सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

फिफा क्लब विश्वकपमा छानियो मेस्सी आबद्ध क्लब इन्टर मियामी

आइतबार, ०४ कात्तिक २०८१, १५ : ५६
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले फिफा क्लब विश्वकपको आगामी संस्करणमा सहभागिता जनाउने भएको छ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक अर्जेन्टिनी स्टार लियोनल मेस्सी पनि यही अमेरिकी क्लबमा आबद्ध छन् ।

फिफा क्लब विश्वकपको आगामी संस्करण सन् २०२५ को जुन १५ देखि जुलाई १३ तारिखसम्म अमेरिकामै आयोजना हुँदैछ । यसपटक प्रतियोगितामा सहभागी टोलीको सँख्या पनि थप गरिएको छ । क्लब विश्वकपको आगामी संस्करणमा ३२ टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा युरोपबाट १२ र दक्षिण अमेरिकाबाट ६ टोली सहभागी हुनेछन् । एसिया, अफ्रिका र उत्तर अमेरिकाबाट कुल १२ टोलीको सहभागिता रहने छ । यसका अतिरिक्त ओसेनिया क्षेत्रबाट एक र आयोजक अमेरिकाबाट एक टोलीको सहभागिता रहने बताइएको छ ।

इन्टर मियामी आयोजक राष्ट्र अमेरिकाको तर्फबाट क्लब विश्वकपमा छनोट भएको हो । एमएलएस सपोटर्स शिल्डको उपाधि जितेपछि इन्टर मियामीलाई क्लब विश्वकपका लागि छनोट गरिएको समाचारमा जनाइएको छ ।

इन्टर मियामीका मालिकमध्ये इङ्ल्यान्डका पूर्वखेलाडी डेभिड बेकह्याम पनि एक हुन् । न्यु इङ्ल्यान्ड रिभोलुसनमाथि ६–२ गोलको सानदार जित हासिल गरेपछि इन्टर मियामीले फिफा क्लब विश्वकप खेल्ने अवसर पाएको हो । उक्त खेलमा मेस्सीले ह्याट्रिक गरेका थिए ।

उक्त खेलसँगै इन्टर मियामीले एमएलएसमा एकै सिजनमा सबैभन्दा धेरै अंकको कीर्तिमान पनि बनाएको थियो । जारी सिजनको एमएलएसमा इन्टर मियामीको ७४ अंक पुगेको छ । यो सिजन इन्टर मियामीले एमएलएसमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

जारी सिजनको एमएलएसमा इन्टर मियामीले हालसम्म खेलेको ३४ मध्ये २२ खेलमा जित, आठ खेलमा बराबरी र केवल चार खेलमा हारको नतिजा निकालेको छ । यसअघि सन् २०२१ मा दि रेभोलुसनले ७३ अंकको कीर्तिमान बनाएको थियो ।

‘इन्टर मियामीले आफूलाई अमेरिकी क्लबहरुमध्ये सबैभन्दा उत्कृष्ट क्लबको रुपमा प्रस्तुत गरेको छ,’ फिफाका अध्यक्ष जियानी इनफान्टिनोले भनेका छन्, ‘त्यसैले इन्टर मियामी आगामी क्लब विश्वकपको अभिन्न अंग भएको बताउन पाउँदा मलाई निकै खुसी लागेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप