सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

बंगलादेशी टोलीसँग जोडिए पाकिस्तानका पूर्वस्पिनर मुस्ताक अहमद

आइतबार, ०४ कात्तिक २०८१, १४ : ५७
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले दक्षिण अफ्रिकाविरुद्धको आगामी टेस्ट शृंखलाका लागि मुस्ताक अहमदलाई राष्ट्रिय टोलीको स्पिन बलिङ सल्लाहकारमा नियुक्त गरेको छ । मुस्ताक अहमदले दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्टको शृंखलामा उक्त जिम्मेबारी निर्वाह गर्नेछन् ।  

५४ वर्षीय मुस्ताक अहमद आफ्नो समयका प्रभावशाली लेग स्पिनर हुन् । उनले पाकिस्तानका लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । पाकिस्तानी टोलीको थुप्रै उपलब्धिमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

मुस्ताक अहमदले यसै वर्ष सम्पन्न आईसीसी टी–२० विश्वकपमा पनि बंगलादेश टोलीलाई सहयोग गरेका थिए । बंगलादेशी टोली पाकिस्तान भ्रमणमा जाँदा पनि उनले टोलीलाई सहयोग गरेका थिए । तर, भारत भ्रमणका क्रममा भने उनी बंगलादेश टोलीमा थिएनन् ।

बंगलादेशी टोलीका प्रमुख प्रशिक्षक भने फिल सिमोन्स हुन् । उनले हालै चन्डिका हथुरुसिंघाको स्थान लिएका हुन् । बीसीबीका अनुसार, अन्य जिम्मेबारीमा नरहँदा मुस्ताक अहमदले आगामी दिनमा पनि बंगलादेशी टोलीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बंगलादेश र दक्षिण अफ्रिकाबिचको पहिलो टेस्ट क्रिकेट सोमबार मिरपुरमा सुरु हुँदैछ । दोस्रो टेस्ट भने अक्टोबर २९ तारिखदेखि चटगाउँमा सुरु हुनेछ । पहिलो टेस्टका लागि बंगलादेशी टोलीको घोषणा पनि गरिएको छ ।  

यसपटक बंगलादेशी टोलीमा अनुभवी अलराउन्डर सकिब अल हसन छैनन् । उनको स्थानमा नयाँ खेलाडी बायाँहाते स्पिनर हसन मुरादलाई टोलीमा स्थान दिइएको छ । २३ वर्षीय हसन मुराद प्रथम श्रेणीको क्रिकेटमा ३० खेल खेल्दै कुल एक सय ३६ विकेट लिएका छन् ।

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टका लागि घोषित बंगलादेशी टोलीमा नजमुल हुसैन सान्तो (कप्तान), शादमान इस्लाम, महमुदुल हसन, जाकिर हसन, मोमिनुल हक शोराब, मशफिकुर रहिम, लिटन दास (विकेटकिपर), जाकेर अली अनिक, मेहदी हसन मिराज, तैजुल इस्लाम, नइम हसन, तास्किन अहमद, हसन महमुद, नाहिद राणा र हसन मुराद रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप