१० बजे, १० समाचार
आज २०८१ कार्तिक ४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति, बालुवाटारमा ओली र देउवाबिच भेटवार्ता, पार्टीले जग्गा लिएको विषयमा असन्तुष्टि जनाउने तीन जनालाई एमालेले सोध्यो स्पष्टीकरण, ओलीले कोर्स करेक्सन नगरे राजनीतिक वर्चस्व राख्न मुस्किल ः झलनाथ, रवि पक्राउ परेपछि के गर्दैछन् विपक्षी दल ?, शेष घलेलाई परराष्ट्र मन्त्रालयले पठायो पत्र, कर्णालीका अर्थमन्त्री अर्बपति लगायत छन् ।
१. रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
कास्की जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार लामिछानेलाई कास्की जिल्ला अदालतमा पेस गरिएको थियो ।
२. बालुवाटारमा ओली र देउवाबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबिच आइतबार साँझ भेटवार्ता भएको हो ।
३. पार्टीले जग्गा लिएको विषयमा असन्तुष्टि जनाउने तीन जनालाई एमालेले सोध्यो स्पष्टीकरण
नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायीसँग जग्गा लिएको विषयमा असन्तुष्टि जनाउने तीन जनासँथ स्पष्टीकरण सोधेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
४. ओलीले कोर्स करेक्सन नगरे राजनीतिक वर्चस्व राख्न मुस्किल : झलनाथ
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार सय दिन नपुग्दै अलोकप्रिय बनेको विश्लेषण गरेका छन् । ओलीले कोर्स करेक्सन नगरे राजनीतिक वर्चस्व राख्न मुस्किल हुने उनको टिप्पणी छ ।
५. रवि पक्राउ परेपछि के गर्दैछन् विपक्षी दल ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ गरेपछि सो पार्टीका नेता–कार्यकर्ता सडकमा उत्रिएका छन् । उनीहरुले रविको पक्राउप्रति विरोध जनाउँदै आएका छन् । तर अन्य विपक्षी दल भने यतिबेला ‘पर्ख र हेर’को अवस्थामा छन् ।
६. शेष घलेलाई परराष्ट्र मन्त्रालयले पठायो पत्र
गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउने सन्दर्भमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औँ बैठकले गठन गरेको उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई परराष्ट्र मन्त्रालयले पत्र पठाएको छ । कात्तिक १ गते मन्त्रालयका उपसचिव पुष्करराज नेपालको हस्ताक्षरमा तयार पत्र आइतबार बालुवाटारस्थित संघको सचिवालयमा प्राप्त भएको सीईओ राजेन्द्र राउतले जानकारी दिए ।
७. कर्णालीका अर्थमन्त्री अर्बपति
कर्णाली सरकारमा कांग्रेसबाट सहभागी चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । जसअनुसार प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाह तुलनात्मक रूपमा अन्य मन्त्रीभन्दा निकै धनी देखिएका छन् ।
८. ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई अब डिजिटल चिट
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेमा सवारी चालकलाई ई–चलान (डिजिटल चिट) दिने प्रणालीको सुरुवात गरिएको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच नयाँ प्रणालीको सुरुवात गरिएको हो ।
९. अमेरिकाविरुद्ध टी–२० सिरिजमा लगातार दोस्रो जितसँगै नेपाललाई शृङ्खला
अमेरिकाविरुद्ध टी–२० सिरिजमा लगातार दोस्रो जितसहित नेपालले शृङ्खला कब्जा गरेको छ । तीन म्याचको शृङ्खलामा नेपालले एक खेल अगावै जितेको हो ।
१०. माओवादीको केन्द्रीय समिति बैठक तिहार अघि नबस्ने
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तिहारअघि नबस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिल्ला दौडाहामा रहेको र अन्य नेताहरू पनि जिल्ला–जिल्लामा रहेकाले तिहारअघि बैठक नबस्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह : अर्थ मन्त्रालय
-
यसरी गर्न सकिन्छ कर्णालीमा सडक दुर्घटना न्यूनीकरण
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
अडानीमाथि लागेको आरोपबारे ह्वाइट हाउसले के भन्यो ?
-
झापाबाट एघार करोडको चिया निर्यात
-
‘कर्णालीका सडकको मर्मत र सुरक्षालाई ध्यानमा राखेर काम गर्छौं’