आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय
खेलकुद

सोमपाल नायक बन्दा नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो

आइतबार, ०४ कात्तिक २०८१, ०९ : ४४
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । नेपालले दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतबार अमेरिकालाई सुपर ओभरमा हराएको छ । जितसँगै नेपालले तीन खेलको शृङ्खला पनि आफ्नो पक्षमा पारेको छ ।

यसअघि खेलिएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो । तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेल भने सोमबार विहान खेलिने छ ।

सुपर ओभरमा घरेलु टोली अमेरिकाले दुई विकेट गुमाएर दुई रनमात्र बनाउन सक्यो । नेपालले चार बलमै कुनै पनि विकेट नगुमाई विजयलक्ष्य पुरा गर्‍यो ।

नेपालको जितमा सोमपाल कामी नायक बने । खेललाई सुपर ओभरसम्म पुर्‍याउन र सुपर ओभरमा नेपाललाई जित दिलाउन उनको भूमिका महत्त्वपूर्ण रह्यो ।

सुपर ओभरको पहिलो र दोस्रो बलमा अमेरिकाले एक–एक रन लियो । तेस्रो बलमा सोमपालले सायान जहांगिरलाई बोल्ड गरे । चौथो बलमा सोमपालले एरोन जोन्सलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए ।

सुपर ओभरमा नेपालका लागि पहिलो बलमा रोहित पौडेलले एक रन लिए । दोस्रो बलमा कुशल भुर्तेलले एक रन लिए । तेस्रो बलमा रन बनेन । चौथो बलमा कप्तान रोहितले एक रन लिए ।

rohit

त्यसअघि टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७० रनको सम्मानजनक स्कोर तयार पारेको थियो ।

ठुलो  विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले पनि निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ७० रनमात्र बनाउन सक्यो । त्यसपछि खेल सुपर ओभरमा गएको थियो ।

अन्तिम ओभरमा अमेरिकालाई जितका लागि सात रन आवश्यक थियो । तर, सोमपालले अन्तिम ओभरमा किफायती बलिङ गर्दै खेललाई सुपर ओभरतर्फ डोर्‍याएका थिए ।

पहिले उनले क्रिजमा जमिसकेका अमेरिकी ब्याट्सम्यान आन्द्रेस गौसको विकेट लिए । अमेरिकालाई अन्तिम एक बलमा जितका लागि केवल दुई रन आवश्यक थियो । तर, अन्तिम बलमा जसदीप सिंह रन आउट भए ।

त्यसअघि, नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट अर्धसतकीय पाली खेलेका थिए । कुशलले अजिजित ९२ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ५४ बलको सामना गरी ६ छक्का र सात चौका पनि हिर्काए । २७ वर्षीय कुशल केवल केवल आठ रनका कारण दोस्रो टी–२० अन्तर्राष्ट्रिय सतक पुरा गर्नबाट चुके । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलले बनाएको यो नवौँ अर्धसतक हो । नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल साहले पनि २५ रनको योगदान गरे । उनले ३१ बलमा एक छक्का र दुई चौका प्रहार गरेका थिए ।

गुल्सन झाले १९ र कप्तान रोहित पौडेलले १८ रन बनाए । ओपनरसमेत रहेका विकेटकिपर ब्याट्सम्यान आसिफ शेख एक रनमै पेभेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी पनि दुई रन बनाउँदै आउट भएका थिए । आरिफ शेख एक रनमा आउट भए । करण केसी ६ रनमा अविजित रहे ।

अमेरिकी टोलीका बलर जसदीप सिंह र नोसतुस केन्जिगेले दुई–दुई विकेट लिए । सौरभ नेत्रवाल्करले पनि एक विकेट हात पारे । सुपर ओभरमा पनि नेत्रवाल्करले नै बलिङ गरेका थिए । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाका लागि आन्द्रेस गौसले अर्धसतकीय पाली खेले ।

विकेटकिपर ब्याट्सम्यान गौसले ६२ रन बनाए । उनले ४३ बलमा चार छक्का र तीन चौका हिर्काए । ३० वर्षीय गौसले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो छैटौँ अर्धसतक हो । ओपनर ब्याट्सम्यान साइतेजा मुक्कमलले पनि ४७ रन बनाए । उनले ४१ बलमा तीन छक्का र दुई चौका प्रहार गरे ।

अमेरिकाले केवल चार रनको कुल स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको थियो । कप्तानसमेत रहेका ओपनर मोनांक पटेल केवल एक रनमा आउट भएका थिए । त्यसपछि साइतेजा र गौसले टोलीको स्कोरलाई ९६ रनको स्थितिसम्म पुर्‍याएका थिए ।

अर्का अमेरिकी ब्याट्सम्यान एरोन जोन्स भने सात रनभन्दा अगाडि बढ्न सकेनन् । मिलिन्द कुमार पनि १५ रन बनाउँदै पेभेलियन फर्किए । सायान जहागिर पनि १४ रन बनाउँदै आउट भए । हरमित सिंह दुई रनमै आउट भए ।

circket2

नेपाली टोलीका बलर करण केसीले तीन विकेट हात पारे । सोमपाल कामीले पनि दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी र सागर ढकालले पनि एक–एक विकेट कुम्ल्याए । अमेरिकाले अतिरिक्त रुपमा पनि १४ रन पाएको थियो ।

लिग–२ प्रतियोगिता भने एकदिवसीय ढाँचामा हुनेछ । लिग–२ शृङ्खला भने अक्टोबर २५ तारिखदेखि सुरु हुनेछ । अमेरिकामा खेलिने लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलामा नेपाली टोलीबाट सुधारिएको प्रदर्शनको आशा गरिएको छ ।

लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खलामा नेपाली टोलीले आयोजक अमेरिका र स्कटल्यान्डको सामना गर्नेछ । यी दुबै राष्ट्रसँग नेपालले दुई–दुई खेल खेल्नेछ । शृङ्खलाको पहिलो खेल अक्टोबर २५ तारिखमा अमेरिका र स्कटल्यान्डबिच खेलिने छ ।

नेपालले भने अक्टोबर २७ तारिखमा आफ्नो पहिलो खेल अमेरिकासँग र अक्टोबर २९ तारिखमा दोस्रो खेल स्कटल्यान्डसँग खेल्नेछ । नेपालले तेस्रो खेल नोभेम्बर २ तारिखमा अमेरिकासँग र चौथो तथा अन्तिम खेल नोभेम्बर ४ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । लिग–२ शृङ्खला सकिएलगत्तै सहभागी तीन राष्ट्रबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । तर, टी–२० अन्तर्राष्ट्रिय शृङ्खला भने लिग–२ को अङ्ग होइन ।

sompal2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप