शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकप

नयाँ च्याम्पियन बन्ने लक्ष्यसहित फाइनलमा भिड्दै दक्षिण अफ्रिका र न्युजिल्यान्ड

आइतबार, ०४ कात्तिक २०८१, १४ : ३५
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि आइतबार दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच भिडन्त हुँदैछ । फाइनल खेल संयुक्त अरब इमिरेट्स (युएई) को दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा राति १९ः४५ बजे सुरु हुनेछ ।

यी दुवै टोलीले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । तर, न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले हालसम्म एक पटक पनि उपाधि जित्न सकेका छैनन् । त्यसैले टी–२० महिला विश्वकपको यो संस्करणले नयाँ च्याम्पियन जन्माउने पक्का छ ।  

जारी विश्वकपमा भने यी दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यी दुवै टोली फरक समूहबाट एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दै फाइनलसम्म पुगेका हुन् । दक्षिण अफ्रिका र न्युजिल्यान्ड दुवै आ–आफ्नो समूहको उपविजेता बन्दै अगाडि बढेका हुन् ।

यी दुवै टोलीले हालसम्म एक–एक खेलमा मात्र हार बेहोरेका छन् । समूह ‘ए’ मा रहेको न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई ५८ रनले हराएको थियो । न्युजिल्यान्डको टोली आफ्नो दोस्रो खेलमा भने साबिक विजेता अस्ट्रेलियासँग ६० रनले पराजित भएको थियो ।

आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डले श्रीलंकामाथि आठ विकेटको सजिलो जित हासिल गरेको थियो । आफ्नो चौथो खेलमा पनि न्युजिल्यान्डले पाकिस्तानमाथि ५४ रनको जित हासिल गरेको थियो । न्युजिल्यान्डले सेमिफाइनलमा भने पूर्व च्याम्पियन वेस्ट इन्डिजलाई आठ रनले हराएको थियो ।

South Africa Captain

समूह ‘बी’ मा रहेको दक्षिण अफ्रिका पनि चारमध्ये तीन खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजलाई १० विकेटले हराएको थियो । दोस्रो खेलमा भने दक्षिण अफ्रिकी टोली इङ्गल्यान्डसँग सात विकेटले पराजित भएको थियो ।

दक्षिण अफ्रिकाले आफ्नो तेस्रो खेलमा स्कटल्यान्डलाई ८० रनले र चौथो खेलमा बङ्गलादेशलाई सात विकेटले हराएको थियो । उक्त समूहको अन्तिम खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई ६ विकेटले हराएपछि दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा सम्भव भएको थियो ।

त्यो समूहबाट वेस्ट इन्डिज विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । वेस्ट इन्डिज, दक्षिण अफ्रिका र इङ्गल्यान्डको समान ६–६ अङ्क रहे पनि नेट रन रेटमा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले इङ्गल्यान्डलाई पछि पारेका थिए । दक्षिण अफ्रिकाले सेमिफाइनलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई आठ विकेटले हराएको थियो ।

दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच हालसम्म १६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । यो तथ्याङ्कलाई हेर्दा न्युजिल्यान्ड केही बलियो देखिन्छ । १६ मध्ये ११ खेलमा न्युजिल्यान्ड र चार खेलमा दक्षिण अफ्रिका विजयी भएका छन् । एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचिमा पहिलो र दोस्रो स्थानमा दक्षिण अफ्रिकी खेलाडी छन् । दक्षिण अफ्रिकाकी कप्तान लाउरा वोल्भार्डले पाँच पालीमा सर्वाधिक एक सय ९० रन बनाएकी छन् ।

यो सूचिमा दोस्रो स्थानमा रहेकी दक्षिण अफ्रिकाकी ताजमिन ब्रिट्सले पनि पाँच पालीमा कुल एक सय ७० रन बनाएकी छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा भने न्युजिल्यान्डकी अमेलिया केर पहिलो स्थानमा छिन् । उनले पाँच पालीमा १२ विकेट लिइसकेकी छन् ।

यो सूचिमा दक्षिण अफ्रिकाकी ननकुलुलेको दोस्रो स्थानमा छिन् । उनले पाँच पालीमा १० विकेट लिएकी छन् । यो सूचीमा चौथो स्थानमा पनि न्युजिल्यान्डकी बलर एडन जिन कार्सन छिन् । उनले पाँच पालीमा आठ विकेट लिएकी छन् । 

यी दुवै राष्ट्रले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । न्युजिल्यान्डको टोली सन् २००९ मा सम्पन्न पहिलो र सन् २०१० मा सम्पन्न दोस्रो संस्करणको फाइनलमा पुगेर पनि पराजित भएको थियो ।

सन् २००९ को विश्वकपको फाइनलमा घरेलु टोली इङ्ल्यान्डले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो । सन् २०१० मा सम्पन्न विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

South Africa vs New Zealand

महिला टी–२० विश्वकपको इतिहासमा सबैभन्दा कम अन्तरको जितको कीर्तिमान पनि त्यही खेलले बनाएको छ । त्यसयता न्युजिल्यान्डको टोली पहिलो पटक फाइनलमा पुगेको हो । लामो समयपछि यस पटक न्युजिल्यान्ड पुनः लयमा देखिएको छ ।

दक्षिण अफ्रिका भने हालसम्म एक पटक मात्र महिला टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको छ । सन् २०२३ मा सम्पन्न विश्वकपको आठौँ संस्करणको फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि चुमेको थियो । त्यो विश्वकप दक्षिण अफ्रिकामै खेलिएको थियो ।

जारी विश्वकपमा न्युजिल्यान्डको टोली सोफी डेभिनको कप्तानीमा रहेको छ । ३५ वर्षीया सोफी टोलीकी प्रभावशाली अलराउन्डर खेलाडी हुन् । उनले जारी विश्वकप सुरु हुनुअघि देशका लागि एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन् ।

 

टेस्ट क्रिकेटमा भने उनले हालसम्म ‘डेब्यू’ गरेकी छैनन् । दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले सतक बनाएकी छन् । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा एक सय एक र टी–२० अन्तर्राष्ट्रियमा एक सय १७ विकेट पनि लिइसकेकी छन् ।

यसैगरी, जारी विश्वकपमा दक्षिण अफ्रिकाको टोली लाउरा वोल्भार्डको कप्तानीमा रहेको छ । २५ वर्षीया लाउरा टोलीकी प्रभावशाली ब्याटर हुन् । उनले देशका लागि तीन वटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले तीन वटै ढाँचाको क्रिकेटमा सतक पनि प्रहार गरिसकेकी छन् ।

महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका थिए ।

यसैगरी, समूह ‘बी’ मा बंगलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका थिए । दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको थियो । फाइनल खेल अक्टोबर २० तारिखमा खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप