो जितसहित नेपालले शृङ्खला कब्जा गरेको छ । तीन म्याचको शृङ्खलामा नेपालले एक खेल अगावै जितेको हो ।


१०. माओवादीको केन्द्रीय समिति बैठक तिहार अघि नबस्ने
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तिहारअघि नबस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिल्ला दौडाहामा रहेको र अन्य नेताहरू पनि जिल्ला–जिल्लामा रहेकाले तिहारअघि बैठक नबस्ने भएको हो ।

११. कक्षा १२ को मौका परीक्षामा अङ्ग्रेजीमा धेरै अनुत्तीर्ण

ष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको कक्षा १२ को मौका परीक्षामा सबैभन्दा बढी अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

१२. ट्रम्पलाई जिताउन एलन मस्कले एक मतदातालाई १० लाख डलर दिने 
अमेरिकामा यतिबेला चुनावको चहलपहल बाक्लो छ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले खुलेर पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा लागेका छन् । यसैबिच उनले राष्ट्रपतिको निर्वाचनसम्म हरेक दिन एक जना मतदाताले १० लाख डलर जित्ने मौका दिने वाचा गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप