सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
१०० दिनको प्रगति

सहरी विकासमन्त्रीको सय दिन : पुरानै योजना सम्पन्न भएकोमा मक्ख

आइतबार, ०४ कात्तिक २०८१, १८ : ००
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । सहरी विकास मन्त्रालयले एक सय दिनको आसपासमा ११ वटा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएकोमा आठ वटा पुरा गरेको छ । बाँकी तीन वटा आयोजना निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । तर प्रकाशमान सिंह मन्त्री बनेर आएको सय दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा भने मन्त्रालयका अधिकारीहरू यो अवधिमा पुरानै आयोजनाहरू सम्पन्न भएकोमा मक्ख देखिए । सय दिनको अवधिमा मन्त्री सिंहले कुनै उल्लेख्य काम र दीर्घकालीन योजना सार्वजनिक गर्न सकेका छैनन् । 

मन्त्रालयका सचिव मणिराम गेलालले लक्ष्यमा केन्द्रित मात्रै नभएर नियमित काम र नीतिगत व्यवस्था संशोधनका कार्य पनि गरेको बताए । ‘नियमित कार्यक्रम साढे सात हजार छन् । तीमध्ये एकहजार बढी कार्यक्रम गरिसकेका छौँ,’ सचिव गेलालले भने । 

सचिव गेलालका अनुसार काठमाडौँ उपत्यकाका चार स्थानमा स्मार्ट सिटी बनाउन २०७४ सालदेखि जग्गा रोक्का गरेर राखिएको थियो । एक लाख रोपनीमध्ये कागेश्वरी मनोहराको ३६ हजार रोपनीमा स्मार्ट सिटी बनाउन भौतिक पूर्वाधार मन्त्रालयले स्वीकृति दिइसकेको छ । यसलाई मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराउने चरणमा रहेको उनले बताए । 

सचिव गेलालका अनुसार सय दिनको अवधिमा सुरक्षित नागरिक आवास कार्यक्रम तथा पुनर्निर्माण नीति आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख अति निम्नवर्गीय परिवारलाई आवास निर्माण सम्पन्न गरिएको छ । निजी व्यवसायीका मागलाई सम्बोधन गर्न संयुक्त आवास स्वामित्व समृद्धि ऐन (निजी आवास बनाउने कम्पनीका लागि नीति) संशोधन गर्नेबारे तयारी भएको छ । 

यसैगरी मन्त्रालयले संघमा सानो संरचना बनाउन प्रदेश र स्थानीय तहमा कार्यक्रम पठाउने नीति लिएको जनाएको छ । ७ प्रदेशमा ७ स्थायी कार्यालय र अरू अस्थायी आयोजना कार्यालय राख्ने तयारी छ । सहरी विकास मन्त्रालयको व्यवस्थापन सर्वे (ओएनएम)ले मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त गरिसकेको छ । बाढी पहिरोले पूर्वाधारमा ठुलो क्षति गरेपछि पुनर्निर्माणका लागि अस्थायी संरचना निर्माण गरिएको छ । ‘दातृ निकायको सहयोगमा पनि काम गरिरहेका छौँ । वर्ल्ड बैंकले दिएको रकमले उपत्यकाका नदी सरसफाइ गर्ने काम भएको छ,’ सचिव गेलालले भने । 

सहरी विकासमा प्रकाशमान सिंह मन्त्री बनेर आएको १०० दिनको अवधिमा दमक व्यापारिक भवन, धरहरा, ७ वटा स्वास्थ्य भवन, प्रशासनिक भवन लगायत निर्माण सम्पन्न भएका छन् । यी सबै आयोजना वर्षौँदेखि बनिरहेका थिए, संयोगले यही बेला सम्पन्न भएका हुन् । लामो समयदेखि निर्माणाधीन रहेर हालै सम्पन्न भएका यी भवन सञ्चालनका लागि कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पठाएको सचिव गेलालको भनाइ छ । 

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नियमित काम गरे पनि उल्लेख्य कार्य भने गर्न नसकेको बताए । ‘आउने बित्तिकै काम गरिहाल्न कुनै जादुको छडी छैन । उल्लेख्य काम गरेँ, जादु नै गरे भनेको पनि छैन तर नतिजा देख्न समय लाग्छ । मन्त्रालयलाई व्यवस्थित गर्नका लागि मन्त्रालयअन्तर्गतका कार्य व्यवस्थित तवरले गर्न नीतिगत व्यवस्था परिमार्जन गर्ने काम गरेका छौँ,’ मन्त्री सिंहले भने ।

धरहरा सञ्चालन

मन्त्रालयको पहिलो लक्ष्य धरहरा परिसरमा बेसमेन्ट पार्किङ, बगैँचा, सर्वसाधारणका लागि खुला गर्ने रहेको थियो । धरहरा असोज ३ गते संविधान दिवसको दिनबाट परीक्षणको रूपमा सञ्चालनमा ल्याइएको छ ।

प्राकृतिक विपद्को समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउनका लागि देशका विभिन्न ४ स्थानमा इमरजेन्सी सेन्टर निर्माण कार्य सम्पन्न गरेको छ । 

१०० दिनको प्रगति विवरण प्रस्तुत गर्दै मन्त्रालयले कालिकोट तिलागुफमामा ४० जुम्ला चन्दननाथ नगरपालिका ४० र जलेश्वर नगरपालिका महोत्तरीमा सप्तरीको तिलाठी र कोइलाडीमा १०० /१०० जना क्षमता भएको  इमर्जेन्सी सेन्टर निर्माण सम्पन्न गरिएको जनाएको छ । यी पनि पुरानै आयोजनाहरू हुन् । 

जसमध्ये कालिकोट तिलागुफा नगरपालिका र जुम्ला चन्दननाथ नगरपालिकाको इमर्जेन्सी सेन्टर फिनिसिङको काम बाँकी रहेको छ । २ स्थानमा निर्माण सम्पन्न भएको छ । 

  • ७ वटा स्वास्थ्य भवन निर्माण

मन्त्रालयले १०० दिनको अवधिमा निर्माणाधीन ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । यो लक्ष्य पुरा गरेको छ । जसअन्तर्गत सोलुखुम्बुमा जिल्ला जनस्वास्थ्य कार्यालयको भवन, पाँचथरमा लुङरुपा आयुर्वेद औषधालय भवन, डडेल्धुरामा उपक्षेत्रीय अस्पताल भवन निर्माण सकिएको छ । यसैगरी तेह्रथुममा इसिबु स्वास्थ्य चौकी भवन र थोुक्लुङ स्वास्थ्य चौकी भवन, धनकुटामा मारेकटहरे स्वास्थ्य चौकी भवन र मूर्तिढुङ्गा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

यसैगरी जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाका भवन पुनर्निर्माण कार्य सकेको मन्त्रालयको दाबी छ । 

भैँसेपाटीमा मन्त्री आवास 

एक सय दिनकै अवधिमा भैँसेपाटीमा निर्माणाधीन रहेको मन्त्री आवास निर्माण सम्पन्न भएको छ ।  जसमा १८ जना मन्त्री १ जना राष्ट्रिय सभाको उपाध्यक्ष र जवान लाइनको ३ वटा भवन सञ्चालनमा आएका छन् । 

यस्तै झापाको दमकमा व्यापारिक कम्प्लेक्स, चितवनको सौराहमा सभाहल भवन निर्माण सकिएको छ । त्यसैगरी सय दिनकै अवधिमा थापाथलीस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय भवनको पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण गरिसकेको छ । २२५ वटा स्थानीय तहमा सार्वजनिक सेवा प्रवाह गराउनका लागि प्रशासकीय भवन निर्माणमा लक्ष्य प्राप्त गरेको छ । त्यस्तै देशभरमा ५० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा पुल निर्माण कार्य सकिएको छ बाँकी १० वटा निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । 

त्रिवेणी सुस्ता बहुत्तरीमा झोलुङ्गे पुल निर्माण सकिएको तर भुक्तानी फरफारक हुन बाँकी रहेको छ । गोकर्णदेखि गुह्येश्वरी सम्म ६ किलोमिटर क्षेत्रमा ढल व्यवस्थापन कार्य निर्माणाधीन रहेको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप