आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

न्युजिल्यान्डले ३६ वर्षपछि टेस्ट क्रिकेटमा भारतलाई उसैको घरमा हरायो

आइतबार, ०४ कात्तिक २०८१, १२ : ४६
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । न्युजिल्यान्डले पहिलो टेस्ट क्रिकेटमा भारतलाई उसैको घरेलु मैदानमा आठ विकेटले हराएको छ । बेंगलुरुमा सम्पन्न पहिलो टेस्टको पाँचौँ तथा अन्तिम दिन आइतबार भ्रमणकारी टोली न्युजिल्यान्डले एक सय सात रनको विजयलक्ष्य २७.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय १० रन बनाउँदै पार गर्यो ।

जितसँगै न्युजिल्यान्डले तीन टेस्टको शृंखलामा १–० को अग्रता पनि लिएको छ । न्युजिल्यान्डले ३६ वर्षदेखि भारतलाई उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा हराउन सकेको छैन । न्युजिल्यान्डले यसअघि सन् १९८८ मा भारतलाई उसैको मैदानमा टेस्ट क्रिकेटमा हराएको थियो ।

दोस्रो पालीमा किविज टोलीलाई जित दिलाउन विल योङले अविजित ४८ रनको योगदान गरे । उनले ७६ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए । युवा ब्याट्सम्यान रचिन रविन्द्रले पनि टोलीका लागि अविजित ३९ रनको योगदान गरे ।

रचिनले ४६ बलमा ६ चौका पनि हिर्काए । न्युजिल्यान्डले खाता खोल्नुअघि नै आफ्नो पहिलो विकेट गुमाएको थियो । कप्तानसमेत रहेका ओपनर टम लाथम शून्य रनमै पेभेलियन फर्किएका थिए । अर्का ओपनर ब्याट्सम्यान डेभोन कनवे पनि १७ रनमै आउट भएका थिए ।

त्यसपछि विल योङ र रचिनले न्युजिल्यान्डलाई जितसम्म डोर्याएका थिए । दोस्रो पालीमा किविज टोलीको दुबै विकेट जसप्रित बुमराहले लिए । दोस्रो पालीमा न्युजिल्यान्डले अतिरिक्त रुपमा ६ रन पाएको थियो । त्यसअघि भारतीय टोलीले आफ्नो दोस्रो पालीमा चार सय ६२ रन बनाएको थियो । दोस्रो पालीमा भारतका लागि सरफराज खानले एक सय ५० रनको योगदान गरेका थिए । उनले एक सय ९५ बलको सामना गरी तीन छक्का र १८ चौका हिर्काएका थिए ।

केवल चौथो टेस्ट खेलिरहेका २६ वर्षीय सरफराज खानले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो सतक पनि हो । भारतका लागि पहिलो पालीमा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि ९९ रनको योगदान गरेका थिए । २७ वर्षीय ऋषभले एक सय पाँच बलको सामना गरी पाँच छक्का र नौवटा चौका हिर्काएका थिए । उनले टेस्ट क्रिकेटमा बनाएको यो १२ औँ अर्धसतक हो । उनी केवल एक रनका कारण सातौँ टेस्ट सतक प्रहार गर्नबाट चुकेका थिए ।

दोस्रो पालीमा अनुभवी ब्याट्सम्यान विराट कोहलीले पनि ७० रन बनाएका थिए । उनले एक सय दुई बलमा एक छक्का र आठ चौका हिर्काएका थिए । ३६ औँ वर्ष प्रवेशको सँघारमा रहेका विराटले टेस्ट क्रिकेटमा बनाएको यो ३१ औँ अर्धसतक हो ।
कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान रोहित शर्माले पनि दोस्रो पालीमा ५२ रन बनाएका थिए । उनले ६३ बलमा एक छक्का र आठ चौका हिर्काए । ३७ वर्षीय रोहित शर्माले टेस्ट क्रिकेटमा बनाएको यो १८ औँ अर्धसतक हो ।

यसका अतिरिक्त ओपनर यशस्वी जैसवालले पनि टोलीको खातामा ३५ रन थपेका थिए । दोस्रो पालीमा किविज टोलीका बलर म्याट हेनरी र विलियम ओरुर्कले तीन–तीन विकेट लिएका थिए । एजाज पटेलले पनि दुई विकेट हात पारेका थिए । टिम साउथी र ग्लेन फिलिप्सले पनि एक–एक विकेट लिएका थिए ।

त्यसअघि न्युजिल्यान्डले पहिलो पालीमा तीन सय ५६ रनको अग्रता लिएको थियो । न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा चार सय दुई रन बनाएको थियो । न्युजिल्यान्डका लागि पहिलो पालीमा ओपनर डेभोन कनवे र युवा ब्याट्सम्यान रचिन रविन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

न्युजिल्यान्डका लागि कनवेले ९१ रनको योगदान गरेका थिए । उनले एक सय पाँच बलको सामना गरी तीन छक्का र ११ वटा चौका पनि हिर्काएका थिए । ३३ वर्षीय कनवेले टेस्ट क्रिकेटमा बनाएको यो १०औँ अर्धसतक हो । उनी केवल नौ रनका कारण सतकबाट चुकेका थिए ।

रचिन रविन्द्रले पनि उत्कृष्ट सतकीय पाली खेलेका थिए । उनले टोलीको खातामा एक सय ३४ रन थपेका थिए । उनले एक सय ५७ बलको सामना गरी चार छक्का र १३ चौका पनि हिर्काएका थिए । २४ वर्षीय रचिनले टेस्ट क्रिकेटमा बनाएको यो दोस्रो सतक हो ।

न्युजिल्यान्डका लागि टिम साउथीले पनि अर्धसतकीय पाली खेलेका थिए । नवौँ नम्बरमा क्रिज समाल्न आएका साउथीले टोलीको खातामा ६५ रन थपेका थिए । उनले ७३ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काएका थिए । ३५ वर्षीय साउथीले टेस्ट क्रिकेटमा बनाएको यो सातौँ सतक हो ।

किविज टोलीका लागि पहिलो पालीमा विल योङले पनि ३३ रन बनाएका थिए । कप्तान टम लाथम भने १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । ड्यारल मिचेल १८ रन बनाउँदै आउट भएका थिए । ग्लेन फिलिप्सले पनि १४ रन बटुलेका थिए ।

पहिलो पालीमा न्युजिल्यान्डले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो । पहिलो पालीमा भारतीय टोलीका बलर रविन्द्र जडेजा र कुलदीप यादबले तीन–तीन विकेट लिएका थिए । मोहम्मद सिराजले पनि दुई विकेट हात पारे । जसप्रित बुमराह र रविचन्द्रन आश्विनले पनि एक–एक विकेट लिए ।

त्यसअघि घरेलु टोली भारतले आफ्नो पहिलो पालीमा निकै निराशाजनक प्रदर्शन गरेको थियो । भारतीय टोली आफ्नो पहिलो पालीमा केवल ४६ रन बनाउँदै अलआउट भएको थियो । भारतीय टोली पहिलो पालीमा ३१.२ ओभर मात्र क्रिजमा टिक्न सकेको थियो ।

भारतीय टोलीले टेस्ट क्रिकेटको एक पालीमा बनाएको यो तेस्रो सबैभन्दा कम योगफल हो । घरेलु मैदानमा खेलिएको टेस्टमा भने भारतको यो नै सबैभन्दा कम योगफल पनि हो । पहिलो पालीमा भारतका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतीय टोलीका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले सर्वाधिक २० रन बनाएका थिए । उनले ४९ बलमा दुई चौका पनि हिर्काएका थिए ।

ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले टोलीको खातामा १३ रन थपेका थिए । उनले ६३ बलमा एक चौका हिर्काएका थिए । सबैभन्दा लामो समय क्रिजमा टिकेका ब्याट्सम्यान जैसवाल नै थिए । कप्तान रोहित शर्मा दुई र अनुभवी ब्याट्सम्यान विराट कोहली शून्य रनमै पेभेलियन फर्किएका थिए ।

भारतका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेका थिएनन् । सरफराज खानले पनि खाता खोल्न सकेका थिएनन् । यसका अतिरिक्त केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले पनि खाता खोल्न सकेका थिएनन् । 

पहिलो पालीमा किविज टोलीका बलर म्याट हेनरी एक्लैले पाँच विकेट लिएका थिए । विलियम ओ’रुर्कले पनि चार विकेट हात पारेका थिए । हेनरीले १३.२ ओभरमा तीन मेडनसहित केवल १५ रन खर्चिएका थिए ।

विलियमले पनि १२ ओभरमा ६ मेडनसहित केवल २२ रन खर्चिएका थिए । टिम साउथीले पनि एक विकेट हात पारेका थिए । पहिलो टेस्टको पहिलो दिनको खेल वर्षाका कारण सुरु नै हुन सकेको थिएन । दोस्रो दिनको खेल पनि समय–समयमा अवरुद्ध हुँदै अगाडि बढेको थियो ।

टेस्ट क्रिकेटको इतिहासमा एक पालीमा भारतले बनाएको सबैभन्दा कम रन भने ३६ हो । भारतीय टोली सन् २०२० को डिसेम्बर १७ तारिखमा एडिलेडमा खेलिएको अस्ट्रेलियाविरुद्धको टेस्टमा केवल ३६ रन बनाउँदै अलआउट भएको थियो ।

टेस्ट क्रिकेटमा भारतीय टोलीले बनाएको दोस्रो कम योगफल भने ४२ रन हो । भारतीय टोली सन् १९७४ को जुन २० तारिखमा लर्डसमा खेलिएको इङ्ल्यान्डविरुद्धको टेस्टमा केवल ४२ रनमा अलआउट भएको थियो । 

क्रिकेट इतिहासमा भारत र न्युजिल्यान्डबिच पहिलो टेस्ट क्रिकेट सन् १९५५ को नेभेम्बर १९ देखि २४ तारिखसम्म हैदराबादमा खेलिएको थियो । यी दुई राष्ट्रबिच खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । यी दुई टोलीबिच दोस्रो टेस्ट सन् १९८८ को डिसेम्बर २ देखि ७ तारिखसम्म खेलिएको थियो । दोस्रो टेस्टमा भने भारत एक पाली र २७ रनले विजयी भएको थियो ।

अर्कोतिर, भारतीय टोलीले सन् २०१२ देखि घरेलु मैदानमा एउटा पनि टेस्ट शृंखला हारेको छैन । भारत र न्युजिल्यान्डबिचको तीन टेस्टको शृंखला अन्तर्गतको दोस्रो खेल अक्टोबर १४ तारिखदेखि पुणेमा खेलिने छ । तेस्रो टेस्ट भने नोभेम्बर १ तारिखमा वानखेड स्टेडियममा सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप