सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

डेस्कमा उभिएर काम गर्दैमा हट्दैन मुटु रोगको जोखिम

आइतबार, ०४ कात्तिक २०८१, २२ : २९
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । डेस्क जब गर्नेहरू लामो समयसम्म कुर्सीमा बसेरै काम गर्छन् । बस्दा शरीर र स्वास्थ्यलाई हुनसक्ने जोखिम र क्षति सुनेर कतिपय मानिसहरू बस्नुको सट्टा उभिई उभिई काम गर्न थालेका छन् । कुर्सीमा बसेर काम गरिरहँदा निष्क्रिय भइन्छ भन्ने मानिसहरूको सोच छ ।

केही घण्टा उभिएर काम गर्‍यो भने यसको भर्पाई हुन्छ भन्ने उनीहरू सोच्छन् । लामो समयसम्म बसेर काम गर्दा स्ट्रोक र हर्ट फेलियरको समस्या हुनसक्छ, तर बेला बेलामा उभिएर काम गर्दा यस्ता खतरा कम हुन्छ भन्ने सोच मानिसहरूमा पाइन्छ ।

यसरी उभिएर काम गर्दा शरीरमा फाइदा हुनुको सट्टा उल्टै क्षति हुनसक्छ भन्ने हालै भएको एउटा अध्ययनले देखाएको छ । लामो समयसम्म उभिएर डेस्कको काम गर्दा खुट्टाका नसा सुन्निन थाल्छन् । ढिक्का भएर रगत जम्ने खतरा पनि बढ्छ । यो अध्ययन बेलायतमा ८० हजारभन्दा बढी वयस्कमाथि गरिएको थियो । यसमा उभिएर काम गर्दा स्ट्रोक र हर्ट फेलियर जस्ता रोगको खतरा कम नहुने देखिएको थियो ।

उभिएर काम गर्दाको क्षति

दिनमा दुई घण्टाभन्दा धेरै समय उभिँदा डीप वेन थ्रोम्बिोसिस र वैरिकोज भेन्स जस्ता समस्या उत्पन्न हुने खतरा बढ्ने सिड्नी विश्वविद्यालयको तर्फबाट गरिएको अध्ययनमा थाहा भएको थियो । यो अध्ययनको नतिजा इन्टरनेशनल जर्नल अफ एपिडेमियोलजीमा पनि प्रकाशित भएको छ । जो मान्छे लामो समयसम्म बस्छ वा उभिन्छन् तिनीहरूलाई पूरै दिन नियमित रूपमा गतिविधि गर्नुपर्छ भनेर सिड्नी विश्वविद्यालयका चिकित्सा एवम् स्वास्थ्य फ्याकल्टिका डा.म्याथ्यू अहमदीले बेलायती पत्रिका ‘द गार्जियन’ सँगको कुराकानीमा भनेका थिए ।

लामो समयसम्म उभिँदा गतिहीन जीवनशैलीमा कुनै सुधार नहुने, बरु केही मान्छेका लागि त यसले रक्त सञ्चारमा जोखिम उत्पन्न गराउने उनको भनाई थियो । लामो समयसम्म उभिँदा स्वास्थ्यमा सुधार आउँदैन र रक्तसञ्चार सम्बन्धी समस्याको जोखिम बढ्ने शोधमा पत्ता लागेको छ ।

अध्ययनको सुरुमा अनुसन्धानमा संलग्न मानिसहरूमा मुटुसम्बन्धी रोग थिएन । तिनीहरूको शारीरिक गतिविधिमा दृष्टि राख्न नाडीमा डिभाइस बाँधिएको थियो । दुई घण्टाभन्दा धेरै उभिँदा हरेक ३० मिनेटमा रक्तसञ्चार सम्बन्धी रोगको जोखिम ११ प्रतिशतले बढ्ने अनुसन्धान टोलीले पत्ता  लगायो । उभिनुले स्ट्रोक, हृदयाघात र मुटुसम्बन्धी अन्य रोगहरूको जोखिमलाई कम गर्दैन भनेर अनुसन्धानकर्ताहरूले भनेका छन् ।

डेस्क जबले स्वास्थ्य पार्ने जोखिम घटाउन के गर्ने ?

‘जो मान्छे नियमित रूपमा लामो समयसम्म बस्छन्, उनीहरूले बिच बीचमा उठेर व्यायाम गरिरहनुपर्छ, जसले गर्दा मुटु रोगको जोखिम कम होस् ।’ सिड्नी विश्वविद्यालयमा म्याकेन्जी वेयरेबल्स रिसर्च हबका निर्देशक प्रोफेसर इमानुएल स्टामाटाकिस भन्छन् ।

जोखिम कम गर्न नियमित कामबाट विश्राम लिन, हिँड्न, बैठकका लागि बाहिर कतै जानुछ भने सम्भव भएका ठाउँमा हिँडेर पुग्न उनी भन्छन् । अफिसमा आउँदा वा जाँदा सिँढीहरू प्रयोग गर्न, खाजा खाने लन्चको समयमा केही टाढासम्म हिँडेर खाजा खान जाने जस्ता उपायहरू अपनाउन पनि उनले भनेका छन् ।

ब्रिटिस हार्ट फाउन्डेसनकी वरिष्ठ कार्डियाक नर्स एमिली म्याकग्रा भन्छिन्, ‘लामो समयसम्म उभिनुले हृदय रोगको जोखिम बढाउँदैन, तर केही मानिसहरूका लागि यसले रक्त सञ्चारमा समस्या ल्याउन सक्छ । यो जोखिम कम गर्न सक्रिय हुन निकै जरुरी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप