विवादको पर्याय बन्दै नेपाल सद्भावना पार्टी
काठमाडौँ । गजेन्द्रनारायण सिंहले गठन गरेका नेपाल सद्भावना पार्टी स्थापनादेखि नै विवादको घेरामा रहँदै आएको छ । कुनै बेला मधेसवादी मुख्य दल मानिएको सद्भावना पार्टी अहिले सानो आकारमा खुम्चिए पनि विवादमुक्त हुन सकेको छैन ।
महाधिवेशन हुनुभन्दा पहिले नै विवादका कारण सद्भावना पार्टी फेरि विभाजन हुने सङ्केत देखिएको छ । सद्भावना पार्टीको रामचन्द्र कुशवाहा समूहले मङ्सिर १ देखि ३ गतेसम्म वीरगञ्जमा महाधिवेशन गर्ने घोषणा गरेको छ । रामकुमार महतो समूहले सोही मितिमा जनकपुरमा महाधिवेशन गर्ने भनेको छ ।
एउटै पार्टीको महाधिवेशन दुई–दुई ठाउँमा हुने भएपछि कार्यकर्तामा अन्योल देखिएका छन् । विगतमा पनि नेपाल सद्भावना पार्टीमा यस्तो अवस्था पटकपटक देखिएको थियो ।
गजेन्द्रनारायण सिंह अध्यक्ष भएको बेला नै यो पार्टी पटकपटक विभाजनको सिकार भएको थियो । सिंहको निधनपछि राजविराजमा भएको महाधिवेशनबाट पार्टी विभाजन भएको थियो । एउटा समूहको अध्यक्ष बद्री मण्डल भएका थिए भने अर्को समूहको अध्यक्ष गजेन्द्रनारायण सिंहकी श्रीमती आनन्दी देवी ।
पछि दुवै समूहको बिचमा एकता भयो । तर त्यसपछि पनि सो पार्टीमा शक्ति सङ्घर्ष कम भएन । आनन्दी देवीलाई प्रयोग गरेर कहिले श्यामसुन्दर गुप्ता मन्त्री बने भने कहिले राजेन्द्र महतो, कहिले सरिता गिरी, कहिले हृदयेश त्रिपाठी सत्तामा पुगे । मन्त्री बन्नकै लागि नेपाल सद्भावना पार्टी टुक्राटुक्रा भयो । नेपाल सद्भावना पार्टीबाट अलग भएर राजेन्द्र महतोले छुट्टै पार्टी बनाए । अनिल झा, रामनरेश राय यादव, श्यामसुन्दर गुप्ता, विकास तिवारीले पनि अलग–अलग पार्टी बनाए ।
पछि नेपाल सद्भावना पार्टी सरिता गिरीको हातमा गयो । त्यहाँ पनि खुशीलाल मण्डल र सरिता गिरीबिच विवाद भयो । विवाद सर्वोच्च अदालतसम्म पुग्यो । अन्ततः सरिता गिरीले नेपाल सद्भावना पार्टी हात पारिन् ।
सरिता गिरीले अनिल झा अध्यक्ष रहेको संघीय सद्भावना पार्टीसँग एकीकरण गरिन् । तर त्यो एकता धेरै समय टिकेन । गिरीले पछि उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीसँग एकीकरण गरिन् ।
कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नक्साको विपक्षमा अभिव्यक्ति दिएपछि पार्टीले सरिता गिरीमाथि कारबाही गर्यो । उनी पार्टीबाट निष्कासित भइन् । त्यतिबेलासम्म पञ्जा (हात) छाप भएको नेपाल सद्भावना पार्टी राजेन्द्र कुमार सिंहको हातमा गइसकेको थियो । निर्वाचन आयोगबाट राजेन्द्र कुमार सिंहले आफ्नो अध्यक्षतामा सो पार्टीलाई पुनर्गठन गरेका थिए ।
केही समयपछि सो पार्टीका अध्यक्ष रामकुमार महतो भए । अध्यक्ष महतोले पछि सो पार्टीलाई लिएर अन्य पार्टीसँग एकीकरणका लागि प्रयास गरेका थिए । नेपाल सद्भावना पार्टीका नेताहरू भन्छन्, ‘रामकुमार महतो पार्टीको नाम बेचबिखनमा लागेका थिए । उनले अनिल झा, राजेन्द्र महतोसँग पनि नेपाल सद्भावना पार्टी बेच्न कुराकानी गरेका थिए ।’ तर उनले थुप्रै रकमको डिमाण्ड गरेपछि कुरा नमिलेको स्रोत बताउँछ ।
गजेन्द्रनारायण सिंहले गठन गरेको र पञ्जा छाप रहेको कारण त्यो पार्टीप्रति सद्भावना पार्टीका पुराना नेताहरूले पनि लोभ गरेका छन् । तर महतोले ठुलो रकमको डिमाण्ड गरेको कारण हालसम्म नेपाल सद्भावना पार्टी यही अवस्थामा रहेको गोविन्द चौधरी (नवलपरासी)ले बताए ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले २०८० साउन १४ गते रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीसँग एकता गरे । एकताको महाधिवेशन नभएसम्म एकीकृत पार्टीको नाम झण्डा, चुनाव चिह्न नागरिक उन्मुक्ति पार्टीको नै रहने सहमति भएको थियो ।
रामकुमार महतो नागरिक उन्मुक्ति पार्टीको उपाध्यक्ष बने । तर बिचमै महतोले आफ्नी श्रीमती कविता कुमारी महतोलाई नेपाल सद्भावना पार्टीको अध्यक्ष बनाइदिए । निर्वाचन आयोगबाट अरुले सो पार्टी नलियोस् भनेर उनले श्रीमतीलाई अध्यक्ष बनाएर पार्टीमाथि कब्जा जमाएका थिए ।
त्यतिबेला नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ भूमिसुधारमन्त्री थिइन् । महतोले रञ्जितामार्फत आफ्नो श्रीमती कवितालाई मालपोत कार्यालयमा करारमा जागिर लगाए ।
सरकारी जागिरे कुनै पनि राजनीतिक दलको पदाधिकारी हुन नपाउने व्यवस्था रामकुमार महतोलाई थाहा थिएन । तर पछि कसैले उजुरी गरेपछि कविता महतोले पार्टी अध्यक्षबाट राजीनामा दिइन् ।
उनले राजीनामा दिएपछि नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता सहजाद मियाँको अध्यक्षतामा बैठक बसेर रामचन्द्र कुशवाहालाई अध्यक्ष बनाउने निर्णय गरिएको थियो । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन । निर्वाचन आयोगले विधानको एउटा नमुना दिएर यो अनुसार विधान लिएर आउन भनेको थियो ।
त्यसपछि पुनः वरिष्ठ नेता मियाँको अध्यक्षतामा बैठक बसेर कार्यसमितिलाई भङ्ग गरेर रामचन्द्र कुशवाहाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाइयो । त्यो निर्णयसहितको डकुमेन्ट निर्वाचन आयोगमा पेस गरेपछि आयोगले महाधिवेशन गराउन अनुमति दियो ।
त्यतिबेलासम्म रामकुमार महतो नागरिक उन्मुक्ति पार्टी छाडेर निस्किसकेका थिए । गोविन्द चौधरीका अनुसार रामकुमार महतोले आफू पनि नेपाल सद्भावना पार्टीमा रहने भनेपछि उसलाई सहआयोजक बनाइएको थियो ।
वीरगञ्जमा महाधिवेशन गर्ने तयारी सुरु भयो । अहिले रामकुमार महतोले आफू पार्टीको कार्यवाहक अध्यक्ष रहेको र जनकपुरमा महाधिवेशन गर्ने भन्दै आएका छन् । उनले असोज २९ गते पत्रकार सम्मेलन गरेर वीरगञ्जमा हुने भनिएको महाधिवेशन जनकपुर सारिएको जनाएका छन् । रामचन्द्र कुशवाहाको संयोजकत्वमा गठन भएको आयोज समिति पनि उनले भङ्ग गरेका छन् ।
जनकपुरमा महाधिवेशन गर्ने भनेर रकम उठाउने काम गरिरहेको आरोप महतोमाथि कुशवाहा पक्षले लगाएको छ । रामचन्द्र कुशवाहा पक्षले पद र ओहदा ढाँटी ठगी धन्दा गरिरहेको भन्दै धनुषा प्रहरी कार्यालयमा रामकुमार महतोविरुद्ध उजुरीसमेत गरेको छ । तर महतोले आफूलाई सो उजुरीको बारेमा कुनै जानकारी नरहेको दाबी गरे ।
उनले भने, ‘गत वैशाख ३ गते नै नागरिक उन्मुक्ति पार्टी छाडिसकेको र कविताले पार्टीबाट राजीनामा दिएपछि कार्यवाहक अध्यक्षको नाताले म जनकपुरमा महाधिवेशन गराउने तयारीमा लागेको छु ।’
तर वीरगञ्जमा हुने महाधिवेशन आयोजक समितिका सहसंयोजक समेत रहेका गोविन्द चौधरीले आफूले आफैँलाई कार्यवाहक अध्यक्ष घोषणा गर्न नमिल्ने जिकिर गरे । ‘आफूले आफैँलाई कार्यवाहक भनेर हुँदैन । त्यो नीतिगत हुनुपर्छ, विधान अनुसार हुनुपर्छ । निर्वाचन आयोगले पनि मान्यता दिनुपर्छ,’ उनले भने ।
रामकुमार महतोले सबैलाई ढाँटिरहेको उनको भनाइ छ । ‘उहाँ अहिले पनि नागरिक उन्मुक्ति पार्टीको उपाध्यक्ष हुनुहुन्छ,’ उनले भने, ‘यता, पार्टीका वरिष्ठ नेता सहजाद मियाँको अध्यक्षतामा बसेको विभिन्न बैठकमा सहभागी भएर वीरगञ्जमा महाधिवेशन गर्ने भनी सहआयोजक पनि बन्नुभयो । अहिले केही दिनदेखि कार्यवाहक अध्यक्ष भन्दै ठगी धन्दा गरिरहनु भएको छ । त्यसका लागि हामीले प्रहरीमा उजुरी दिएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’