शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

चित्लाङ फुटबल क्लबसँग आयोजक एलएक्ससिटी स्तब्ध

शनिबार, ०३ कात्तिक २०८१, १८ : ३४
शनिबार, ०३ कात्तिक २०८१

बेलबारी । बेलबारीमा जारी आरजु राइस सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक एलएक्ससिटी फुटबल क्लब बाहिरिएको छ । शनिवार भएको खेलमा  चित्लाङ फुटबल क्लब काठमाडौँसँग ३–२ गोलले पराजित हुँदै आयोजक एलएक्स सिटी फुटबल क्लब बेलबारी ११, बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो । 

१४ औँ मिनेटमा सुशील राईको गोलबाट उत्कृष्ट सुरुवात गरेको आयोजक एलएक्ससिटी फुटबल क्लबले ४७ औँ मिनेटमा जवाफी गोल खायो । मिलन राईको पासमा सुरुवाती गोल गरेको आयोजकले शनिवार घरेलु दर्शकको भरपुर समर्थन पाएको थियो ।

चित्लाङ फुटबल क्लब ४७ औँ मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्कियो । विदेशी खेलाडी रोर्वटको पासलाई सदूपयोग गर्दै चित्लाङ फुटबल क्लबका सनम धिमालले उत्कृष्ट गोल गर्दै खेल १–१ गोलको अवस्थामा पुर्‍याए । 

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ६२ औँ मिनेटमा चित्लाङका कार्लोसले वान भर्सेस वानमा सुन्दर गोल गरे । २–१ ले पछि परेको आयोजक विरुद्ध चित्लाङले एकपछि अर्को राम्रो अवसर निकाले पनि चित्लाङका खेलाडी गोल गर्न भने चुकेका थिए । 

७४ औँ मिनेटमा आयोजक एलएक्ससिटी फुटबल क्लबका प्रदीप लामाले बललाई जालीको दिशा दिए । आयोजक एलएक्ससिटीले २–२ गोलको बराबरीलाई २ मिनेट पनि टिकाउन सकेन । ७६ औँ  मिनेटमा चित्लाङका विदेशी खेलाडी हेनरीले निर्णायक गोल गरे । 

आयोजक टिमका प्रदीप लामाले बराबरी गोल गरेको खुसी मनाउन नपाउँदै आयोजक विरुद्ध चित्लाङका खेलाडी हेनरीले गोल गरेपछि आयोजक सातौँ संस्करणको उपाधि होडबाट बाहिरिएको छ । 

शनिवारको खेलमा चित्लाङ फुटबल क्लबका कार्लोस म्यान अफ द म्याच घोषित भए ।  उनलाई  बेलबारी नगरपालिकाका उप प्रमुख नितु थापाले नगद ५ हजार र ट्रफि प्रदान गरिन । आइतबार झापा –११ र भोजपुर फुटबल क्लब भोजपुर बिच खेल हुनेछ । 

प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्ड कप र उप विजेताले ५ लाख नगद र ट्रफि सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप