सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
मोबाइलको लत

‘सुत्नुअगाडि धेरै मोबाइल चलाएमा लर्निङ ड्राउजी सिन्ड्रम हुन्छ’

आइतबार, ०४ कात्तिक २०८१, १९ : ४५
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । पछिल्लो समय मोबाइल (स्मार्ट फोन)को प्रयोग बढेको छ । यसले आँखाको सँगै विभिन्न मानसिक, शारीरिक र सामाजिक समस्या निम्त्याएको देखिन्छ । यिनै विषयमा हामीले मनोविद् प्रा.डा. गंगा पाठकसँग कुराकानी गरेका छौँ : 

  • मोबाइल वा इन्टरनेटको प्रयोगले के कस्ता मानसिक समस्या देखापरेको पाउनुभएको छ ?

मोबाइल प्रयोग गरेर असर परेको धेरै केस मकहाँ आएका छन् । सन् २०१५ अगाडि मोबाइलसँग सम्बन्धित त्यति धेरै समस्या थिएनन्, तर जति–जति स्मार्ट फोनको प्रयोग बढ्दै गयो, त्यही अनुसार त्यसको समस्या पनि बिस्तारै बढ्दै गए । यसको प्रयोगले समस्या आजको भोलि देखिने होइन । व्यक्तिले कति समय मोबाइल चलाउँछ, कुन मानसिकता वा भावनामा चलाउँछ, यसले पनि फरक पार्छ । 

मकहाँ एउटा यस्तो बच्चा आयो, ऊ पुरै कार्टुनको जस्तो बोल्ने, कार्टुनजस्तै हिँड्ने गथ्र्यो । उसका अभिभावकको पसल भएकाले उसलाई भुलाउन आइप्याड दिइएको रहेछ । उसले त्यसमा बढी कार्टुन हेर्ने गर्दो रहेछ । त्यो बच्चालाई यहाँ राखेर मैले बोल्न पनि सिकाउनुपर्‍यो । खाना खान र हिँड्न सिकाउनुपर्‍यो । यतिसम्म कि सामान्य सीप सिकाउनुपर्‍यो । 

कोरोना महामारीपछि ७५ प्रतिशत बच्चामा मोबाइल फोनको प्रयोगको असर देखापरेको थियो । सो समयमा कतिपयले अश्लील भिडियो हेर्न थालेछन् । त्यसको असर पनि परेका केसहरु मकहाँ आएका थिए । यस्तो जानकारी पाएर स्कुलहरुले पनि मलाई रिपोर्ट गरेका थिए । मैलै बच्चालाई सोही अनुसार काउन्सिलिङ गरेँ । 

कोरोना महामारीको समयमा आनलाइन क्लास भयो । त्यतिबेला क्लासमा सहभागी भए पनि कतिपयले अरु नै चिज मोबाइलमा हेरेर बस्थे । 

यो अनलाइन क्लास एकैपटक आउँदा अभिभावकले पनि त्यति मेसो पाएनन् । त्यतिबेला फुर्सद भएकाले अभिभावक लगायत घरका सबैले मोबाइल चलाएर बसेका हुन्थे ।

dr ganga pathak (1)

यसले गर्दा बच्चाहरुमा धेरै नकारात्मक असर परेको थियो । जब भौतिक कक्षा सञ्चालन भयो, तब उनीहरु घरमा मोबाइल, इनटरनेट सबै छाडेर गएका थिए । त्यतिबेला उनीहरुमा समस्या देखियो— स्कुलमा सक्रिय नहुने, पढाइमा ध्यान लगाउन नसक्ने, साथीहरुसँग कम बोल्ने आदि । यस्तो समस्यालाई ‘पेनिक इन्जाईटी’  भनिन्छ । अहिले पनि त्यसको असर छ । 

कोरोनाका बेला एक थरी समूहले गेम खेल्यो, कतिपयले पोर्न साइट हेरे । पोर्न साइट हेरेर आफ्ना गर्लफ्रेन्डलाई पनि ‘कपडा खोलेर भिडियो खिच’ भन्नेहरु रहेछन्, त्यस्ता पनि मकहाँ आएका थिए । 

कोरोना महामारीको समयका बच्चा अहिले १०–१२ कक्षामा पुगेका छन् । अहिले कक्षा १२ को र १० को नतिजा किन बिग्रियो ? कारण यो पनि हो । ती बच्चामा ‘कन्फिडेन्ट’ नै छैन । मोबाइल चलाएपछि बालबालिकामा रिसाउने, झर्कने समस्या देखिन्छन् । खाने–सुत्ने तालिकामा फरक पर्छ । त्यसैले उनीहरुमा डिप्रेसन वा एन्जाइटी हुन सक्छ । 

कतिपयलाई ‘सोसल एन्जाइटी’ हुन्छ । यो भनेको अरुसित घुलमिल हुने, बोल्ने लगायत कन्फिडेन्ट डाउन हुनु हो । ऊ सकेसम्म समूहमा जानै चाहँदैन, कोठामा एक्लै बस्न रुचाउँछ । 

dr ganga pathak (6)

यसका साथै शारीरिक असर पनि पर्छ । मोबाइलमार्फत आएका विकिरणले ब्रेन (दिमाग)को इलेक्ट्रोड्सलाई असर गर्छ  । अर्थात् दिमागका ‘नेचुरल इलेक्ट्रोड्स’लाई ‘आर्टिफिसियल एलेक्ट्रोड्स’ले ‘डोमिनेट’ गर्छ । यसले गर्दा मस्तिष्कको न्युरो ट्रान्समिसनमा रहने केमिकलमा डिसअर्डर भएर मस्तिष्कका सेल खुम्चने गर्छन् । सेल सक्रिय नहुँदा व्यक्तिको शारीरिक, मानसिक वा भावनात्मक क्रियाकलापमा असर पर्छ । यस्तो समस्या बच्चालाई मात्रै होइन, हामी सबैलाई हुन सक्छ । 

दिनको दुई घण्टाभन्दा बढी, त्यो पनि सुत्नुअगाडि मोबाइल चलाउने बच्चामा ‘लर्निङ ड्राउजी सिन्ड्रम’ हुन्छ । 

त्यसैले मोबाइल कति समय हेर्ने, कसरी चलाउने भन्नेमा ध्यान दिनुपर्छ । जसले दिनको दुई घण्टाभन्दा बढी त्यो पनि सुत्नुअगाडि मोबाइल चलाउँछ, त्यस्तो बच्चामा ‘लर्निङ ड्राउजी सिन्ड्रम’ देखिन सक्छ ।

  • ‘लर्निङ ड्राउजि सिन्ड्रम’ भनेको के हो  ? 

यो भनेको एक प्रकारको रोग हो । यो अवस्थामा पढ्न खोज्दा हाई आउने, अल्छी लाग्ने, एकदम सुस्त हुने, कन्सर्नटे«सन नहुने आदि हुन्छ । अरु बेला एक्टिभ भएका बच्चा पढ्ने बेला एक्टिभ हुँदैनन् ।

dr ganga pathak (3)

  • मोबाइलको बढी प्रयोगले कस्ता किसिमका शारीरिक समस्या देखिन सक्छन् ? 

मोबाइल चलाउँदा व्यक्ति सुतेको, बसेको वा उभिएको हुन्छ । कोही त सोफामा बस्छन्, त्यसमै सुतेर मोबाइल चलाउँछन् । यसले गर्दा शरीरको कसरत पुग्दैन र अनेक समस्या निम्तिन सक्छन् ।

यस्तै बसाइ र हेराइ मिलेन भने ढाड र गर्धनमा समस्या आउन सक्छ ।  

  • मोबाइलको प्रयोगबाट  हुने मानसिक लगायत समस्याबाट आफू र बालबालिकालाई जोगाउनका लागि गर्नुपर्ला ? 

मोबाइलको प्रयोग गरौँ तर दुरुपयोग नगरौँ । धेरै समय मोबाइलमा घोरिनु भएन । यो सबैको हकमा लागु गर्नुपर्छ ।  

बालबालिकाको हकमा अहिले कतिपय स्कुलले ‘प्रोजेक्ट वर्क’ दिन्छन् । त्यसका लागि मोबाइल वा ल्यापटपको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले स्कुलले प्रोजेक्ट वर्क कसरी गर्ने भनेर सिकाउनुपर्छ । 

बालबालिकालाई मोबाइल नचला भनेर खोस्नुको सट्टा यसको फाइदा र बेफाइदा बताउनुपर्छ । किन र केका लागि चलाउने, कति समय चलाउने, कस्ता सामग्री हेर्ने भनेर बुझाउनुपर्छ । ताकि उनीहरुले आफूलाई असर पर्ने गरी मोबाइल नचलाऊन् । बालबालिकालाई उनीहरुको उमेर अनुसारका गतिविधि गर्न वा सिक्न प्रेरित गर्नुपर्छ ।  

मोबाइलमा गेम खेल्दा के फाइदा भयो, अर्को कुनै सामग्री हेर्दा के भयो भनेर तुलना गरी फाइदा र बेफाइदा बुझाउनुपर्छ र सकारात्मक तरिकाले प्रयोग गर्न काउन्सेलिङ गर्नुपर्छ । फाइदा र बेफाइदा बुझेपछि उनीहरु आफैँ मोबाइल चलाउन छाड्छन् । हुन त यस्ता कुरा अभिभावक लगायत ठुला व्यक्तिले पनि सिक्न जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप