आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय
कृषि

नेपाली बेसारको अस्ट्रेलिया यात्रा

आइतबार, ०४ कात्तिक २०८१, ११ : ००
आइतबार, ०४ कात्तिक २०८१

बानेश्वरका स्थानीय सुहृद चापागाईंले २०८० साउनदेखि काठमाडौँबाट अस्ट्रेलियामा बेसार पठाउन थालेका छन् । उनले पठाउने बेसारमा कर्कुमिन (बेसारमा पाइने तत्त्व)को मात्रा उच्च हुन्छ । 

उच्च कर्कुमिन भएको बेसारको माग विदेशमा बढी भएको थाहा पाएपछि उनी बेसार व्यवसायमा लागेका हुन् । सुरुमा उनले देशका विभिन्न नौ स्थानका बेसारको परीक्षण गरेका थिए । कर्कुमिनको मात्रा उच्च भएको बेसार काभ्रेमा भेटिएपछि उनले त्यहाँका किसानसँग मिलेर बेसारखेती नै सुरु गरेका छन् । 

काभ्रेमा उनीहरूले उच्च कर्कुमिन भएको काँचो बेसार वार्षिक २० हजार किलोजति उत्पादन गर्छन् । मागअनुसार उत्पादन गर्न नसकेको सुहृदको भनाइ छ । ‘अर्को वर्षदेखि वार्षिक दुई लाख किलो उत्पादन गर्ने लक्ष्य छ,’ उनी भन्छन्, ‘अहिलेसम्म बेसार खेतीका लागि मेरो लगानी नै एक करोड पुगिसकेको छ ।’ 

उनका अनुसार, यतिखेर नेपाली बजारमा दुई प्रकारका बेसार छन्— एउटा कर्कुमिनको मात्रा बढी भएको र अर्को अहिलेसम्म हामीले प्रयोग गर्दै आएको बेसार ।   

हामीले प्रयोग गर्दै आएको बेसारको मूल्य प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्म छ । सुहृदले भने उच्च कर्कुमिन भएको बेसारलाई प्रतिकिलो १२ सय रुपैयाँसम्म (खुद्रा मूल्य)मा बिक्री गर्छन् । 

besar (1)

‘कर्कुमिनको मात्रा बढी भएको बेसारको होलसेल मूल्य हजार रुपैयाँ छ । यसमा अदुवा, अलैँची र अश्वगन्धा आदि मिसाएर पनि बेच्ने गरेका छौँ,’ उनी भन्छन्, ‘यस्तो मिश्रण भएको बेसार प्रतिकिलो १५ सय रुपैयाँमा बिक्री हुन्छ । यस्तो बेसार मासिक १०० किलोजति अस्ट्रेलियामा पठाउँछौँ । सानो परिमाणमा नेपालमै पनि बिक्री हुने गर्छ । खासगरी यसलाई औषधिकै रूपमा प्रयोग गरिन्छ ।’ 

उनले स्थानीयले उत्पादन गर्ने महसँगै हुम्लाको सिलाजित समेत विदेश पठाउँछन् । सिलाजित प्रतिकिलो दुई लाख रुपैयाँसम्ममा बिक्री हुने उनको भनाइ छ । 

‘हुम्लाको सिलाजितलाई हामी आफैँले प्रशोधन गरेर बाहिर पठाउँछौँ । यसलाई अस्ट्रेलिया, जर्मनी र जापानमा मन पराइएको छ । नेपाली बजारमा पनि यसको माग बढी नै छ,’ उनी भन्छन्, ‘हामीले आयुर्वेदिक चिकित्सकको परामर्शबिना बिक्री गर्दैनौँ ।’

यो सबै कारोबार उनले पाँच वर्षअघि खोलेको कम्पनी ‘एग्री डाइरेक्ट’बाट हुन्छ । जहाँ अहिले १५ जनाले रोजगारी पाएका छन् । जसमध्ये कृषि विज्ञ दुई जना, बायो–टेक्नोलजिस्ट पाँच,  केमिकल इन्जिनियर तीन, आयुर्वेदिक डाक्टर तीन र कृषिका विद्यार्थी दुईजना छन् । 

‘कृषिविज्ञ, आयुर्वेदिक चिकित्सक, इन्जिनियर समेत भएर निकै अध्ययन गर्‍यौँ,’ सुहृद आफूहरूको मेहनत र सफलता सुनाउँछन्, ‘यत्तिकै हाम्रो उत्पादन अन्तर्राष्ट्रिय बजारमा जाँदैन नि ! पहिले त गुणस्तरमै ध्यान दिनुपर्छ ।’

  • इन्जिनियरिङ पढेका सुहृदको कृषिमा आगमन

काठमाडौँमै मेकानिकल इन्जिनियरिङ पढेका सुहृदले २०५८ सालतिर मोरङ पुगेर एक अटो–वर्कसपमा काम गरिरहेका थिए । त्यही बेला भारतको बैंग्लोरको एक कलेजले उनलाई एमबीएका लागि छात्रवृत्ति दियो । त्यसपछि उनी अध्ययनका लागि बैंग्लोर हानिए । त्यहाँ उनको पढाइ उद्यमशीलता सम्बन्धमा थियो । 

तीनवर्षे अध्ययन सकेर उनी २०६२ सालमा स्वदेश फर्के र गैरसरकारी संस्थाहरूसँग जोडिएर आफ्नो पढाइ अनुरुपकै काम गर्न थाले । ग्रामीण कृषिको अध्ययन–अनुसन्धान गर्ने र त्यसको उत्थानका लागि प्रोजेक्टहरू बनाउने नै उनको काम थियो । त्यस क्रममा उनले देशका ७४ जिल्लाको कृषि अवस्था र समस्याबारे बुझ्ने अवसर पाए ।

‘करिब १५ वर्षसम्म जागिर गर्दा मैले हाम्रो कृषि प्रणालीलाई नजिकबाट नियालेको थिएँ । गुणस्तरीय उत्पादन भएका ठाउँमा बजार नपाएको पनि देखेँ,’ उनी भन्छन्, ‘त्यसपछि कृषि क्षेत्रलाई अगाडि लैजान मैले एग्री डाइरेक्ट कम्पनी सुरुवात गरेको हुँ ।’

besar (2)

रोल्पाको स्याउ काठमाडौँ ल्याएर बिक्री थालेका उनले क्रमशः देशका विभिन्न स्थानबाट सुन्तला, जुनार, कागती, कागुनो, जुनेलो, मार्सी, कोदो, फापर, अदुवा, अलैँची आदि ल्याउन थाले । जसको बिक्रीका लागि उनले सीतापाइला, खुमलटार लगायत काठमाडौँ उपत्यकाका ३० स्थानमा पसल तथा स्टल राखेका थिए । ग्राहकले अनलाइनमार्फत र पसलमै आएर समेत खरिद गर्थे ।

यस्ता स्थानीय कृषि उपजका लागि बजारको समस्या नभएपछि उनले ताप्लेजुङबाट अलैँची, दार्चुला र जुम्लाबाट ओखर तथा स्याउ र पाँचथरको शैलुङबाट रातो र हरियो किबी लगायत उत्पादन ल्याएर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन थालेका थिए । 

‘उत्पादन किनिदिँदा किसान खुसी हुन्थे, मलाई भने सधैँ नाफा हुँदैनथ्यो । कहिलेकाहीँ सामान बिग्रने समस्या हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले बेसारतिर लागेपछि यसको व्यापार घटेको छ । तैपनि रैथाने बाली तथा खासखास फलफूल ल्याएर बेच्ने गरेको छु ।’ 

  • कृषिमाथि अध्ययन–अनुसन्धान 

हामीकहाँ कृषिको उत्पादन र प्रयोगमा परम्परागत तरिका अपनाइएकाप्रति सुहृद चिन्तित छन् । विज्ञान र प्रविधिका माध्यमबाट कृषिको प्रवद्र्धन गरिनुपर्ने उनको धारणा छ । खासगरी कृषि उत्पादनको उपयोगिता बढाउन र बजार खोज्न उनी अनुसन्धानरत देखिन्छन् ।   

besar (3)

गत वर्षको तिहारमा देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यकामा बिक्री गर्न ल्याइएका सयपत्री लगायत फूल बिक्री नभएर फ्याँक्नुपरेको थियो । यो देखेपछि सुहृदले सयपत्री फूलका विषयमा अनुसन्धान गरे । सयपत्रीबाट अत्तरदेखि धुपसम्म बनाउन सकिने रहेछ । यो ज्ञान उनले सामाजिक सञ्जालमार्फत साझा गरे । अहिले केहीले सयपत्रीबाट धुप र अत्तर बनाएर बजारमा पठाएका छन् । 

पछिल्लो समय सुहृद टीकापुरका युवाको समन्वयमा केराको रेसा निकाल्ने र विभिन्न सामग्री बनाउनेबारे अध्ययन गरिरहेका छन् । पहिले केराको रेसा हस्तकलाको सामग्री बनाउन मात्रै प्रयोगमा आउँथ्यो । अब त्यसबाट ब्याग, टिसर्ट लगायत कपडा बनाउन प्रयोग सकिने उनी सुनाउँछन् । ‘पहिला यस्तो रेसा प्रतिकिलो १०० रुपैयाँमा बिक्थ्यो । तर केमिकल इन्जिनियरलाई अध्ययन गर्न लगाउँदा धेरै राम्रो क्वालिटीको रेसा पाइयो । अहिले किसानसँग ३०० रुपैयाँमा खरिद गरेर कपडा बनाउन प्रयोग हुन्छ,’ उनले भने ।

यस्तै उनले बेसारबाट तेल निकाल्नका लागि अध्ययन गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप