बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

बीपी कोइराला स्मृति कप क्रिकेट : भारतीय र बंगलादेशी क्लबलाई सफलता

आइतबार, ०४ कात्तिक २०८१, १७ : ०५
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । रुपन्देहीको भैरहवामा जारी बीपी कोइराला स्मृति कप टी–२० क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल सम्पन्न भएका छन् । आइतबारको खेलमा भारतको लाइफ केयर क्रिकेट क्लब र बंगलादेशको साइक क्रिकेटर्स विजयी भए ।

पहिलो खेलमा भारतको लाइफ केयर क्रिकेट क्लबले स्थानीय टोली नेक्सस रुपन्देही–११ लाई सात विकेटले पराजित गर्यो । जारी प्रतियोगितामा लाइफ केयर क्रिकेट क्लबको यो लगातार दोस्रो जित पनि हो ।

नेक्सस रुपन्देहीले दिएको एक सय ३४ रनको लक्ष्य लाइफ केयर क्रिकेट क्लबले केवल तीन विकेट गुमाएर पुरा गर्यो । भारतीय टोली ३.३ ओभर खेल बाँकी रहँदै जित हासिल गरेको हो । लाइफ केयरको जितमा ओपनर दीपक पुनियाले सर्वाधिक ६० रनको योगदान गरे ।

दीपकले ४३ बलमा तीन छक्का र पाँच चौका पनि प्रहार गरे । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । उनले अघिल्लो खेलमा पनि अर्धशतक बनाएका थिए । भारतीय टोलीका लागि राजेश शर्माले अविजित ३७ र विपुल कम्बोजले ३२ रन बनाए । नेक्सस रुपन्देहीका बलर शाहब आलमले दुई र बसिर अहमदले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेक्सस रुपन्देहीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । नेक्सस रुपन्देहीका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४८ रन बनाए । उनले ४३ बलमा पाँच चौका पनि प्रहार गरे ।

सुमित महर्जन र बसिर अहमदले समान २८–२८ रन बनाएका थिए । अघिल्लो खेलमा अर्धशतक बनाएका शंकर राना भने दुई रनमै आउट भए । लाइफ केयरका बलर योगेश कुमारले तीन विकेट लिए । शुभम लाम्बा, हिमांशु र विपुल कम्बोजले पनि एक–एक विकेट हात पारे ।

दोस्रो खेलमा बंगलादेशको साइक क्रिकेटर्सले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई ४२ रनले पराजित गर्यो । बंगलादेशी टोलीले जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमै जित हात पारेको हो । पाकिस्तानी टोलीको भने यो लगातार दोस्रो हार हो ।

साइक क्रिकेटर्सले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको जावेद गोहर एकेडेमी १८.२ ओभरमा केवल एक सय पाँच रन बनाउँदै अलआउट भयो । पाकिस्तानी टोलीका लागि ओपनर अलि हुसेनले सर्वाधिक ३४ रन बनाए ।

जइम खानले १९ र शमुन इक्बालले १८ रन बटुले । पाकिस्तानी क्रिकेट टोलीका पूर्वखेलाडी एवं चर्चित क्रिकेटर इमरान नाजिर भने एक रन बनाउँदै पेभेलियन फर्किए । साइक क्रिकेटर्सका बलर शहादत सोम्रतले तीन विकेट लिए । रकिब र मुलेरले पनि दुई–दुई विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको साइक क्रिकेटर्सले १९.५ ओभरमा अलआउट हुनुअघि  एक सय ४७ रन बनाएको थियो । साइक क्रिकेटर्स टोलीका लागि ओपनर मुलेरले सर्वाधिक ४६ रन बनाएका थिए ।

मलेरले २८ बलमा तीन छक्का र चार चौका पनि प्रहार गरे । मुनिम शाहरियरले २७ र सौरवले २५ रन बनाए । जावेद एकेडेमीका बलर रिशव जोशीले तीन विकेट लिए । कप्तान इमरान नाजिर र अब्बास अलिले पनि दुई–दुई विकेट हात पारे । 

प्रतियोगिताको तेस्रो दिन सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान ९ः०० बजे श्रीलंकाको टिम श्रीलंका स्टेट सर्भिस क्रिकेट एसोसिएसन र बंगलादेशको साइक क्रिकेटर्सबिच हुनेछ ।

दोस्रो खेल दिउँसो १३ः०० बजे नेपालको नेक्सस रुपन्देही–११ र पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीबिच खेलिने छ । नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका क्रिकेट क्लबहरुको सहभगिता रहेको छ ।

प्रतियोगिता लिग कम नक आउट प्रणालीका आधारमा खेलाइँदै छ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख, दोस्रो हुने टोलीले तीन लाख, म्यान अफ दि सिरिजले ३५ हजार, बेस्ट बलरले २० हजार, प्रत्येक खेलको प्लेयर अफ दि म्याचले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप