नेपाल ‘एक चीन नीति’ प्रति सधैँ प्रतिबद्ध छ : उपाध्यक्ष घिमिरे
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल ‘एक चीन नीति’ प्रति सधैँ प्रतिबद्ध रहेको धारणा राखेकी छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आइतबार बोल्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको धारणा राखेकी हुन् ।
‘नेपाल ‘एक चीन नीति’ प्रति सधैँ प्रतिबद्ध छ, यसमा सधैँ स्पष्ट र अटल पनि छ’ कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै उपाध्यक्ष घिमिरे भनिन्, ‘हाम्रो माटोमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो अटल प्रतिबद्धता हो। यो प्रतिबद्धतामा हामी अडिग छौँ ।’
उनले नेपाल र चीन असल मित्र र भरपर्दो साझेदारका रूपमा रहँदै आएको पनि बताइन् । व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधिमा चीनले हासिल गरेका उपलब्धिहरूबाट नेपाल पनि प्रत्यक्ष वा परोक्षरुपमा लाभान्वित हुँदै आएको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले नेपालका लागि चीनका बन्दरगाह सम्म पुग्ने वातावरण बनेको र कोभिडको समयमा बन्द भएका सबै नाकाहरू सुचारु भएका कारण दुई देश बिचको व्यापार तथा सीमा क्षेत्रका नागरिकले आवतजावत गर्न सहज भएको बताइन् ।
उनले पछिल्लो समयमा चीन र नेपालबिच सम्पन्न भएका विभिन्न सम्झौता र समझदारीहरूले रणनीतिक सडक सञ्जाल र राजमार्ग, हवाई मार्ग, रेलमार्ग र पारवहन सुविधा, र नवीकरणीय ऊर्जा विकास र विद्युतका प्रसारण लाईन बनाउने कुरामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिएको बताइन् ।
चीनसहित नेपाल र ट्रान्स–हिमालयन क्षेत्रका देशहरू बिचको व्यापार, पारवहन र कनेक्टिभिटीलाई बढाउँदा यस क्षेत्रले महत्त्वपूर्ण फड्को मार्न सक्ने धारणा राख्दै उपाध्यक्ष घिमिरेले नेपालले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बिचको सम्पर्क विस्तारको ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको स्पष्ट पारिन् ।
उनले ट्रान्स हिमालयन रेलवे, राजमार्ग, हाई भोल्टेज पावर ग्रिडहरू लगायतका ठुला परियोजनाहरूलाई नेपालले उच्च प्राथमिकताका योजनाहरूको रूपमा कार्यान्वयन गर्न चाहेको र यस्ता पूर्वाधारहरू हिमालयन क्षेत्र र देशहरूलाई आपसमा जोड्न अत्यन्तै लाभदायक बन्ने विश्वास पनि व्यक्त गरिन् ।
चीनले नेपाललाई रेल, सडक, विद्युत्, दूरसञ्चार, हवाई मार्ग मार्फत जोड्ने र चीन हुँदै नेपाललाई बाहिरी विश्वसँग जोड्ने काम प्राथमिकतामा राख्नु जरुरी रहेको बताउँदै उपाध्यक्ष घिमिरेले यसले नेपालको आर्थिक विकासमा नयाँ युगको सुरुवात गर्ने दाबी गरिन् ।
नेपालमा कृषि उत्पादकत्व र दक्षता बढाउन चिनियाँ कृषि प्रविधिको प्रसार र कृषिको यान्त्रीकरणलाई प्रयोगमा ल्याउन तथा चीनका विभिन्न सहरबाट पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सोझो हवाई सेवा सञ्चालन गर्दा नेपालले पर्यटनबाट ठुलो लाभ लिने पनि उपाध्यक्ष घिमिरेको भनाई थियो ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले पनि बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’