सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

ओलीबारे झलनाथको विश्लेषण– कोर्स करेक्सन नगरे राजनीतिक वर्चस्व कायम राख्न मुस्किल

दल विभाजन अध्यादेश र पार्टीभित्र देखिएको असन्तुष्टिबारे के भने ?
आइतबार, ०४ कात्तिक २०८१, २० : १९
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार सय दिन नपुग्दै अलोकप्रिय बनेको विश्लेषण गरेका छन् । आइतबार रातोपाटीसँग कुरा गर्दै उनले ०७४ मा शक्तिशाली प्रधानमन्त्री भएका ओली अहिले निकै कमजोर भएको विश्लेषण गरेका हुन् ।

‘०७४ मा केपी ओली नेतृत्वको झण्डै दुई तिहाइको सरकार नेपालको इतिहासमै शक्तिशाली सरकार हो । अहिलेको सरकार कांग्रेसको वैशाखी टेकेर उभिएको हो । यो बिचमा ओलीजीले कसको साथ लिने वा नलिने विषयमा मापदण्ड पनि बनाउन सक्नुभएन । जोसँग मिल्दा बालुवाटार पुगिन्छ, त्यही नै मापदण्ड बनाउनुभयो,’ खनालले भने ।

अरूले त्यही मापदण्ड अपनाउँदा ओलीले कडा आलोचना गर्ने तर ओलीले आफ्नो हकमा भने त्यही अपनाएर आनन्द मान्ने गरेको खनालको टिप्पणी छ । ‘यही दोहोरो चरित्रका कारण ओलीको लोकप्रियता ह्वात्तै घटेको छ’, उनले भने ।

ओली कमजोर हुँदै जानुको कारण प्रस्ट पार्दै खनालले भने, ‘पहिलो कुरा, उहाँ कुन लक्ष्यमा हिँडेको हो, त्यो कहीँ पनि भेटिँदैन । उहाँले अगाडि बढ्दै गर्दा कस्तो कार्यदिशा, नीति लिएर अगाडि बढ्नुपर्ने हो, त्यो निर्क्यौल पनि गर्न सक्नुभएन ।’

०६२/६३ को आन्दोलन र संविधान निर्माणपछि कस्तो भिजन लिएर अगाडि बढ्नुपर्ने हो, त्यो पनि ओलीले पक्रिन नसकेको खनालले बताए । ‘हामीले संविधानको भाग ४ मा राज्यका निर्देशक सिद्धान्त राखेका थियौँ । धेरै दलहरूले यो पढेनन् । पढेर पनि बुझेका छैनन् । बुझेकाले पनि बुझ पचाएका छन्,’ उनले भने, ‘खासमा संविधानले नयाँ भिजन अगाडि सारेको थियो । त्यसलाई कार्यान्वयन गर्न सकेनन् ।’

ओली सरकार गठन भएको यो हप्ता सय दिन पूरा हुँदैछ । तर ओली सरकारको सकारात्मकभन्दा नकारात्मक काम धेरै भएकाले योपटक लोकप्रियता ९० डिग्रीबाट २० डिग्रीभन्दा तल झरेको खनालले बताए ।

‘९० डिग्रीबाट लोकप्रियता घटेर २० डिग्रीभन्दा तल झरेको छ । अहिलेकै नीतिमा ओलीजी अगाडि बढ्नुभयो भने आगामी दिनमा राजनीतिक वर्चस्व कायम राख्न ओलीलाई मुस्किल छ’, उनले भने, ‘कोर्स करेक्सन गरेर नयाँ ढंगले अगाडि बढ्नुभयो भने परिस्थिति बदलिन पनि सक्छ ।’

अहिलेको परिस्थितिमा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने हो भने एमालेकै लागि आत्मघाती हुने खनालको विश्लेषण छ । उनले एकीकृत समाजवादीलाई विभाजन गर्न खोजेमा वा कानुनी हतियार बनाउन खोजेमा एमालेका लागि आत्मघाती उनले दाबी गरे ।

‘हाम्रो पार्टीलाई कसैले विभाजन गर्न खोज्छ, कानुनी हतियार बनाउन खोज्छ भने त्यो हतियार हाम्रोलागि मात्र लाग्दैन, धेरैतिर लाग्न सक्छ । त्यो हतियारले धेरैलाई घायल बनाउन सक्छ,’ खनालले भने, ‘यसप्रकारको हतियार बनाउने भनेको लोकतन्त्रलाई छेदन गर्ने, प्वाल पार्दै धमिरा लगाउने खालको कुरा हुन जान्छ ।’

संसदीय लोकतन्त्रलाई बलियो बनाउन सबै दल गम्भीर हुनुपर्नेमा खनालले जोड दिए । ‘अन्य दललाई विभाजन गर्नका लागि कानुनी हतियार बनाउन आवश्यक छैन,’ उनले भने, ‘त्यसको परिणाम अरुलाई हान्न उजाइएको हतियार कतै आफ्नै गर्धनमाथि लाग्ने त होइन ? मलाई त्यो आशङ्का छ ।’

तर अध्यादेश ल्याउने बेलासम्ममा एमाले सत्तामा नै रहन्छ कि रहँदैन भन्नेमा उनले शङ्का व्यक्त गरे । दल विभाजन गर्ने हतियार बनाउने कारखाना नै बन्द हुनसक्ने उनको बुझाइ छ ।

‘अहिले दुई वटा सत्तारूढ दलमध्ये कांग्रेस पहिलो पार्टी छ । अन्य कुनै पार्टीलाई ठुलो बनाउन अध्यादेश ल्याइदिन कांग्रेसलाई के आवश्यकता छ ? जबर्जस्ती गर्न थाल्दा के हुन्छ परिणाम ?’ खनालले प्रश्न गरे ।

अहिलेसम्म देखिएको आम प्रवृत्तिको आधारमा ओली सरकार धेरै दिन नटिक्ने खनालको दाबी छ ।

एकीकृत समाजवादीभित्र देखिएको असन्तुष्टिबारे उनले महाधिवेशनको म्याण्डेटलाई पार्टी नेतृत्वले बुझ्न नसक्दा समस्या आएको बताए ।  ‘पार्टीलाई एकताबद्ध बनाएर लैजाऔँ, सहमतिका साथ अगाडि बढाऔँ, पार्टीलाई समग्र रूपमा रुपान्तरण गराऔँ । अग्रगामी रूपमा अगाडि बढाउने म्याण्डेट थियो । म्याण्डेट अनुसार पार्टी नेतृत्व अगाडि बढ्न सकेन’, खनालले भने, ‘केन्द्रीय समितिको पहिलो बैठकमा आएर पोलिटब्युरो र पदाधिकारीको निर्वाचन गराउँदा केन्द्रीय समितिको सन्तुलन खलबलियो । यो खलबलिएको कारण अहिले असन्तुष्टि देखिएको छ । तर क्रमशः पार्टी सम्हालिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप