आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

साफ महिला च्याम्पियनसिप : आज साविक विजेता बङ्गलादेश र पाकिस्तान भिड्दै

आइतबार, ०४ कात्तिक २०८१, १० : ४७
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । नेपालमा जारी साफ महिला च्याम्पियनसिपमा आइतबार पाकिस्तानले बङ्गलादेशको सामना गर्दै छ । पाकिस्तान र बङ्गलादेशबिचको खेल साँझ १७ः३० बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ ।

जारी प्रतियोगितामा पाकिस्तान र बङ्गलादेश समूह ‘ए’ मा रहेका छन् । भारत र पाकिस्तानले एक–एक खेल खेलेका छन् । बङ्गलादेशले भने आफ्नो पहिलो खेल खेल्न लागेको हो । प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलले हराएको थियो ।

साफ महिला च्याम्पियनसिपको यो सातौँ संस्करण हो । बङ्गलादेश र पाकिस्तान सन् २०१० मा सम्पन्न पहिलो संस्करणदेखि नै साफ महिला च्याम्पियनसिपमा सहभागी हुँदै आएका छन् । बङ्गलादेशी टोलीले हालसम्म एक पटक उपाधि जितेको छ ।

बङ्गलादेशले सन् २०२२ मा नेपालमै सम्पन्न छैटौँ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीलाई ३–१ गोलले हराउँदै उपाधि चुमेको थियो । त्यसैले बङ्गलादेश साफ महिला च्याम्पियनसिपको उपविजेता पनि हो ।

त्यसअघि सन् २०१६ मा पनि बङ्गलादेश प्रतियोगिताको फाइनलसम्म पुगेको थियो । त्यतिबेला फाइनलमा भारतले बंगलादेशलाई ३–१ गोलले हराएको थियो । पाकिस्तानले भने हालसम्म उपाधि चुम्न सकेको छैन ।

पाकिस्तानी टोली हालसम्म साफ महिला च्याम्पियनसिपको फाइनलसम्म पनि पुग्न सकेको छैन । पाकिस्तानी टोली एकपटक सन् २०१२ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यसैले बङ्गलादेशको तुलनामा पाकिस्तान केही कमजोर देखिन्छ ।

प्रतियोगिताको सातौँ संस्करणमा सातवटा राष्ट्र सहभागी छन् । प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, भारत र पाकिस्तान रहेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा भने नेपाल, भुटान, श्रीलङ्का र मालदिभ्स रहेका छन् ।

पहिलो चरणको समाप्तिपछि दुवै समूहबाट माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल कार्तिक ११ गते खेलिने छ । फाइनल खेल कार्तिक १४ गते खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप