सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश सरकार

कर्णालीका अर्बपति अर्थमन्त्री

कांग्रेसका अरू मन्त्रीसँग कति सम्पत्ति ?
आइतबार, ०४ कात्तिक २०८१, १६ : ४८
आइतबार, ०४ कात्तिक २०८१

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका चार जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । शनिबार रातोपाटीले ‘मन्त्रीहरूको सम्पत्ति विवरण गुपचुप’ शीर्षकमा समाचार प्रकाशित गरेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

मुख्यमन्त्री कार्यालयको वेबसाइटमा सार्वजनिक सम्पत्ति विवरण अनुसार कांग्रेसका चार जना मन्त्री धनी देखिएका छन् । उनीहरूसँग प्रशस्त मात्रामा धन, सम्पत्ति रहेको पाइएको छ ।

कांग्रेसका चारमध्ये सबैभन्दा धनी मन्त्री हुन् अर्थमन्त्री राजीवविक्रम शाह । काठमाडौँमै जन्मे–हुर्केका, विदेशमा अध्ययन गरेका र कांग्रेसको राजनीतिमा आइसकेपछि पुर्खाको थलो जाजरकोटबाट चुनाव लड्ने गरेका उनी अर्बपति हुन् । काठमाडौँ महानगरपालिका–११, थापाथली निवासी शाहका काठमाडौँमै करोडौँ मूल्य पर्ने चार वटा घर छन् । चारमध्ये तीन वटा घर शाहको नाममा छन् भने एउटा घर श्री टीआर रियल स्टेट एण्ड लिजिङ कम्पनी प्रालिको नाममा छ । शाहले आफ्नो नाममा रहेका घर पुर्ख्यौली रहेको उल्लेख गरेका छन् ।

कम्पनीको घर ८० लाख १८ हजार ४५२ रुपैयाँ मूल्यमा खरिद गरेको उल्लेख छ । यद्यपि मन्त्री शाहले उक्त कम्पनीबाट राजीनामा दिइसकेको बताए पनि कम्पनीमा उनको ९९ प्रतिशत सेयर छ ।

शाहसँग काठमाडौँदेखि काभ्रे, नुवाकोटसम्म ११ वटा ठाउँमा करोडौँ मूल्यको जमिन छ । काठमाडौँमा मात्रै ९ ठाउँमा उनको जमिन छ भने काभ्रे र नुवाकोटमा पनि जमिन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री शाहले काठमाडौँमा रहेको जमिन पुर्खाबाट प्राप्त गरेको उल्लेख गरेका छन् । उनी हिमालय एडभेन्चर र बिल्डरनेस माउन्टेनदेखि सिंह होल्डिगङ्ग इन्भेटमेन्टस प्रालिका मालिक पनि हुन् । यी सबै कम्पनीमा उनको पूर्ण स्वामित्व छ ।

उनीसँग चल सम्पत्तिमा ९४५ तोला सुन, १० हजार १६१ तोला चाँदी, ८ करोड बराबरको हिरा, जवाहरात र १ करोड ५० लाखका विभिन्न ब्राण्डका घडी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यो सम्पत्ति व्यापार, मामाघरकी हजुरआमा रानी विन्दुदेवी राणाको कालगतिले परलोक भए पश्चायत शेषपछिको बकसपत्र लगायतबाट प्राप्त गरेको उनले जनाएका छन् ।

मन्त्री शाहको बैंक, वित्तीय संस्था तथा सहकारीहरूमा करोडौँ रकम मौज्दात छ । दुई वटा बैंकमा ३ करोड २३ लाख रकम मौज्दात रहेको, विभिन्न २६ वटा कम्पनीमा सेयर रहेको, विभिन्न ५ वटा बैंकबाट झण्डै २१ करोडभन्दा बढी ऋण लगेकामा ७ करोडभन्दा बढी ऋण तिरिसकेको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री शाहसँग करोडौँका लक्जरी कार तथा गाडी छन् । उनीसँग १ करोड ५० लाख मूल्यको टोयोटा टीएक्स कार, दुई करोड ६३ लाख पर्ने जिप रुविकन, ६१ लाख ७५ हजारको महिन्द्रा एसयुभी जिप, ५ लाखको मोटरसाइकल, ३७ लाखको महिन्द्रा थार कार पनि रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

आ.व.२०८०।८१ को  मा.मन्त्री राजीव विक्रम शाहज्यूको सम्पत्ति विवरण_page-0001आ.व.२०८०।८१ को  मा.मन्त्री राजीव विक्रम शाहज्यूको सम्पत्ति विवरण_page-0002आ.व.२०८०।८१ को  मा.मन्त्री राजीव विक्रम शाहज्यूको सम्पत्ति विवरण_page-0003आ.व.२०८०।८१ को  मा.मन्त्री राजीव विक्रम शाहज्यूको सम्पत्ति विवरण_page-0004

यस्तै, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीसँग पनि मनग्य सम्पत्ति छ । दैलेख, दुल्लु नगरपालिका–८, साहुबाडा निवासी भण्डारीको सोही ठाउँमा पुर्ख्यौली घर उनकी आमा चन्द्रा भण्डारीको नाममा छ । भण्डारीसँग दुल्लुका विभिन्न ठाउँमा जग्गा–जमिन छ ।

यस्तै दुल्लु नगरपालिका–३ का १३ ठाउँमा मन्त्री भण्डारीको जमिन छ भने वडा नम्बर २ को ७ ठाउँमा पनि जमिन छ । पैतृक सम्पत्ति उल्लेख गरेको सबै सम्पत्ति उनकी आमाको नाममा छ ।

आमाकै नाममा साबिक पादुका गाविस–५, का दुई ठाउँमा उनको जमिन छ । यस्तै आमाकै नाममा साबिक रावतकोट गाविस–५ र ४ गरी दुई ठाउँमा जमिन छ भने उनकी श्रीमती पवित्रा कुमारी खड्काका नाममा दुल्लु, कालभैरव, बडलम्जी गरी तीन ठाउँमा जमिन छ । उक्त जमिन पारिश्रमिकबाट खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री भण्डारीको नाममा साबिक पादुका गाविस–५, मा अर्को जग्गा छ । उक्त जमिन पारिश्रमिकबाट खरिद गरेको उल्लेख छ । उनी पूर्वपत्रकारदेखि दुल्लु नगरपालिकाका मेयर समेत भइसकेका व्यक्ति हुन् ।

भण्डारीसँग ८ तोला सुन, ५ तोला चाँदी छ । यी गहना केही पारिश्रमिकबाट जोडेको र केही पैतृक रहेको उल्लेख छ । उनीसँग अहिले बैँकमा १ लाख २९ हजार ७ सय रुपैयाँ मौज्दात छ, जुन पारिश्रमिक बापत पाएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

उनीमाथि २१ लाख ऋण छ । श्रीमतीको नाममा चार लाख र शुभलक्ष्मी इटरलग इँटा उद्योगको नाममा १८ लाख ऋण रहेको उल्लेख छ । उनीसँग १४ हजार मूल्य पर्ने दुईवटा गोरु, चार बाख्रा, एक कुखुरा छ भने ६५ हजारको स्मार्ट फोन मोबाइल र अर्को २५ सय पर्ने सादा मोबाइल छ ।

आ.व.२०८०।८१ को मा. मन्त्री घनश्याम भण्डारीज्यूको सम्पत्ति विवरण_page-0001आ.व.२०८०।८१ को मा. मन्त्री घनश्याम भण्डारीज्यूको सम्पत्ति विवरण_page-0002आ.व.२०८०।८१ को मा. मन्त्री घनश्याम भण्डारीज्यूको सम्पत्ति विवरण_page-0003आ.व.२०८०।८१ को मा. मन्त्री घनश्याम भण्डारीज्यूको सम्पत्ति विवरण_page-0004आ.व.२०८०।८१ को मा. मन्त्री घनश्याम भण्डारीज्यूको सम्पत्ति विवरण_page-0005

यस्तै जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढासँग पनि प्रशस्त मात्रामा सम्पत्ति रहेको छ । हुम्लाको खार्पुनाथ–१, गोप्का निवासी उनीसँग हुम्लाको सिमिकोट र बाँकेको नेपालगञ्जमा दुई वटा घर छन् । ती घर छोरा मिजास बुढाका नाममा राखेकी छन् मन्त्री बुढाले । ती घर पारिश्रमिक, व्यापार, व्यवसाय र ठेक्कापट्टाबाट जोडेको उल्लेख छ ।

मन्त्री बुढाको हुम्ला, बाँके र सुर्खेतमा गरी ६९ लाख पर्ने जमिन ५ वटा ठाउँमा छ । ती सबै जमिन मन्त्री बुढाकै नाममा छन् । उक्त जमिन पनि व्यापार, व्यवसाय, ठेक्कापट्टादेखि केही ऋण सापट गरेर खरिद गरेको उल्लेख छ ।

उनीसँग २५ तोला सुन, १५० तोला चाँदी र १५ तोला मुगा छ । उक्त सम्पत्ति पनि पारिश्रमिक, व्यापार, व्यवसाय र केही दाइजोबाट प्राप्त गरेको मन्त्री बुढाले जनाएकी छन् ।

व्यापार–व्यवसायदेखि ठेक्कापट्टाबाटै उनको झण्डै २३ लाख रकम विभिन्न ७ वटा बैंकमा मौज्दात छ । उनको विभिन्न सहकारी, बैंक तथा होइड्रोपावर गरी ९ ठाउँमा सेयर लगानी छ ।

रसुवागढी र अपर सोलु होइड्रोपावरमा क्रमशः २५ हजार, १० हजार कित्ता सेयर उनको छ । उनीसँग ऋण छैन । उनीसँग ५० वटा घोडा, चौँरी, भेडा, गाई र बाख्रा छन्, जुन पैतृक सम्पत्ति हो ।

यस्तै ३५ हजारको मोबाइल र ६० हजारको ल्यापटप रहेको उल्लेख गरेकी मन्त्री बुढाले धेरै सम्पत्ति व्यापार, व्यवसाय र ठेक्कापट्टाबाट जोडेको जनाएकी छन् । तर उनको व्यापार, व्यवसाय के थियो भन्ने उल्लेख छैन ।

आ.व.२०८०।८१ को मा.मन्त्री विजया बुढाज्यूको सम्पत्ति विवरण_page-0001आ.व.२०८०।८१ को मा.मन्त्री विजया बुढाज्यूको सम्पत्ति विवरण_page-0002आ.व.२०८०।८१ को मा.मन्त्री विजया बुढाज्यूको सम्पत्ति विवरण_page-0003आ.व.२०८०।८१ को मा.मन्त्री विजया बुढाज्यूको सम्पत्ति विवरण_page-0004

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी पनि सम्पत्तिको मामलामा सम्पन्न छन् । सल्यानको शारदा नगरपालिका–२, डाँडागाउँ निवासी उनीसँग सोही ठाउँमा घर छ । २ लाख ५० हजार मूल्य पर्ने उक्त घर तत्कालीन समयमा श्रीमतीको तलबभत्ता र आफूले गरेको ठेक्कापट्टाबाट बापत बचत भएको रकमबाट खरिद गरेको उनले उल्लेख गरेका छन् ।

उनको विभिन्न ५ ठाउँमा जमिन छ । तीन ठाउँको जमिन मन्त्री अधिकारीकै नाममा छ । ती जमिन दाङको तुल्सीपुर उपमहानगरपालिका–५, ६, ३ नम्बर वडामा छन् ।

सल्यान र दाङ गरी दुई ठाउँमा उनकी श्रीमती कल्पना आचार्यको नाममा जमिन छ । केही जमिन ठेक्का बापत किनेको, केही जग्गा बिक्री गरेर किनेको उनले उल्लेख गरेका छन् । ती जमिनको मूल्य भने खुलाइएको छैन ।

मन्त्री अधिकारीसँग २५ तोला सुन र २० तोला चाँदी छ । उक्त सुनचाँदी श्रीमतीको दाइजो तथा घर पक्षबाट प्राप्त गरेको उल्लेख छ । साथै केही आफैँले खरिद गरेको उनले बताएका छन् ।

यस्तै उनी र उनकी श्रीमतीको नाममा विभिन्न ७ वटा बैंकमा ११ लाख रुपैयाँभन्दा बढी रकम मौज्दात छ । उक्त रकम केही जग्गा बिक्री गरेबापत्, केही सेवा सुविधाको रकम रहेको उनले जनाएका छन् ।

उनले अपर तामाकोशीमा सेयर लगानी गरेका छन् । ग्रामीण बचत तथा ऋण सहकारीमा पनि उनको सेयर छ । यस्तै उनकी श्रीमतीको पनि सहकारीमा सेयर छ । अपर तामाकोशीमा भएको सेयर तलबभत्ताबाट प्राप्त गरेको बताए पनि कति रकमको हो भन्ने खुलाइएको छैन ।

उनले ११ लाख रकम अरुलाई ऋण दिएका छन् भने ६० लाख रकम ऋण बैंक तथा सहकारीबाट लिएको उल्लेख गरेका छन् । लिएकोमध्ये १० लाख रुपैयाँ तिरिसकेको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग एउटा स्कारपियो गाडी रहेको तर अहिले बिक्री गरिसकेको बताएका छन् । 

आ.व.२०८०।८१ को मा.मन्त्री विजया बुढाज्यूको सम्पत्ति विवरण_page-0001आ.व.२०८०।८१ को मा.मन्त्री विजया बुढाज्यूको सम्पत्ति विवरण_page-0002आ.व.२०८०।८१ को मा.मन्त्री विजया बुढाज्यूको सम्पत्ति विवरण_page-0003आ.व.२०८०।८१ को मा.मन्त्री विजया बुढाज्यूको सम्पत्ति विवरण_page-0004

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप