आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सूर्यदर्शन सहकारी पीडित भन्छन्– अब पैसा फिर्ता पाइएला भन्ने आशा जगाएको छ

शनिबार, ०३ कात्तिक २०८१, २१ : ५५
शनिबार, ०३ कात्तिक २०८१

पोखरा । पोखराको सूर्यदर्शन सहकारीका पीडितले बचत रकम फिर्ता पाउने आशा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेर अहिले कास्की प्रहरीको हिरासतमा छन् । रविको बचाउका लागि रास्वपाका नेता कार्यकर्ताहरू पोखरा केन्द्रित आन्दोलनमा छन् । 

उनीहरुले लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको आरोप लगाइरहँदा सहकारी पीडितहरूले भने उनको पक्राउसँगै आफ्नो बचत रकम फिर्ता पाउने आशा गरेका छन् । सहकारी पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले रकम फिर्ता पाउने आशामा प्रशासनलाई सहयोग गर्ने गरी आन्दोलनका पूर्वघोषित कार्यक्रम स्थगित गरिएको बताए । 

‘हामीलाई सहकारीले सडकमा ल्याएको २ वर्षभन्दा बढी भयो । यो विषयमा अहिले पोखरा बेस्सरी तातेको छ । हामी पनि तातेका थियौँ,’ उनले भने, ‘तर प्रशासनलाई सहयोग गर्न कार्यक्रम स्थगित गर्‍यौँ । प्रशासनले आन्दोलन प्रदर्शन नगर्नुस् भनेर आग्रह गर्‍यो । नत्र त हाम्रो कार्यक्रम रास्वपाको भन्दा विशाल हुनेवाला थियो ।’ 

उनले सहकारीको सबै घटनाहरू निष्पक्ष छानबिनको माग गरेका छन् । ‘व्यक्ति जो भए पनि निष्पक्ष छानबिन होस् । अनुसन्धान र छानबिनमा सबैले सहयोग गरौँ । एकसय जना दोषी छुटोस् तर एक जना पनि निर्दोष नपरोस्’ उनले अघि भने, ‘कानून अनुसार नै रवि लामिछाने पनि पक्राउ पर्नुभएको होला । गोर्खा मिडिया प्रालिमा गएको बचत हामीले फिर्ता पाउनुपर्‍यो ।’

पीडितहरूले २०८० माघ २२ को पूरक जाहेरी दिएका थिए । उनीहरूकै जाहेरीका आधारमा पूरक अनुसन्धान भएर लामिछानेको समेत संलग्नता देखाएको थियो । सोही प्रतिवेदन कार्यान्वयनको क्रममा संसदीय छानबिन समिति बनेर थप अनुसन्धान भएकोमा विभिन्न सहकारीका ६५ करोड रकम गोर्खा मिडिया प्रालिमा गएको र त्यसको रकम खर्च गर्दा लामिछाने समेत संलग्न रहेको देखाइएको छ । 

सोही प्रतिवेदनका आधारमा प्रालिका सञ्चालक (ग्यालेक्सी फोर के टिभी) छविलाल जोशी यसअघि नै पक्राउ परेर अनुसन्धान भइरहेको छ । यहीबिचमा लामिछाने पनि पक्राउ परेका हुन् । दुवै जनालाई एउटै मुद्दा छ । लामिछानेलाई सङ्गठित अपराध र सहकारीको रकम अपचलन मुद्दामा अनुसन्धान सुरु हुने बताइएको छ । शनिवार परेकाले आइतबार मात्रै उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइने कास्की प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप