आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : रास्वपाको शक्ति प्रदर्शनदेखि सुर्यदर्शनका बचतकर्तामा जागेको आशासम्म

आइतबार, ०४ कात्तिक २०८१, ०० : ००
आइतबार, ०४ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा भएका मुख्यमुख्य घटनाक्रमसहित रातको १२ बजे रातोपाटीको रात्रिकालीन श्रृंखला ‘रातोपाटी ब्रिफिङ’प्रस्तुत गरेका छौँ :-

१. रविको पक्षमा शक्ति प्रदर्शन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ विरुद्ध पोखरामा शक्ति प्रदर्शन गरिएको छ । केन्द्रीयस्तरका नेतादेखि जिल्ला–जिल्लाबाट कार्यकर्ता उतारेर रास्वपाले पोखरामा शक्ति प्रदर्शन गरेको हो । 

२. सुर्यदर्शनका बचतकर्तामा जाग्यो आशा
पोखराको सूर्यदर्शन सहकारीका पीडितले बचत रकम फिर्ता पाउने आशा गरेका छन् । रास्वपाका नेता कार्यकर्ताहरूले रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको आरोप लगाइरहँदा सहकारी पीडितहरू भने उनको पक्राउसँगै आफ्नो बचत रकम फिर्ता पाउने आशा बढेको बताइरहेका छन् । 

३. सुस्त गतिमा मिनि संसद्
दशैँ सकिएर संघीय संसदमा कर्मचारीहरू उपस्थित भए पनि सांसदहरू उपस्थित नहुँदा विषयगत समितिहरूको बैठक अगाडि बढ्न सकेको छैन । समितिको बैठक बस्न नसक्दा संसदमा विचाराधीन विधेयकमाथिको छलफल प्रक्रिया रोकिएको छ । यतिबेला संघीय संसद् अन्तर्गतका १४ वटा विषयगत समितिमा १८ विधेयक छलफलका क्रममा छन् ।

४. गोरखकाली रबर उद्योगको कथा
२०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा राजा वीरेन्द्रले शिलान्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवास्थित गोरखकाली रबर उद्योग अहिले जीर्ण बन्दै गएको छ । नेपालको एकमात्र रबर उद्योगको रूपमा स्थापित यस उद्योगले वि.सं. २०५० को दशकदेखि व्यावसायिक रूपमा उत्पादन थालेको भएता पनि हाल पूर्ण रूपमा बन्दको अवस्थामा रहेको छ । 

५. मन्त्रीहरूको सम्पत्ति विवरण गुपचुप !
कर्णाली सरकारले ‘सुशासन’ नामको एउटा पुस्तक नै बनाएको छ, जसमा जवाफदेहिता, पारदर्शिता, उत्तरदायित्व र विधिको शासनलाई प्राथमिकता दिइएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल पनि हरेकजसो कार्यक्रममा सुशासन र पारदर्शिताबारे चर्चा गर्दछन् । तर मन्त्रीहरूले कानुनबमोजिम सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण गुपचुप राखेका छन् । 

६. बागमती सरकारको सम्पर्क कार्यालय काठमाडौँमा 
बागमती सरकारले आफ्ना विभिन्न निकायको सम्पर्क कार्यालय संघीय राजधानी काठमाडौँमा राखेको छ । बागमती प्रदेशमै पर्ने संघीय राजधानी र हेटौंडास्थित प्रादेशिक राजधानीबिच सडकमार्गबाटै करिब चार घण्टाको दुरी छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश लोक सेवा आयोग लगायतले संघीय राजधानी काठमाडौँमा सम्पर्क कार्यालय राखेका छन् ।

७. लुम्बिनीमा सरकार नै अपूरो
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसभित्र मन्त्री छान्ने विषयमा विवाद हुँदा सरकार गठन भएको करिब तीन महिना पुग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषदले पूर्णता नपाउँदा मुख्यमन्त्री चेतनारायण आचार्यले चार वटा मन्त्रालयको भारी बोकिरहेका छन् । उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।

८. जीएन साईबाबाको मृत्यु ‘न्यायिक हत्या’ कि ‘सामान्य मृत्यु’?
शरीरको ९० प्रतिशत अंगमा देखिएको सघन समस्याका कारण आजीवन ह्विलचेयरबाट उठ्न नसकेको एउटा प्राध्यापक र कविको मृत्युले नरेन्द्र मोदी शासित भारतीय लोकतन्त्रलाई कठघरामा उभ्याइदिएको छ । ५७ वर्षअघि आन्ध्र प्रदेशको गरिब किसान परिवारमा जन्मिएका गोकाराकोन्डा नागा साईबाबा अर्थात् जीएन साईबाबाको मृत्यु ‘न्यायिक हत्या’ हो वा ‘सामान्य मृत्यु’ ! बहस यसैमा केन्द्रित छ ।

९. एक हजार कलाकारको सामुहिक धिमे नृत्य

विश्व पर्यटन दिवसको अवसरमा  वसन्तपुर दरबार क्षेत्रमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरिएको छ । शनिबार काठमाडौँ महानगरपालिकाले काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघ तथा विभिन्न स्थानीय संघ संस्थाहरूसँगको सहकार्यमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरेको हो। जसअनुसार १००० जना कलाकारहरूले सामूहिक धिमे नृत्य प्रस्तुति दिएका छन् भने अन्य विभिन्न प्रस्तुति पनि रहेको महानगरपाकिाले जनाएको छ । 

१०. धादिङका शिवहरी रिजालको कथा
धादिङको खनियाँबास–५, सिम्लेडाँडाका शिवहरी रिजाल कुनै बेला ट्रेकिङ कम्पनीमा भरियाको काम गर्थे । तर अहिले उनी आफैँ ट्रेकिङ कम्पनीको मालिका बनेका छन् । उनले सन् २०१६ मा आफ्नै कम्पनी खोले । उनले सञ्चालन गरेको लाइफ हिमालय ट्रेकिङ प्रालिमा हाल ३० जना भरिया, २० जना गाइड र ४ जनाले कार्यालयमा प्रत्यक्ष रोजगारी पाएका छन् । 

११. भीम रावलसँग संवाद
एमालेको नवौँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर उपाध्यक्ष निर्वाचित डा. भीम रावल १०औँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा पराजित भए । त्यसयता रावल–ओली सम्बन्ध सुमधुर बन्न सकेको छैन । पहिले एमाले नेताकोरुपमा निकै चर्चामा रहने रावल अहिले गुमनाम छन् । हामीले रावललाई सोधेका छौँ- एमालेको सिद्धान्त, यसका घोषित नीति, महाधिवेशनबाट पारित दस्तावेजहरू, कार्यक्रम, त्यसको मार्गनिर्देशन बमोजिम नहिड्ने, अनि त्यहीँ बसिरहने गर्न मिल्छ?

१२. तलब बढ्यो
मलेसियाको सरकारले कामदारको न्यूनतम तलब बढाएको छ ।  सन् २०२५ को फेब्रुअरी १ देखि लागू हुनेगरी कारदारको न्युनतम तलब १७०० मलेसिय रिङ्गेट पुर्याएको हो। हाल मलेसियामा न्युनतम १५०० रिङ्गेट तलब छ। प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले नयाँ वर्षको बजेट भाषण गर्दै पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूले १ फेब्रुअरी २०२५ देखि श्रमिकलाई न्युनतम १७०० रिङ्गेट तलब दिनुपर्ने बताएका हुन् ।

 

 

यी पनि : 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप