सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

हेटौँडा–कुलेखानी–काठमाडौँ सडक खण्ड दुई तर्फी सञ्चालनमा

आइतबार, ०४ कात्तिक २०८१, २० : ०६
आइतबार, ०४ कात्तिक २०८१

हेटौँडा । तीन दिनका लागी बन्द गरिएको हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सिमखोलामा सडक मर्मत गरेसँगै सवारी आवागमन दुईतर्फी खुला गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार इन्द्रसरोवर २ स्थित सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्न काम सकिएपछि उक्त सडक खण्ड दुईतर्फी खोलिएको हो ।

यसअघि उक्त सडक खण्डा भएर हेटौँडाबाट–काठमाडौँ जाने सवारी साधनलाई रोक लगाइएको थियो भने काठमाडौँबाट–हेटौँडा आउने सवारी साधनलाई सञ्चालन अनुमति दिइएको थियो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्ने प्रयोजनका लागि बन्द गरिएको सडक खण्ड काम सकिएपछि खोलिएको जानकारी दिए । उनले सिमखोलामा निर्माण गरिएको डाइभर्सनमा थप अर्को ट्रयाक खोलेसँगै सवारीसाधन आवतजावतमा सहज हुने बताए ।

चाडपर्वमा उक्त मार्ग भएर गुड्ने सवारीको चाप धान्न कठिन भएपछि जिल्ला प्रशासन कार्यालयको विशेष अनुरोधमा प्रदेश सरकार र सडक डिभिजन कार्यालयले सिमखोलामा ह्युमपाइप राखेर थप अर्को ट्रयाक खोलेको हो ।  

हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी सडक खण्ड एकतर्फी सञ्चालनमा आएपछि त्रिभुवन राजपथ र कान्ति लोकपथमा सवारीसाधनको चाप बढेको थियो । मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले हेटौँडाबाट–काठमाडौँ जोड्न सबै मार्ग सञ्चालनमा आएकाले अब यात्रामा सहजता हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप