आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

भैरहवामा बिपी मेमोरियल कप टी–२० क्रिकेट प्रतियोगिता

शनिबार, ०३ कात्तिक २०८१, २२ : ०६
शनिबार, ०३ कात्तिक २०८१

भैरहवा । भैरहवामा आजदेखि बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ सुरु भएको छ । आज भएको पहिलो खेलमा भारतीय क्लब लाइफ केयर क्रिकेट क्लबले पाकिस्तानी क्लबलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानको जावेद इन्टरनेसनल स्पोर्ट्स एकेडमीले निर्धारित २० ओभर पनि खेल्न सकेन । कूल १८ दशमलव १ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै पाकिस्तानले ८९ रन मात्र बनाउन सक्यो । उसका लागि सर्वाधिक रन रिसभ जोशीले बनाए । रिसभले ३१ बलको सामना गर्दै चार छक्का र तीन चौकाको सहयोगमा ४६ रन बनाए ।

यस्तै, पाकिस्तानका अली हुसेनले २५ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कसमेत जोड्न सकेनन् । बलिङतर्फ भारतका रोहित डाङ्गवलले चार ओभरमा १९ रन खर्चिंदै पाकिस्तानको चार महत्वपूर्ण विकेट लिए । भारतकै योगेशकुमार र सक्षमले समान तीन÷तीन विकेट लिए ।

नब्बे रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेका भारतको लाइफ केयर क्रिकेट क्लबले सात दशमलव पाँच ओभरमा एक विकेट गुमाउँदै विजयी भयो । आइपिएल खेलिसकेका भारतीय खेलाडी दीपक पुनियाले भारतका लागि ६४ रनको पारी खेले । उनले २५ बलको सामना गर्दै ६ छक्का र ६ वटा नै चौका प्रहार गरे ।

यस्तै, दिपांशु फोरेले अविजित २१ रन र राजेश शर्माले अविजित दुई रन बनाए । पाकिस्तानका लागि एक मात्र विकेट पाकिस्तानको राष्ट्रिय टोलीमा समेत रहेका इमराननाजिरले लिए । प्रतियोगितामा बङ्गलादेशबाट गुलाज वरियर्स बङ्गलादेश, टाइगर्स इन्टरनेसनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११ रुपन्देही, लाइफ केयर क्रिकेट क्लब भारत, श्रीलङ्का स्टेट सर्विसेज क्रिकेट एसोसिएसनको टोलीको सहभागीता रहेको छ । 

विजयी टोलीलाई रु पाँच लाख र उपविजेता टोलीलाई रु तीन लाख पुरस्कार रहेको छ । यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २० हजार तथा प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ लाई पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता कात्तिक १० गतेसम्म चल्ने छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको स्मृतिमा आयोजित यो प्रतियोगिताले रुपन्देही मात्र नभई नेपालकै क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका निभाउने आयोजकको अपेक्षा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप