सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

पोखरा प्रदर्शन : रास्वपाका कार्यकर्ताद्वारा पत्रकारमाथि हातपात

आइतबार, ०४ कात्तिक २०८१, १४ : ४७
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । यो घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

आज बिहान ११ः३० बजेतिर पोखराको शहीद चोकमा अध्यक्ष लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोड्दै जुलुस निकोलेका थिए ।

उक्त जुलुसको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा आन्दोलनरत कार्यकर्ताले पार्टीविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरिएको जानकारी प्राप्त भएको पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । 

नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि एउटा स्थापित पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो घटनाले पत्रकारको र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको महासंघले ठहर गरेको छ । 

घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई निर्धक्क र निर्बाध रूपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप