मोबाइलको बढी प्रयोग : एक्लोपनको सवारी, रोगको घारी
काठमाडौँ । चितवनकी ११ वर्षीया निश्मा सुवेदी केही दिनअघि त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा आँखाको पुनर्परीक्षणका लागि आएकी थिइन् । सानैदेखि मोबाइल (स्मार्ट फोन) र ल्यापटप बढी हेरेकै कारण उनको आँखामा समस्या आएको रहेछ ।
उनकी आमा (पुनम शर्मा सुवेदी)ले रातोपाटीसँग भनिन्, ‘सानोमा ऊ रुँदा भुलाउनका लागि मोबाइल र ल्यापटप चलाउन दिन्थ्यौँ । छोरी मोबाइल र ल्यापटप हेरेर भुलेकामा राम्रै लागेको थियो तर नौ वर्षको उमेरदेखि चस्मा प्रयोग गर्नुपर्यो । जन्मदा आँखा ठिक थियो । मोबाइल र ल्यापटपकै कारण आँखा कमजोर भएको डाक्टरले बताएपछि पो झसङ्ग भयौँ ।’
पछिल्लो समय आफ्ना बालबालिकालाई भुलाउनका लागि अभिभावकले मोबाइलमा कुनै भिडियो लगाइदिनु सामान्यजस्तै भएको देखिन्छ । आफ्ना साना नानीबाबुलाई मोबाइल वा आइप्याड हेर्ने बानी लाग्ने र क्रमशः आँखाको समस्या समेत निम्तिनेतर्फ अभिभावकको ध्यान पुगेको पाइँदैन ।
उसो त अचेल बालबालिका मात्रै होइन किशोरकिशोरी, युवायुवतीदेखि वृद्धवृद्धासम्म मोबाइलको ‘रिल्स’मा घोरिएको देखिनु नौलो होइन ।
मोबाइल, ट्याब, आइप्याड, ल्यापटपजस्ता विद्युतीय उपकरण बढी प्रयोग गर्दा आँखाको मात्रै होइन मानसिक स्वास्थ्यमा समस्या, पारिवारिक र सामाजिक सम्बन्धमा समेत समस्या देखिन थालेको आ–आफ्नो क्षेत्रका विज्ञहरू बताउँछन् ।
मनोचिकित्सक प्रा. डा. गंगा पाठक भन्छिन्, ‘अचेल के साना के ठुला— सबै उमेर समूहका व्यक्तिलाई खाना खाँदादेखि सुत्नका लागि समेत मोबाइल वा आइप्याड हेर्नुपर्ने भएको छ । यसले बालबालिकाको पढाइ, घर–परिवारसँगको सम्बन्ध, स्वास्थ्य र एक–अर्कालाई गर्ने व्यवहार तथा सामाजिक क्रियाकलाप नै बिग्रिएको देखिन्छ ।’
‘६ वर्षसम्मका बालबालिकाले नजिक र टाढा हेर्ने अभ्यास गर्छन्, जसले बालबालिकाको सिकाइमा वृद्धि भइरहेको हुन्छ । यही बेला बालबालिकालाई मोबाइल, टीभी, ल्यापटपजस्ता स्क्रिनमा भुलाउँदा नजिक हेर्ने बानी पर्छ,’ डा. सापकोटा भन्छन्, ‘यसबाट मायोपिया अर्थात् लघुदृष्टिको जोखिम हुन्छ ।’
उनका अनुसार, मोबाइलमार्फत आएका विकिरणले ब्रेन (दिमाग)को इलेक्ट्रोड्सलाई असर गर्छ । अर्थात् दिमागका ‘नेचुरल इलेक्ट्रोड्स’लाई ‘आर्टिफिसियल एलेक्ट्रोड्स’ले ‘डोमिनेट’ गर्छ । यसले गर्दा मस्तिष्कको न्युरो ट्रान्समिसनमा रहने केमिकलमा डिसअर्डर भएर मस्तिष्कका सेल खुम्चने गर्छन् । सेल सक्रिय नहुँदा व्यक्तिको शारीरिक, मानसिक वा भावनात्मक क्रियाकलापमा असर पर्छ ।
‘दिनको दुई घण्टाभन्दा बढी, त्यो पनि सुत्नुअगाडि मोबाइल चलाउने बच्चामा लर्निङ ड्राउजी सिन्ड्रम हुन्छ,’ प्रा.डा. पाठक भन्छिन्, ‘यो एक प्रकारको रोग हो । यो अवस्थामा पढ्न खोज्दा हाई आउने, अल्छी लाग्ने, एकदम सुस्त हुने, कन्सर्नट्रेसन नहुने आदि हुन्छ । अरू बेला एक्टिभ भएका बच्चा पढ्ने बेला एक्टिभ हुँदैनन् ।’
- ‘मायोपिया’देखि मानसिक समस्या
हामीकहाँ कोरोना महामारीका बेला बालबालिकाले पढाइका लागि अनलाइनको व्यापक प्र्रयोग गरे । तर यसले आँखामा पर्ने समस्याबारे न बालबालिका, न अभिभावक, न त विश्वविद्यालय र विद्यालय नै सचेत रहे । परिणामस्वरुप बालबालिकाको आँखामा व्यापक समस्या देखापरेको नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका आँखा रोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल बताउँछन् ।
डा. ढुंगेलका अनुसार हामीले मोबाइल वा विकिरण फ्याँक्ने उपकरण वा स्क्रिनलाई बढी समय प्रयोग गर्दा दृष्टिदोषको समस्या देखिन थाल्छ । यो समस्याको जोखिम अरू उमेरकालाई भन्दा साना बालबालिकालाई बढी हुन्छ ।
‘आँखाको उपचारका लागि दैनिक आउने १० बालबालिकामध्ये ५–६ जनामा दृष्टिदोष भएको पाइन्छ,’ डा. ढुंगेल भन्छन्, ‘वयस्क र वृद्धालाई दृष्टिदोषभन्दा आँखा चिलाउने, सुक्खा हुनेजस्ता समस्या बढी हुन्छ । दैनिक चार घण्टा मोबाइल, ल्यापटप वा डेस्कटपजस्ता विद्युतीय उपकरणको प्रयोग स्वास्थ्यका लागि हानिकारक मानिन्छ । बालबालिकाका हकमा त दैनिक ३० मिनेट स्क्रिन प्रयोग गर्दा नै जोखिम भइहाल्छ ।’
आँखा अस्पतालका जनस्वास्थ्यविद् डा. युद्ध ध्वज सापकोटाका अनुसार, जन्मनेबित्तिकै मानिसको आँखा पूर्ण विकसित भइसकेको हुँदैन । आँखाको पूर्ण विकास हुन चारदेखि पाँच वर्ष लाग्न सक्छ ।
‘मोबाइलमा अश्लील भिडियो, धारावाहिक गेमहरूमा बालबालिकाको लत लागेको हुन्छ । गेममा जित्नैपर्ने, जित्न नसक्दा रिसाउने जस्ता समस्या देखापर्छन् ।’
‘यो अवधिमा बालबालिकाले नजिक र टाढा हेर्ने अभ्यास गर्छन्, जसले बालबालिकाको सिकाइमा वृद्धि भइरहेको हुन्छ । यही बेला बालबालिकालाई मोबाइल, टीभी, ल्यापटपजस्ता स्क्रिनमा भुलाउँदा नजिक हेर्ने बानी पर्छ,’ डा. सापकोटा भन्छन्, ‘यसबाट मायोपिया अर्थात् लघुदृष्टिको जोखिम हुन्छ ।’
डा. सापकोटा अनुसार बढी समय मोबाइल हेरेर बस्दा शारीरिक व्यायाम पुग्दैन र मोटोपन बढाउँछ, जसकारण विभिन्न रोग लाग्न सक्छन् ।
अधिक मोबाइलको प्रयोगले मस्तिष्कको वृद्धि तथा विकासमा पनि असर पार्ने उनको भनाइ छ । ‘मोबाइलमा अश्लील भिडियो, धारावाहिक गेमहरूमा बालबालिकाको लत लागेको हुन्छ,’ उनी भन्छन्, ‘गेममा जित्नैपर्ने, जित्न नसक्दा रिसाउने जस्ता समस्या देखापर्छन् ।’
- सामाजिक समस्या
पहिले मानिसहरू भेटघाट हुँदा व्यावहारिक, भावनात्मक वा दुःखसुखका कुरा गर्थे । पछिल्लो समय स्मार्टफोन आएसँगै मानिसहरू मोबाइलमा भुलिरहेका देखिन्छन् । घरभित्रैका सदस्यबिच पनि त्यति पहिलेको तुलनामा कुराकानी कम हुन थालेको पाइन्छ ।
समाजशास्त्र केन्द्रीय विभाग, त्रिविका उपप्रध्यापक टीकाराम गौतम अचेल परिवार र साथीहरूबिच अन्तक्र्रिया घटेको बताउँछन् । ‘अहिले सामाजिक सम्बन्धका प्रकृतिहरू फेरिएका छन् । पहिला व्यक्तिकै माध्यमबाट अलि फराकिलो सञ्चार हुन्थ्यो । परिवारबाट छिमेकमा, छिमेकबाट साथीभाइ हुँदै समाजभर नै सूचना फैलिन्थ्यो । अहिलेको व्यक्तिले गर्ने कुराकानी र सम्बन्ध औपचारिक मात्रै भएको छ,’ उनी भन्छन्, ‘मोबाइल वा इन्टरनेटका कारण नयाँ पुस्ताले परिवार र समाज ध्यान दिन छाडेको छ, त्यसैले कतिपय रीतिरिवाज, संस्कार र संस्कृति समेत उसलाई थाहा हुँदैन । उसको सामाजिकीकरणमै समस्या उत्पन्न हुने अवस्था देखिन थालेका छन् ।’
पछिल्लो समय व्यक्ति र समाजलाई मोबाइल लगायत उपकरणले पारेको असरबारे अध्ययन–अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।
नेपालमा अध्ययन नभए पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने मोबाइल फोन र क्यान्सरबिचको सम्बन्ध केलाउन विश्वभरि गरिएका धेरै अध्ययनहरूको हालै समीक्षा गरेको थियो । मोबाइल फोनको प्रयोगले कुनै पनि प्रकारको क्यान्सर वा ट्युमर भने नहुने निष्कर्ष निकालिएको छ ।
अमेरिकन नेसनल स्लिप फाउन्डेसनको एक अध्ययनले भने मोबाइल फोन वा अन्य ग्याजेटको प्रयोगले निद्रामा असर गर्ने देखाएको छ । यस कारण व्यक्तिको संज्ञानात्मक कार्य बिग्रने, रोग प्रतिरोध क्षमता कमजोर हुने र हृदय रोगको जोखिम बढ्ने अध्ययनको निष्कर्ष छ ।
अध्ययन प्रतिवेदन अनुसार, मोबाइल फोनको स्क्रिनमा लगातार हेर्दा तनाव बढ्नुका साथै आँखा र घाँटीको मांसपेशीहरूमा समस्या निम्त्याउन सक्छ ।
युनिभर्सिटी अफ क्यालिफोर्निया, इर्विनले गरेको अध्ययनले पनि पछिल्ला २० वर्षमा मानिसको औसत ध्यानाकर्षण अवधि २.५ मिनेटबाट ४७ सेकेन्डमा झरेको देखाएको छ ।
- व्यक्तित्व विकास
मोबाइललगायत सूचना र प्रविधि सिकाइका लागि उपयुक्त साधन हुन् । सूचना र प्रविधिअन्तर्गत इन्टरनेटका माध्यमबाट चल्ने सामाजिक सञ्जालदेखि युट्युब लगायत पर्छन् । यिनीहरूको सही प्रयोगबाट मानिसले नयाँ विषय सिक्न र व्यक्तित्व विकास गर्न सक्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०८१ असारसम्म देशभरि तीन करोड ५६ लाख २७ हजार ३८० मोबाइलका सिमकार्ड प्रयोगमा छन् । यिनै सिमकार्ड प्रयोगकर्तामध्ये एक हुन्, काठमाडौँ कोटेश्वरकी समिता लुइटेल । समिता आफ्नो काममा व्यस्त रहँदा आफ्ना छोराछोरीलाई मोबाइल दिने गर्थिन् । तर उनले युट्युबमार्फत अंग्रेजी भाषाका सामग्री छोराछोरीलाई देखाउँथिन्, जसकारण छोराछोरीले सजिलै अंग्रेजी सिकेको उनको भनाइ छ ।
बालबालिकादेखि सबै उमेरका व्यक्तिले सिक्ने वा बुझ्ने सामग्री इन्टरनेटमा थुप्रै भेटिन्छन् । यद्यपि राम्रै सामग्री हेरे पनि धेरैबेर हेर्न नहुने चिकित्सक बताउँछन् ।