रुस युक्रेन युद्ध र यसको सम्भावित भविष्य
२०२२ फेब्रुअरी २४ का दिन रसियाले युक्रेनमा विशेष सैन्य अप्रेसन सुरु गर्यो । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता प्राप्तिका लागि युक्रेनको निरन्तर प्रयास र रुसको कडा चेतावनीका बिचमा रुसले विशेष सैन्य अप्रेसन सुरु गरेको थियो, जुन हालसम्म जारी छ ।
रुसले युक्रेनलाई उक्त संगठनमा सामेल नहुन भनेको थियो । रुसको राष्ट्रिय सुरक्षा र सम्प्रभुतामा कतैबाट पनि आँच आउने स्थिति भएमा जुनसुकै कदम चाल्न सक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निरन्तर चेतावनीलाई युक्रेनी राष्ट्रपतिले बेवास्ता गर्नु नै आजको स्थितिको प्रमुख कारण थियो ।
रुस–युक्रेन युद्धले अहिलेको विश्वको आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक नक्सामा व्यापक फेरबदल आउन सक्ने विश्लेषण भइरहेकै छ । यो युद्धको साढे दुई वर्षको अवधिमा विकसित घटनाक्रम र विश्वभरिको तीव्र ध्रुवीकरण हेर्दा तेस्रो विश्वयुद्धको सम्भावना समेत देखिन्छ ।
प्रथम विश्वयुद्धको समाप्तिपछि सन् १९२२ मा रुस–युक्रेनसहित १५ वटा समाजवादी गणतान्त्रिक मुलुकहरू मिलेर सोभियत युनियनको स्थापना भएको थियो । यता, सामूहिक सुरक्षा प्रदान गर्ने उद्देश्यका साथ संयुक्त राज्य अमेरिकाको नेतृत्वमा क्यानडा र धेरै पश्चिमी युरोपेली राष्ट्रहरू समावेश गरेर सन् १९४९ मा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को स्थापना गरिएको थियो ।
स्थापनाको प्रारम्भिक चरणमा नेटोले दोस्रो विश्वयुद्धमा थिलथिलो परेका युरोपेली मुलुकहरू (जस्तै : बेलायत, जर्मनी, फ्रान्स लगायत) लाई आर्थिक रूपमा सबल बनाउन जोड दियो, ताकि यी देशलाई सोभियत युनियनको बढ्दो गतिविधिमा नियन्त्रण गर्न प्रतिरोधी पर्खालका रूपमा प्रयोग गर्न सकियोस् । त्यससँगै संयुक्त राज्य अमेरिकाले आर्थिक रूपमा बलियो र एकीकृत युरोपलाई कम्युनिस्ट विस्तारको रोकथामका लागि महत्त्वपूर्ण ठान्यो । त्यसका लागि अमेरिकी राज्यसचिव जर्ज मार्सलले युरोपलाई ठुलो मात्रामा आर्थिक सहायताका कार्यक्रम प्रस्ताव गरे । जसको परिणामस्वरूप युरोपेली ‘रिकभरी प्रोग्राम’ नामको ‘मार्सल प्लान’ले युरोपको आर्थिक एकीकरणलाई मात्र सहयोग पुर्याएको थिएन, अमेरिका र युरोपका बिचमा राजनीतिक, सैन्य र आर्थिक शक्तिका सम्बन्धमा साझा चासो र सहयोगको विचारलाई थप बढावा दियो ।
सोभियत संघले उक्त ‘मार्सल प्लान’मा भाग लिन अस्वीकार गर्यो, जसको फलस्वरूप समग्र युरोपमा पूर्व र पश्चिमबिचको सामरिक विभाजनलाई बलियो बनाउन मद्दत पुग्यो ।
सन् १९९१ मा सोभियत संघको पतन भयो र युक्रेनले आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गर्यो । यसले रुस र युक्रेनबिच विशेष गरी युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई लिएर तनाव निम्त्यायो । नेटोको बढ्दो प्रभाव र युरोपेली ‘मार्सल प्लान’को कार्यान्वयनमा तीव्रता आएपछि युक्रेनमा रुस समर्थक र युरोपेली संघ समर्थक समूहबिच वैचारिक रूपमा गहिरो विभाजन निम्तियो । धेरै युक्रेनीको पश्चिम (नेटो र ईयु)सँग एकीकरण गर्ने इच्छा रुससँग घर्षणको स्रोत बनेको छ, जसले युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रभित्रका रूपमा हेर्छ । रुस लामो समयदेखि नेटोको पूर्र्वी विस्तारका बारेमा चिन्तित थियो । युक्रेनको नेटोमा सामेल हुने इच्छालाई औपचारिकता नभए पनि रुसले आफ्नो राष्ट्रिय सम्प्रभुताका लागि गम्भीर खतराका रूपमा हेरेको थियो । नेटोप्रति युक्रेनले राखेको प्रतिबद्धतालाई राष्ट्रपति पुटिन लगायत रुसी नेताले रुसको ढोकामा पश्चिमी सैन्य बल खडा गर्ने माध्यमका रुपमा हेरेका थिए । नेटो र यसका सदस्य राष्ट्रले युक्रेनलाई नेटोमा समावेश गराउनेबारे नेटोको सन् २००८ को ‘बुखारेस्ट’ शिखर सम्मेलनमा घोषणा गरेका थिए, जहाँ युक्रेनको भावी नेटो सदस्यताको वाचा गरिएको थियो । यसको प्रतिक्रिया स्वरूप रुसी राष्ट्रपति पुटिनले युक्रेन नेटोमा सामेल भएमा क्रिमिया र उसका बाँकी पूर्वी क्षेत्रहरू समेत गुमाउन सक्ने चेतावनी दिएका थिए ।
त्यस्तै, सन् २०१४ मा एक महत्त्वपूर्ण क्षण आयो, जब युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचको नेतृत्वमा युक्रेनी सरकारले ठुलो ईयु व्यापार सम्झौतालाई अस्वीकार गर्यो, यसको प्रतिरोधस्वरूप युक्रेनमा ठुलो विरोध फैलियो र जसको फलस्वरूप उनी पदच्युत भए । यानुकोभिचको सत्ता बहिर्गमनपछि रूसले सन् २०१४ मा युक्रेनविरुद्ध एक महत्त्वपूर्ण कदम चाल्दै दक्षिणी युक्रेनको प्रायद्वीप क्रिमियालाई रुसमा गाभ्यो । क्रिमियामा रसियन मूलका नागरिकको जीवनरक्षा तथा उनीहरूको दीर्घकालीन संरक्षणका निम्ति जनमत संग्रहको आयोजना गरेर यसलाई औचित्य साबित गर्यो । यद्यपि रुसको यो कदमलाई युक्रेन र धेरै अन्तर्राष्ट्रिय समुदायले गैरकानुनी भन्दै कडा निन्दा गरे ।
केही साताअगाडि पुटिनले भनेका थिए कि कुस्र्क घुसपैठपछि युक्रेन, नेटो, अमेरिका कुनै पनि देशले युद्धविरामसम्बन्धी अब गर्ने मध्यमार्गी प्रस्तावहरू रुसका लागि खतरनाक मानिनेछ । त्यो खतरा रुसको हारको संकेत हुनेछ । यस्तो अवस्थामा रुस संसारमा नरहेको बराबर मानिनेछ । रुस रहँदैन भने यो संसारमा कोही पनि रहँदैन ।
क्रिमियाको विलय रुस–युक्रेन सम्बन्धमा एउटा टर्निङ प्वाइन्ट थियो, जसले फराकिलो द्वन्द्वको चरण तय गर्यो । क्रिमियाको विलयपछि रुस समर्थक पृथकतावादीले रुसी समर्थनका साथ पूर्वी युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रका केही भागमा स्वतन्त्रताको घोषणा गरे । जसले युक्रेनी सेना र पृथकतावादीबिच चलिरहेको लडाइँलाई थप हौसला प्रदान गर्यो । यस संघर्षमा रुसले पृथकतावादीलाई हतियार र सेना आपूर्ति गरेको आरोप युक्रेन र पश्चिमाले रुसलाई लगाउँदै आएका छन्, तर रुसले प्रत्यक्ष संलग्नता अस्वीकार गर्दै आएको छ ।
सन् २०१४ पछि नेटोको विस्तार रोकिएको तर्कका बाबजुद पश्चिमले युक्रेनको सेनालाई निरन्तर तालिम दिँदै नेटो सम्बन्धलाई अझ गहिरो बनाउँदै गयो, जसले रूसलाई थप आक्रोशित बनायो । नेटोको निरन्तर प्रयासले २०२१ सम्म युक्रेनको सेना राम्रोसँग सुसज्जित र प्रशिक्षित भइसकेको थियो । त्यसको बलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला रूपमा नेटोको विस्तारलाई समर्थन गर्दै रूससँगको सम्बन्धलाई थप तनावपूर्ण बनाए । नेटोको विस्तार रोक्न पुटिनले युक्रेनमा विशेष माग गरेका थिए, जुन पश्चिमले बेवास्ता गर्यो । यसले युक्रेनको सिमानामा रुसको सैन्य निर्माण र अन्ततः २०२२ मा रुसको विशेष सैन्य अप्रेसनलाई निम्त्यायो ।
करिब ३० प्रतिशत रसियनभाषी बसोबास गर्ने युक्रेनलाई रुसी राष्ट्रपति पुटिनले ‘रूसी भाषा बोल्ने मानिसहरूको सुरक्षा’को मिसनका रूपमा व्याख्या गरे । साथै, उनले युक्रेन र रुस सांस्कृतिक र ऐतिहासिक रूपमा अभिन्न रूपले जोडिएका छन् भन्ने दाबीहरू गर्दै आएका छन् । युक्रेन रूसको प्रभाव क्षेत्रको हिस्सा हुनुपर्छ भन्ने पुटिनको दृष्टिकोण व्यापक रूपमा विवादित छ । धेरै विश्लेषकले पुटिनले रुसी शक्तिलाई पुनः स्थापित गर्न र युक्रेनलाई पश्चिमतर्फ जानबाट रोक्न खोजिरहेको भन्ने विश्वास गर्छन् ।
अमेरिका तथा युरोपेली मुलुकले पुटिनको कदमलाई ‘अरूको स्वतन्त्रता र अस्तित्व स्वीकार नगर्ने, लोकतान्त्रिक प्रणालीको खिल्ली उडाएको र व्यक्तिगत साम्राज्यवादी महत्त्वाकांक्षा’ भनेर विश्लेषण गरिरहेका छन् । युक्रेनलाई आफ्नो सुरक्षा गर्न पाउने अधिकार रहेको र त्यसका लागि नेटो तथा अमेरिकाले युक्रेनलाई सबै प्रकारले सहयोग गर्न तयार रहेको उनीहरुले बताइरहेका छन् । यस्ता वर्षाैंदेखिका परिदृश्यका बिच युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कमजोर कूटनीतिक क्षमताका कारण यो युद्धको जन्म भएको भन्न सकिन्छ ।
रुस–युक्रेन युद्ध सुरु भएसँगै विश्व समुदायले अनुमान गरेका थिए— यो युद्ध लामो जाँदैन । तर ती अनुमान विपरीत युद्ध अगाडि बढिरहेको छ । रुस र युक्रेनबिचको राजनीतिक तथा कूटनीतिक सम्बन्धको इतिहास नबुझेका मानिसले भनेका थिए कि रुसले ४८ घण्टाभित्र युक्रेनलाई कब्जा गर्छ ।
पश्चिमी देशहरू तथा नेटोले ठानेका थिए— युक्रेनले रुसको सामना गर्दै अन्ततः रुसलाई घुँडा टेकाउँछ । तर सुरुवाती चरणबाटै रुसले आफ्नो र विश्व भू–राजनीतिक परिस्थितिको मिहीन विश्लेषण गरेर युद्ध लडेको देखिन्छ । रुसले आफ्ना बयानमा युक्रेनलाई कब्जा गर्न नचाहेको, तर नेटोद्वारा सुसज्जित हातहतियार निष्क्रिय पार्ने र उसलाई नेटो तथा युरोपेली युनियनमा आबद्ध हुन नदिने आफ्नो लक्ष्य रहेको बताएको छ ।
अर्कोतिर युक्रेनको छटपटी अत्यन्तै तीव्र छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो प्रतिरक्षाका लागि पश्चिमी र युरोपेली देशहरूलाई हारगुहार गरिरहेका छन् । कहिले धम्की दिँदै त कहिले भावावेश व्यक्त गर्दै आफू र आफ्नो देशलाई बचाउन अमेरिका र नेटो सम्बद्ध देशहरू समक्ष झुकेका छन् र सहयोग प्राप्त गर्न जुनसुकै तहसम्म जान तयार देखिएका छन् । यसमा जेलेन्स्की केही हदसम्म सफल भएका छन् । खासगरी अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले ठुलो मात्रामा युक्रेनलाई हर–तरिकाबाट सहयोग गरिरहेका छन् । युद्धको सुरुवातदेखि नै दुवैतर्फ सैनिक र गैरसैनिक गरी हजारौँ मानिसको मृत्यु भइसकेको र लाखौँ मानिस विस्थापित भइसकेका छन् । गत अगस्ट ६ मा युक्रेनी सेनासहितको सैनिक जत्थाले रुसको कुस्र्क क्षेत्रमा प्रवेश गरेर रुसभित्र आक्रमण तीव्र पार्दा यो युद्ध नयाँ तर जटिल मोडमा पुगेको देखिन्छ ।
सुरुवाती केही दिनमा करिब १२६३ वर्ग किलोमिटर क्षेत्रफल रुसी भू–भाग कब्जा गरेको युक्रेनले कुस्र्क घुसपैठका लागि उसका सहयोगी राष्ट्रलाई समेत कुनै सूचना नदिएको हल्ला मच्चिएको थियो, तर अमेरिकी लगायत नेटो देशका लडाकुले आफू कुस्र्क क्षेत्रमा लडिरहेको देखाउने भिडियोहरू बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेसँगै ती दाबीहरू उदाङ्गो परेका छन् । त्यो घुसपैठका लागि प्रयोग भएका हातहतियार र गोली–गट्ठा समेत अमेरिकी र युरोपेली देशमा बनाइएका आधुनिक र शक्तिशाली थिए । १२ हजार सेनाको संयुक्त जत्थाले गरेको घुसपैठले झन्डै एक लाख १० हजार मानिस उक्त क्षेत्रबाट विस्थापित भए, जुन कार्य रुस सरकारले नै गरेको थियो । युक्रेनी राष्ट्रपति लगायत पश्चिम र नेटो देशहरूले यस घटनाबाट रुस आत्तिने र युद्धविरामका लागि आफैँ मध्यमार्गी प्रस्तावमा सहमत हुने भन्ने रटान लगाए पनि रुस झन् शान्त र उच्च किसिमको योजना बनाएर बसिरह्यो र अब युद्धविरामका लागि आफ्ना सर्तबाहेक कुनै पनि सर्त मान्य नहुने बयान जारी गर्यो । यसले युक्रेनसँगै पश्चिम र नेटोलाई झनै तनावको स्थितिमा पुर्यायो ।
यसैबिच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका र बेलायतमा बनेका र उनीहरूका स्याटेलाइटको माध्यमबाट चल्ने लामो दूरीका घातक हातहतियारको प्रयोग गरेर रुसमा आक्रमण गर्ने र रुसलाई थप क्षति पुर्याउने प्रस्ताव अमेरिका समक्ष राखे । जेलेन्स्कीको यो प्रस्तावलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले मौखिक रूपमा सहमति दिने बताए पनि बाइडेनले बेलायती प्रधानमन्त्री केयर स्टार्मरसँग यो लगायत विकसित घटना क्रमलाई कसरी लिने र आगामी रणनीति के बनाउने भन्ने विषयमा गत सेप्टेम्बरमा अमेरिकामा भेटवार्ता गरेर छलफल गरे पनि सार्वजनिक रूपमा कुनै पनि निष्कर्ष निकाल्न सकेनन्, त्यसपछि उनीहरूले अस्पष्ट र अपुरो बयानहरू विश्वसामु जारी गरे ।
एकातिर रुसको कटिबद्ध युद्धनीति र परिपक्व युद्धकला, अर्कोतिर युक्रेनको अर्थतन्त्रमा देखिएको बढ्दो संकट र जनताको व्यापक विरोधका कारण जर्मनी, इटाली लगायत देशले युक्रेनलाई थप सैन्य तथा आर्थिक सहायता प्रदान गर्न नसक्ने बताउँदै आएका छन् । जसको फलस्वरूप अमेरिका र बेलायत पनि अहिले यो युद्ध छिटोभन्दा छिटो अन्त्य होस् भन्ने चाहना बाहिरी रूपमा प्रकट गर्न थालेका छन् ।
यसले के देखाउँछ भने, रुसको सामना गर्न पश्चिम र नेटोलाई निकै कठिन छ र रुस युद्धका सानातिना पराजय वा नोक्सानीका घटनाले विचलित हुँदैन, बरु युद्धलाई परिपक्व ढंगबाट अगाडि बढाउँछ भन्ने नै देखिन्छ ।
पश्चिमबाट रुसमाथि लगाएका विभिन्न नाकाबन्दी र रुसी राष्ट्रपति माथिका धेरैजसो निराधार आरोपले वाक्क परेको रुसले आणविक हतियार प्रयोग गरेर नेटो देशलाई ध्वस्त पारिदिने धम्की पटक–पटक दिँदै आएसँगै आणविक हतियारको प्रयोगसम्बन्धी सिद्धान्तको परिमार्जन गरेर यस युद्धमा हुन सक्ने नेटोका छद्म सहभागिताका सबै प्रकारका बहानालाई पूर्ण रूपमा खारेज गरेको छ ।
मेरिकाले पटक–पटक युद्धविरामका लागि युक्रेन र रुसलाई बाहिरी रूपमा आह्वान गरेको जस्तो देखिए पनि युद्धमा नेटो सेनाको अघोषित प्रत्यक्ष संग्लग्नता र उनीहरूबाट युक्रेनमा भइरहेको हातहतियार आपूर्तिको विषयलाई लिएर युरोपेली देशहरूमा दैनिकजसो प्रदर्शनहरू चर्किन थालेका छन् । यसैबिच आफ्नो राष्ट्रियतामाथि आँच आउने कुनै पनि प्रकारको खतरा कहीँकतैबाट महसुस गर्नासाथ यस्तो खतरा पैदा गर्ने देश वा समूहमाथि रुसले सिधै आणविक हतियार प्रयोग गर्न सक्ने कुरा सार्वजनिक रूपमै प्रस्ट पारिसकेको छ । त्यससँगै रुसले आफ्नो आणविक हतियारको प्रयोगसम्बन्धी सिद्धान्तलाई समेत खुकुलो बनाई परिमार्जन गरेको छ ।
पश्चिमबाट रुसमाथि लगाएका विभिन्न नाकाबन्दी र रुसी राष्ट्रपति माथिका धेरैजसो निराधार आरोपले वाक्क परेको रुसले आणविक हतियार प्रयोग गरेर नेटो देशलाई ध्वस्त पारिदिने धम्की पटक–पटक दिँदै आएसँगै आणविक हतियारको प्रयोगसम्बन्धी सिद्धान्तको परिमार्जन गरेर यस युद्धमा हुन सक्ने नेटोका छद्म सहभागिताका सबै प्रकारका बहानालाई पूर्ण रूपमा खारेज गरेको छ ।
आफ्नो स्वतन्त्रतापछि आर्थिक, सामाजिक तथा राजनीतिक पक्षमा पश्चिम र नेटो देशहरूमा पूर्णनिर्भर रहेको युक्रेन अहिले झनै कमजोर देखिन्छ । युद्ध लम्बिँदै जाँदा युक्रेनको भविष्य झनै अन्धकारमय बन्दै गइरहेको देखिन्छ । युक्रेनको कुल भू–भागको १८ प्रतिशत जमिनसहित उसका रणनीतिक सहर तथा बन्दरगाह कब्जा गरेको रुसले निरन्तर युद्ध लडिरहँदा युक्रेनका आर्थिक गतिविधि पूर्ण रूपमा धराशायी भइसकेका छन् । यो युद्ध लड्नका लागि उसले आफ्नो ५० प्रतिशत कृषियोग्य भूमि पश्चिमी व्यापारीलाई बेच्न बाध्य भएको छ । देशको मुख्य सेनाको बल समाप्त भइसकेको छ, युद्धभूमिमा साधारण तालिम दिइएका मानिस बन्दुक समातेर लड्न बाध्य भएका छन् ।
पश्चिमी देशका आन्दोलन र मध्यपूर्वको तनावका कारण अब पश्चिमी देशले लामो समयसम्म यो युद्धलाई थेग्न सक्ने देखिँदैन । कुस्र्कमा फसेका युक्रेनी तथा नेटो सेना अब त्यहाँबाट फिर्ता हुन लगभग असम्भव देखिन्छ ।
१७ अक्टोबर २०२४ मा युक्रेनी संसद्मा राष्ट्रपति जेलेन्स्कीको भिक्ट्री प्लान पेस भयो । यस योजना उनले यसअघि नै अमेरिका र युरोपेली देशसमक्ष प्रस्तुत गरेका थिए । लामो दूरीका हतियार प्रयोगको अनुमति, संयुक्त सैन्य कारबाही, कुश्र्कमाथिको नियन्त्रण कायम राख्ने, युद्धविराम र त्यसपछिको पुनर्निर्माणजस्ता मुख्य विषयलाई योजनामा समेटिएको छ । जसमा रुसको चेतावनीका कारण जेलेन्स्कीले अमेरिका र युरोपेली देशहरूबाट यसमा सकारात्मक प्रतिक्रिया पाउन सकेका छैनन् । अमेरिका तथा युरोपको आर्थिक मन्दी र यस युद्ध सुरु भएदेखि रुसको जीडीपीको उकालो यात्राले संकेत गर्दछ कि अब रुसलाई कुनै पनि किसिमले हराउन सम्भव छैन । त्यसो त रुसले कहीँकतैबाट सहयोग नलिई युद्ध लडेको भन्नु गलत हुन्छ ।
युद्धको सुरुवातदेखि नै राष्ट्रपति पुटिनले आफ्ना मित्र राष्ट्रहरूको भ्रमण गरेर युद्धमा आवश्यक सहयोगका लागि आह्वान गर्दै दीर्घकालीन रूपमा विश्वभरिबाट पश्चिमी हस्तक्षेप अन्त्यका लागि महत्त्वपूर्ण योजना बनाउँदै सम्झौता गरेका छन् । जसले गर्दा राजनीतिक, वैचारिक र सामरिक रूपमा एकरूपता भएका रुस, चीन, उत्तरकोरिया, इरान लगायत देश सबै प्रकारको लडाइँका लागि तयारी अवस्थामा रहेको बुझ्न सकिन्छ र सम्झौता अनुरूपका सबै प्रकारका सहयोग रुसले पाइरहेको बुझ्न सकिन्छ । उत्तर कोरियाको दक्षिणप्रतिका गतिविधिहरू, चीनको ताइवानप्रतिका गतिविधिहरू र इरानको इजरायलमाथिका आक्रमणहरु यसका उदाहरण हुन् ।
अहिले अमेरिकाले युरोपेली युनियन र नेटोको प्रयोग गरेर युक्रेनमा थप सैन्य सहायता र पुँजी प्रवाह गरिरहेको छ । आफ्नो लगानी र आफ्नो देशका धनाढ्यहरूको सम्पत्ति बचाउन ऊ यस युद्धको अन्तसम्म लतारिनुपर्ने बाध्यतामा पनि छ । युक्रेनको डोनबास क्षेत्र, जहाँ बहुसंख्यक रसियन भाषीहरू बसोबास गर्छन् र जसले रुससँग प्रत्यक्ष सीमा जोडेको छ, लाई ‘बफर जोन’का रूपमा विकास गर्ने अमेरिकी रणनीति नै यस युद्धको प्रमुख कारण हो ।
अमेरिकाको अहिलेको अवस्था हेर्दा उसले यो युद्धमा खुलेर सामेल हुन सम्भव देखिँदैन । किनभने उसले बाहिरी सुरक्षा बजेटको करिब ४० प्रतिशत यही युद्धमा खर्च गरिसकेको छ । बाँकी मध्यपूर्वमा तनाव बढेसँगै इजरायल जोगाउने जिम्मा उसैको छ । त्यसैगरी विश्व बजारको ४० प्रतिशत निर्यातको मार्ग दक्षिण चीन सागरमा आफू रहनका लागि ताइवान जोगाउने जिम्मा पनि उसले लिएको छ ।
युक्रेनलाई नेटोको सदस्य राष्ट्र बनाएर उक्त क्षेत्रमा सैन्य आधार शिविरहरू खडा गरी रुसको सम्प्रभुतालाई चुनौती दिँदै अन्ततः रुसलाई धेरै संख्यामा विभाजन गरी कमजोर बनाउने अमेरिकाको दीर्घकालीन रणनीति नै यस युद्धको अर्काे महत्त्वपूर्ण कारक हो । केही साताअगाडि पुटिनले भनेका थिए कि कुस्र्क घुसपैठपछि युक्रेन, नेटो, अमेरिका कुनै पनि देशले युद्धविरामसम्बन्धी अब गर्ने मध्यमार्गी प्रस्तावहरू रुसका लागि खतरनाक मानिनेछ । त्यो खतरा रुसको हारको संकेत हुनेछ । यस्तो अवस्थामा रुस संसारमा नरहेको बराबर मानिनेछ । रुस रहँदैन भने यो संसारमा कोही पनि रहँदैन ।
पुटिनको यो भनाइले यो देखाउँछ कि रुस अब संसारको जुनसुकै शक्तिसँग पनि आवश्यक परेमा युद्ध लड्न तयार छ र यो युद्ध रुसले नजितेसम्म रोकिँदैन । युद्धको स्वरूप आणविक नै हुनेछ । यस अवस्थामा अमेरिका सामु मुख्य दुईवटा विकल्प रहन सक्छन् : पहिलो, युक्रेनलाई विभिन्न आरोप लगाएर युद्धबाट भाग्ने । अर्काे, रुससँग आफ्नो सम्पूर्ण सामथ्र्य लगाएर युद्ध लड्ने ।
अमेरिकाको अहिलेको अवस्था हेर्दा उसले यो युद्धमा खुलेर सामेल हुन सम्भव देखिँदैन । किनभने उसले बाहिरी सुरक्षा बजेटको करिब ४० प्रतिशत यही युद्धमा खर्च गरिसकेको छ । बाँकी मध्यपूर्वमा तनाव बढेसँगै इजरायल जोगाउने जिम्मा उसैको छ । त्यसैगरी विश्व बजारको ४० प्रतिशत निर्यातको मार्ग दक्षिण चीन सागरमा आफू रहनका लागि ताइवान जोगाउने जिम्मा पनि उसले लिएको छ । अमेरिका रुससँग युद्ध लड्ने मानसिकता बनायो र युद्धमा होमियो भने तेस्रो विश्वयुद्ध नै हुनेछ, जुन अत्यन्तै भयानक र डरलाग्दो हुनेछ । यद्यपि मर्ने डर अमेरिकालाई पक्कै पनि रुस र यसका गठबन्धनका देशभन्दा बढी हुनेछ र त्यसैले अमेरिका युद्धमा होमिनेछैन ।
अमेरिकाले आफ्नो हालसम्मको भूमिका यथावत् राख्ने वा अहिलेभन्दा कमजोर रहने अवस्था आउँदा नेटो र युरोपेली देशले सहजै टाउको थापेर अगाडि बढ्ने स्थिति देखिँदैन । यस प्रकारको अवस्थामा रुसले यो युद्ध लगभग जितिसकेको स्थितिलाई बताउँछ । विशेष रूपमा जर्मनी, फ्रान्स, इटली लगायत शक्तिशाली नेटो सदस्य राष्ट्रहरूमा हाल भइरहेका प्रदर्शनले अमेरिकी प्रभुत्वको विरोध गर्दै युरोपेली जनताले अमेरिकी दबाबबाट मुक्ति खोजिरहेको प्रस्ट पार्छ ।
(प्रस्तुत आलेखमा आएका धारणाहरु लेखकका निजी हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संक्रमणकालिन न्याय : यी हुन् दुई आयोगमा आवेदन दिनेहरू (सूचीसहित)
-
प्रधानमन्त्री ओली किन पर्छन् पटकपटक विवादमा ?
-
मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका सरोजका परिवारले बुझे शव
-
तिहार मनाउने खर्चको जोहो गर्न राउटे पोखरामा
-
भारतीय सेना प्रमुख द्विवेदीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्दै
-
पार्टीप्रति आक्रोश बढेको रास्वपाको निष्कर्ष : कस्तो हो आन्दोलनको नयाँ स्वरूप ?