आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

महाशिलामा सात करोडका पर्यटकीय पूर्वाधार निर्माण

शनिबार, ०३ कात्तिक २०८१, २३ : ३०
शनिबार, ०३ कात्तिक २०८१

पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला (ढु्ङ्गा)मा सात करोडको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ ।

सडकमार्गको पहुँचसँगै महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको लगानीमा विभिन्न संरचना निर्माण गरिएका हुन् । 

सदरमुकाम कुश्माबजारबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने महाशिलामा रहेको यो ठूलो ढुङ्गा स्थानीयस्तरमा मेहलढुङ्गाको नामले परिचित छ ।  यसको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत रु चार करोड १२ लाखको लागतमा पर्यटकका लागि सुविधासम्पन्न आश्रम भवन, स्वामिनारायण गुफा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा महाशिला परिसरमा रु एक करोडको लागतमा एक सय आठ गौमुखी धारा, महाशिला परिक्रमा गर्ने पदमार्ग, मुख्य गुफा तथा पुरानो संरचना संरक्षणलगायत पूर्वाधार तयार गरिएको छ । 

नेपाल पर्यटन बोर्डमार्फत रु ११ लाखको लागतमा ट्रष्ट भवन बनाइएको छ भने गाउँपालिकाले पनि विभिन्न संरचना तथा सडक पूर्वाधारमा लगानी गरेको छ । चालु आर्थिक वर्षमा समेत सङ्घीय मन्त्रालयमार्फत रु एक करोड ५० लाख विनियोजन भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए । 

उनका अनुसार उक्त बजेट महाशिला परिसरमा पर्खाल निर्माण तथा आश्रम भवनमा आवश्यक सामग्री खरिदलगायतमा खर्चिने भएको छ । केही वषअघिसम्म आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको महाशिलामा अहिले धार्मिक, आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउन थालेको अध्यक्ष पौडेलको भनाइ छ । 

लुुङ्खुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायत जिल्लाबाट सिधैँ पर्यटक आउने गरेको स्थानीय सरस्वती अधिकारीले बताए । महाशिला एक पटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्ने किंवदन्ती छ । 

एकपटक घुम्दा १० मिनेटभन्दा बढी समय लाग्छ । यहाँ हरेक एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायत चाडपर्वमा मेला लाग्छ । 

महाशिला गाउँपालिकाको नामकरण यही शिलाको नामबाट गरिएको हो । एक सय ३० मिटर अग्लो शिला झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गासमेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए । 

महाशिला गाउँपालिकाले यसको विकासका लागि रु ७० करोडको गुरुयोजनासमेत बनाएको छ । गुरुयोजनाअनुसार काम अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । सङ्घीय र प्रदेश सरकारसँगको पहलमा गण्डकी प्रदेशकै आकर्षक  पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप