आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय
इजरायल-हमास द्वन्द्व

सिनवार मारिएपछि अब हमासको नेतृत्व कसले गर्ला ?

आइतबार, ०४ कात्तिक २०८१, ०३ : ५८
आइतबार, ०४ कात्तिक २०८१

काठमाडौँ । इजरायली आक्रमणमा परी हमासका प्रमुख मारिएपछि अब हमासको नेतृत्व कसले गर्ला ? गाजामा जारी युद्धविराम होला वा नहोला ? भन्ने सर्वत्र चासो छ । 

गाजामा युद्धविराम हुने वा नहुने भन्ने विषय समेत हमासको नयाँ नेतृत्वकै हातमा निर्भर हुने देखिन्छ । नयाँ नेतृत्वमा हमासमा चर्चा सुरू भइसकेको छ । 

अधिकारीहरूका अनुसार हमासका नेताहरूमध्ये वरिष्ठताका आधारमा खलील अल हाया समूहको प्रमुख चयन हुने सम्भावना छ । उनी यसअघि सिनवारको सहायकका रुपमा कार्यरत थिए ।

हाल उनी कतारमा छन् । हायासँग हमासको नेतृत्व गर्ने र युद्धविरामलगायत वार्ता र समन्वयका लागि समेत राम्रो ज्ञान भएको अधिकारीहरूको दाबी छ । 

सिनवार यसअघि गतवर्ष अक्टोबर ७ को हमलाका मुख्य योजनाकार थिए ।  चरमपन्थी नेता सिनवार नेतृत्वमा भएकै कारण यसअघि युद्धविरामका लागि भएका प्रयासहरू असफल थिए । तर हमासले भने सिनवारको मृत्युपछि पनि युद्धविरामका लागि सर्तहरूमा फेरबदल नहुने दोहोर्‍याएको छ । 

यसअघि हमासले गाजाबाट इजरायलीहरूको फिर्ता, शत्रुताको अन्त्य, मानवीय सहायता हस्तान्तरण, र युद्धग्रस्त क्षेत्रको पुनर्निर्माणको सर्त राख्दै आएको छ ।

इजरायलले भने हमासले आत्मसमर्पण गर्नुपर्ने भन्दै आएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई आफ्नो हतियार त्याग्न र आत्मसमर्पण गर्न आह्वान गरेका थिए । तर हमासले भने आत्मसमर्पण असम्भव रहेको भनेको छ । 

हमासका एक अधिकारीले अन्तिम गोली रहँदासम्म लडिरहने दाबी गरे । शक्तिशाली राष्ट्रहरूसहित अन्तर्राष्ट्रिय समुदायले गाजामा युद्धविरामका लागि आह्वान गरिरहेका बेला अब हमासको नेतृत्वमा को आउने र उसले कस्ता अडान लिने भन्नेबारे सर्वत्र चासो छ । 

गतवर्ष अक्टोबर ७ को आक्रमणमा कम्तीमा १२ सय इजरायली सर्वसाधारणको मृत्यु भएको थियो । तर त्यसयता जवाफ कारबाहीमा इजरायलले गाजामा कम्तीमा ४२ हजारभन्दा धेरै सर्वसाधारणको हत्या गरिसकेको छ । इजरायलले गरिरहेको बमबारी अझैसम्म पनि रोकिएको छैन । 

सम्बन्धित समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप