सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
कूटनीति

परराष्ट्र सचिव भइसकेपछि राजदूतमा मोह

आइतबार, ०४ कात्तिक २०८१, १६ : १७
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । परराष्ट्र मन्त्रालयमा सचिव भइसकेकाहरूमा राजदूत बन्ने चाहना पछिल्लो समय निकै बढेको देखिन्छ । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् । उनको संसदीय सुनुवाइ हुन बाँकी छ ।

संसदीय सुनुवाइबाट अनुमोदन भएमा लम्साललाई राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् । सेवा लम्सालभन्दा पहिलाका सचिव भरतराज पौडेल पनि यसैगरी राजदूत भएर क्यानडा गएका थिए । यो अवसर लम्साल र पौडेल मात्र होइन, परराष्ट्र सचिव दुर्गा भट्टराई, अर्जुनबहादुर थापाले पनि पाएका थिए ।

त्यसो त, परराष्ट्र सचिवले विश्वका विभिन्न मुलुकमा रहेका आफ्ना राजदूतलाई समन्वय गर्नुका साथै आवश्यक निर्देशन दिन सक्छन् । यस्तो पदमा पुगिसकेका व्यक्ति पनि राजदूत बनेर जान किन मरिहत्ते गर्छन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।

राजदूतले सचिवभन्दा बढी सेवा सुविधा पाउने र विदेश घुम्न पाउँछन् । त्यही भएरै सचिवको मातहतमा रहने राजदूतका लागि पनि कतिपय सचिवले हानथाप गर्ने गरेको परराष्ट्र मन्त्रालयका एक जना पूर्वसचिवले बताए । ‘राजदूत पनि त्यतिकै बन्न पाइँदैन । त्यसका लागि पहुँच बनाउनुपर्छ,’ ती पूर्वसचिवले भने, ‘राजनीतिक पहुँच हुनेले अवकाश हुन लाग्दा बाँकी समय विदेशमा बिताउनका लागि नै राजदूत भएर जान खोज्छन् । जसले सक्छ, ऊ जान सफल हुन्छ ।’

पूर्व सचिव अर्जुनबहादुर थापा भन्छन्, ‘यो नेपालमा मात्र होइन, अन्य देशमा पनि यस्तो चलन छ ।’ ५८ वर्षसम्म परराष्ट्रमै सेवा दिएको व्यक्ति राजदूत बन्नुलाई उनी राम्रो मान्नुपर्ने बताउँछन् ।

परराष्ट्र सचिव लम्सालले उमेर हदका कारण २०८२ असार ५ गते निजामती सेवाबाट अवकाश पाउनेछिन् । २०८० मंसिर २९ देखि उनले परराष्ट्र सचिवको जिम्मेवारी पाएकी हुन् । उमेर हदका कारण अवकाश पाउनु अघि नै उनी राजदूतका लागि सिफारिस भएकी हुन् ।

सामान्यतया राजदूतको कार्यकाल चार वर्षको हुन्छ । उनी परराष्ट्र सेवाबाट राजदूतको कोटामा जाने भएकाले सत्ता परिवर्तनले पनि उनको कार्यकाललाई खासै फरक नपर्ने परराष्ट्रका अधिकारीहरू बताउँछन् ।

उनी राजदूत भएर गएपछि परराष्ट्र सचिवमा प्रवक्ता समेत रहेका सहसचिव अमृतबहादुर राई आउने छन् । यसरी राजदूत बन्नकै लागि पटकपटक परराष्ट्र मन्त्रालयमा सचिव हेरफेर भएका छन् । यसले परराष्ट्रको कामकाज समेत प्रभावित हुने गरेको गुनासो कतिपय अधिकारीको छ ।

२०८० मंसिरमा भरतराज पौडेल राजदूत भएर गएपछि सेवा लेम्साल सचिव भएकी थिइन् । लम्साल राजदूत भएर गएपछि राई सचिव हुनेछन् ।

भरतराज पौडेल गत मंसिरमा अनिवार्य अवकाश पाउनुभन्दा पहिले नै क्यानाडाका लागि राजदूतमा नियुक्त भएका थिए । तत्कालीन परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईको तीन वर्ष कार्यकाल बाँकी रहँदा नै सरकारले उनलाई २०७० मा संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा नियुक्त गरेको थियो ।

उनी अमेरिका जाने बित्तिकै सहसचिव अजुर्नबहादुर थापा सचिव भएका थिए । थापा पनि अवकाश पाउनुभन्दा पहिले नै सार्कका महासचिवमा सिफारिस भएका थिए । अवकाश प्राप्त गर्नासाथ उनी सार्कको महासचिव भए ।

थापा महासचिव भएपछि परराष्ट्रमा निमित्त सचिवको रूपमा शंकरदास बैरागीलाई ल्याइयो । उनी त्यतिबेला जेनेभास्थित नेपाली नियोगको स्थायी प्रतिनिधि थिए । पछि उनी नै परराष्ट्र सचिव भए ।

२०७७ मा बैरागी मुख्यसचिवमा नियुक्त भएपछि भारतराज पौडेल परराष्ट्रसचिव भएका थिए । तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि सरकारले बैरागीलाई मुख्यसचिव नियुक्त गरेको थियो । जबकि रेग्मीले अवकाश हुनुभन्दा दुई साता अगाडि नै राजीनामा दिइसकेका थिए । त्यो बेला केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । ओलीले बेलायतको राजदूत बनाउने आश्वासन दिएपछि रेग्मीले राजीनामा दिएका थिए ।

पूर्व सचिव अर्जुनबहादुर थापा भन्छन्, ‘यो नेपालमा मात्र होइन, अन्य देशमा पनि यस्तो चलन छ ।’ ५८ वर्षसम्म परराष्ट्रमै सेवा दिएको व्यक्ति राजदूत बन्नुलाई उनी राम्रो मान्नुपर्ने बताउँछन् ।

राजदूतजस्तो जिम्मेवार पदमा अनुभवीलाई नै राख्नुपर्छ भनेर नै अवकाश हुन लागेका सचिवहरूलाई राजदूत बनाउँदै आएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप