आगामी एसईईको नतिजा सुधारमा जुट्यो भरतपुर महानगर, विद्यालयहरुले तोके लक्ष्य
चितवन । भरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरूले आगामी वर्ष कक्षा ८ र एसइईको नतिजा सुधार्ने प्रतिबद्धता जनाएका छन् । विद्यालयहरूले महानगरपालिकासँग आगामी वर्ष नतिजा सुधार्ने लिखित प्रतिबद्धता जनाएका हुन् ।
पछिल्लो समय सार्वजनिक शिक्षा सुधारका लागि कम्मर कसेर लागेको भरतपुर महानगरले नगरभित्रका सबै सामुदायिक विद्यालयहरूसँग एसइईको नतिजा सुधार गर्ने प्रतिबद्धता लिएको हो । सबै विद्यालयहरूसँग २८ बुँदे कार्यसम्पादन करार गर्दै महानगरले कक्षा ८ र एसइईको नतिजा सुधार्ने प्रतिबद्धता लिएको हो ।
जसरी अन्य व्यापारिक कम्पनी या सङ्घसंस्थाले आगामी वर्षका लागि लक्षित उपलब्धि निर्धारण गर्छन् त्यसरी नै महानगरले विद्यालयहरूसँग सिकाइ उपलब्धिको लक्ष्य वा टार्गेट निर्धारण गरिदिएको हो । लक्ष्य मात्रै निर्धारण गरिएको छैन महानगरले लक्ष्य पूरा गर्नका लागि विद्यालयहरूसँग कार्य योजना पनि मागेको छ ।
महानगरले विद्यालयका प्रअहरुसँग आगामी वर्षको लक्षित सिकाइ उपलब्धिको प्रतिबद्धता लिएसँगै प्रअ र विद्यालयहरूले फेरि शिक्षकहरूसँग पनि त्यस्तै खालको प्रतिबद्धता लिएका छन् । फेरि शिक्षकहरूले आफ्ना विद्यार्थीहरूसँग नतिजा सुधार्ने त्यस्तै खालको लिखित सम्झौता गरेका छन् ।
गत वर्षको कक्षा ८ को वार्षिक परीक्षा र एसइईमा कति नतिजा थियो, अहिले कति छ र अब कति बनाउने हो ? विद्यालयहरूलाई सहभागी विद्यार्थी सङ्ख्याका आधारमा लक्ष्य निर्धारण गर्न लगाइएको छ । अब हरेक परीक्षाको नतिजा पछि लक्ष्य पूरा भए नभएको विद्यालयमै समीक्षा हुने महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले जानकारी दिए ।
लक्ष्य पूरा नभएमा किन पूरा नभएको हो ? कार्यायोजना कार्यान्वयनमा कहाँनेर समस्या भयो त्यसबारे महानगरले सुझाव पनि दिने गरेको छ । महानगरले सहयोग गर्नुपर्ने कुरा भए बुँदागत रूपमा मागेर सहयोग गर्ने पनि गरिएको छ । विद्यालयमा भर्ना भएर पढिरहेका विद्यार्थीहरूको नतिजा प्रति विद्यालयहरूलाई जिम्मेवार बनाउनका लागि कार्यसम्पादन करार गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।
विद्यालयहरूको आगामी वर्षको नतिजा सुधारको लक्ष्य महानगर आफैले तोकिदिएको भने होइन । विद्यालयहरू आफैले आफ्नो वस्तुस्थिति मूल्याङ्कन र शिक्षक विद्यार्थीहरूसँग छलफल गरेर लक्ष्य निर्धारण गरेका हुन् । कतिपय विद्यालयहरूले पछि आएर पनि तोकिएको लक्ष्य बढाउने पनि गरेका आचार्यले जानकारी दिए ।
शैक्षिक प्रशासन महाशाखाले महानगरका नगरप्रमुख र उपप्रमुखकै उपस्थितिमा औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रअहरुसँग तीनपन्ने २८ बुँदे कार्यसम्पादन करार गरेको हो । विद्यालयहरूसँग कार्य योजना सहित २०८१ को कक्षा ८ को अन्तिम परीक्षा र एसइईमा कति नतिजा पुर्याउन सक्नुहुन्छ भनेर लक्ष्य मागिएको थियो । हरेक त्रैमासिक परीक्षा पछि निर्धारित लक्ष्य, नतिजा र कार्ययोजनाबारे समीक्षा गर्ने गरिएको महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।
नतिजामा सुधार नआएसम्म भवन राम्रो बनाउँदैमा, सबै विद्यार्थी भर्ना गर्दैमा शिक्षा सुध्रिँदैन महाशाखा प्रमुख आचार्यले भने, आएका विद्यार्थीले के गरेर गए भन्ने कुरा महत्त्वपूर्ण हो ।
कक्षा ८मा महानगरले प्रश्न पत्र मात्रै बनाएर पठाउँदा नतिजा ९२–९४ प्रतिशत छ । ९ को र ११ कक्षाको पनि शतप्रतिशत नतिजा छ । १० र १२ कक्षामा मात्रै किन फेल हुन्छन् त विद्यार्थी ? आचार्यले प्रश्न गरे, आफैले प्रश्न पत्र बनाउने र परीक्षण गर्दा राम्रो हुने, अर्कैले गर्दा नराम्रो नतिजा आउने भएपछि हाम्रा शिक्षकमा कहीँ न कहीँ समस्या देखियो ।
हाम्रो ५० प्रतिशत बढी शिक्षक दरबन्दी कक्षा ५ सम्मको छ । तर उनीहरूको जबाफदेहिता कहीँ कतै छैन । कक्षा ५ देखि नै शिक्षकलाई नतिजाप्रति उत्तरदायी बनाउँदै लगे मात्रै माथिल्ला कक्षाको नतिजा सुध्रने आचार्य बताउँछन् ।
कक्षा ५ सम्मका शिक्षकलाई न राम्रो गर्नेलाई प्रोत्साहित गर्न सकियो न नराम्रो गर्नेलाई कारबाही ? अब सुधारको सुरुवात तल्लो तहबाटै हुनुपर्नेमा उनको जोड देखिन्छ । कक्षा ५ को अन्तिम परीक्षा पनि पालिकास्तरमा लिने वातावरण भए माथिल्ला तहका नतिजामा सुधार आउने उनको विश्वास देखिन्छ ।
शैक्षिक प्रशासन महाशाखाले विद्यालयहरूले आगामी वर्षका लागि तय गरेको कक्षा ८ र एसइईको लक्ष्य सबैले देखिने गरी भित्तामा टाँसिदिएको छ । हरेक आगन्तुकले सजिलै विद्यालयहरूको यो वर्षको नतिजा र आगामी वर्ष विद्यालयले ल्याउन प्रतिबद्धता जनाएको लक्ष्य सजिलै देख्छन् ।
अझ महानगरले विद्यालयहरूसँग नतिजा सुधारको प्रतिबद्धता मात्रै जनाएको छैन त्यसका लागि शैक्षिक सामग्री पनि सहयोग गर्ने गरेको छ । भर्खरै सोल्टी होटेल लिमिटेडको सहयोग र मातृ नेपालसँगको सहकार्यमा २० विद्यालयहरूलाई मातृका डिजिटल सिकाइ सामग्री पनि वितरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म