शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

गढीमाई मेलामा खानेपानी अभाव हुँदैन : मन्त्री यादव

शनिबार, ०३ कात्तिक २०८१, २१ : ०३
शनिबार, ०३ कात्तिक २०८१

बारा । खानेपानी मन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानीे अभाव नहुने स्पष्ट पारेका छन् । गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्द उनले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताए । 

मन्त्री यादवले ‘ओभरहेड ट्याङ्की’बाट कथम्कदाचित पानीको अपुग हुने अवस्थालाई दृष्टिगत गर्दै ठाउँ ठाउँमा डिप बोरिङको समेत प्रबन्ध गर्ने र यसै साताभित्र केही थान घुम्ती शौचालय मेला व्यवस्थापन समितिलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।  “कुनै प्रकारले शुद्ध खानेपानीको कमी हुन नदिनका लागि प्रदेश सरकार, दातृ तथा सहयोगी संस्थाहरूसँग मेलामा छलफल भइरहेको छ । पानीको निकासका लागि ढल निकास तथा नाला निर्माण, पाइप जडानको काम पनि चाँडै नै सुरु गर्छौं”, उनले भने ।

मन्त्री यादवले मेलाका लागि सरकारको पूर्ण सहयोग रहने बताए । उनले भने, “सहयोग गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मेला समितिका पदाधिकारी तथा गढीमाई नगरपालिका प्रमुखलाई सन्देश दिन मलाई निर्देशन दिइसक्नुभएको छ ।”  

मन्त्री यादवले मेलाको सफलताका लागि स्थानीय नागरिकले विगत वर्षदेखि नै सम्पूर्ण रूपमा सहयोग गर्दै आएकामा प्रशंसा गरे । कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले मेला सफल बनाउन सबैलाई आग्रह गरे । उनले हिन्दूहरूको आस्थामाथि खेलबाड गर्ने, मेलालाई कुनै प्रकारले भाँड्न खोज्नेहरूलाई कानुनको दायरामा ल्याउन शान्ति सुव्यवस्था चुस्त बनाउनुपर्नेमा जोड दिए ।  

मेला समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख तारादेवी कानु, मेला व्यवस्थापन समितिका उपाध्यक्ष रामचन्द्र साह, महासचिव वीरेन्द्र यादवलगायत उपस्थित रहेका थिए । 

यसैबिच, मन्त्री यादवले कलैयास्थित करणराज पार्टी प्यालेसमा जनता समाजवादी पार्टीको जिल्ला भेलालाई सम्बोधन गरे । पार्टीका उपमहासचिवसमेत रहेका मन्त्री यादवले साझा अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याएर समुन्नत मधेस र सुखी मधेसी बनाउने अभियानमा आफूसहित सिङ्गो पार्टी पङ्क्ति जुटेको बताए ।

“साझा अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याएर समुन्नत मधेस र सुखी मधेसी बनाउने अभियानमा आफूहरू जुटेका छौँ”, उनले भने, “जनताको सेवामा निरन्तर क्रियाशील रहँदै मधेससँगै समग्र देशकै समृद्धि र विकासलाई अगाडि बढाउन आफ्नो पार्टी प्रतिबद्ध छ ।”

कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले मधेसको विकास र अधिकारका लागि अझै धेरै सङ्घर्ष गर्नुपर्ने धारणा राखे । उनले भने, “मधेसवासीको अधिकारका लागि हाम्रो सङ्घर्ष जारी छ र अब जसपाले नै परिवर्तनको नेतृत्व गर्नेछ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप