सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
मोबाइलको लत

कति समय मोबाइल चलाउँदा आँखा जोगिन्छ ? (भिडियो)

आइतबार, ०४ कात्तिक २०८१

हामीकहाँ पछिल्लो समय मोबाइलको प्रयोग बढेको छ । मोबाइलको प्रयोग सकारात्मक कुरा हो । यसबाट विभिन्न सूचना पाउन सकिन्छ । स्कुल, कर्पोरेट लगायत सबै क्षेत्रतिर यसको उच्च प्रयोग भइरहेको छ । मोबाइलको प्रयोग गरेरै आँखा बिग्रन्छ भन्ने हुँदैन । तर दिनमा कति समय चलाउने भन्ने प्रमुख कुरा हो । 

मोबाइल, ल्यापट, डेस्कटप लगायतले ‘स्क्रिन डिपेन्डेसी डिसअर्डर’ निम्त्याउन सक्छ । हामीकहाँ बढी प्रयोग मोबाइलको देखिन्छ । यद्यपि ल्यापटप, डेस्कटप आदिको प्रयोग र मोबाइलको प्रयोग उस्तै–उस्तै हो । यी सबैको धेरै प्रयोगले आँखामा असर नै गर्छ । 

यस्ता स्क्रिन हेर्ने समयावधि कम्तीमा दुई घण्टा र बढीमा चार घण्टा भनेर छुट्ट्याएको छ । त्योभन्दा बढी स्क्रिन हेर्नु उचित हुँदैन र त्योभन्दा बढी समय प्रयोग गर्ने हो भने सावधानी अपनाउनुपर्छ ।

  • असर 

हामीले कम्युटर, मोबाइल लगायतको स्क्रिनमा हेरिरह्यौँ भने हाम्रो ध्यान त्यहाँ खिचिएको हुन्छ, हामीले आँखा चिम्लिदैनौँ । यसो गर्दा आँखा सुक्खा हुन्छ । आँखा बिझाउने, पोल्ने, आँखामा धुलो परेजस्तो हुने हुन्छ । 

हामीले हेर्ने वस्तु आफ्नो जति नजिक आउँछ, आँखाले हेर्न त्यति नै ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । त्यसलाई देख्न आँखाले जोडबल लगाउनुपर्छ । यसो हुँदा आँखा थाक्ने, आँखा पोल्ने, टाउको दुख्ने, टाउको भारी हुने समस्या निम्तिन सक्छन् । 

‘रुल अफ २०–२०’ सबैभन्दा उपयुक्त उपाय हो । यसले प्रत्येक २० मिनेटमा २० फिट टाढा २० सेकेन्डसम्म हेर्ने भन्ने बुझाउँछ । हामीले मोबाइल, ल्यापटप वा डेस्कटपमा काम गरिरहेका छौँ भने हरेक २० देखि ३० मिनेटको फरकमा झ्याल वा खुला ठाउँबाट २० फिट टाढा २० सेकेन्ड हेर्नुपर्छ ।

त्यसकारण हामीले बेला–बेला कुनै वस्तु वा दृश्यमा केन्द्रित भएर पर हेर्ने गर्नुपर्छ । यसो गरेमा आँखालाई आराम मिल्छ, आँखामा असर केही मात्रामा कम हुन्छ । 

बढ्दो स्क्रिनको प्रयोगका कारणले वयस्कको तुलनामा बालबालिकालाई बढी जोखिम हुन्छ । अर्थात् दृष्टिदोषको समस्या देखिन सक्छ । दैनिक आँखाको उपचारका लागि आउने १० बालबालिकामध्ये ५–६ जनालाई दृष्टिदोषको समस्या देखिन्छ । दृष्टिदोष सुरुमा हुँदैन, तर धेरै मात्रामा मोबाइल तथा स्क्रिनको प्रयोग गरेमा यो समस्या देखिन थाल्छ । 

स्क्रिनको बढी प्रयोगले सबै उमेरलाई आँखाको समस्या हुन्छ, तर साना बालबालिकामा बढी मात्रामा दृष्टिदोष हुने जोखिम रहन्छ । स्क्रिनको अत्यधिक प्रयोगले वयस्क र वृद्धालाई दृष्टिदोषभन्दा आँखा चिलाउने, सुक्खा हुनेजस्ता समस्या बढी देखिन्छन् । 

  • कसरी जोगिने ?

स्क्रिनले गर्ने असरबाट जोगिनका लागि ‘रुल अफ २०–२०’ सबैभन्दा उपयुक्त उपाय हो । यसले प्रत्येक २० मिनेटमा २० फिट टाढा २० सेकेन्डसम्म हेर्ने भन्ने बुझाउँछ । हामीले मोबाइल, ल्यापटप वा डेस्कटपमा काम गरिरहेका छौँ भने हरेक २० देखि ३० मिनेटको फरकमा झ्याल वा खुला ठाउँबाट २० फिट टाढा २० सेकेन्ड हेर्नुपर्छ । यसले स्क्रिनमा केन्द्रित भएको हाम्रो आँखाको ध्यान हट्छ, आँखालाई आराम मिल्छ र आँखाको व्यायाम हुन्छ । 

ल्यापटप वा डेस्कटपको स्क्रिन आफ्नो टाउकोभन्दा तल हुनुपर्छ, लगभग पाँचदेखि १० डिग्री तल । त्यस्तै ल्यापटप वा डेस्कटप राख्ने कोठाको लाइट, आफू बस्ने दूरी, माउस कहाँ राख्ने भन्ने पनि ख्यालन गर्नुपर्छ । 

अर्कोतिर, साना बालबालिकालाई मोबाइल चलाउन वा हेर्न दिनु राम्रो होइन । हेर्ने बानी लागेको छ भने ३० मिनेटभन्दा बढी दिनुभएन । अभिभावकले नै बढी समय मोबाइलमा नहेर्ने र बालबालिकालाई पनि बढी समय मोबाइल हेर्न नदिने गर्नुपर्छ । 

(नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरमा कार्यरत आँखारोग विशेषज्ञ डा. ढुंगेलसँग सरिता थारुले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया