महमुद दर्विशका तीन कविता

१) धर्तीको कविता
एउटा बोझिल साँझ
कुनै दर्घटित गाउँमा
आउँछन् अर्धमुदित आँखामा
ती तीस वर्षहरू र पाँचओटा युद्ध
म कसम खान्छ कि
आउने समयले सुरक्षित राख्नेछ
मेरो मकैको खेती ।
एउटा गायकले गुनगुनाउँछ
आगो र केही अपरिचितहरूको बारेमा ।
साँझ एउटा अर्को साँझजस्तै छ
र गायकले गुनगुनाउँछ ।
तिनीहरूले उसलाई सोधे—
‘तिमी किन गाउँछौ ?’
उसले जवाफ दियो—
‘म गाउनलाई गाउँछु ।’
तिनीहरूले उसको छाती छामे
तर हृदय मात्रै भेटाए
तिनीहरूले उसको हृदय छामे
तर मान्छेहरू मात्रै भेटाए
तिनीहरूले उसको आवाजको खानतलासी लिए
तर दुःख मात्रै भेटाए
तिनीहरूले उसको दुःखको खानतलासी गरे
तर कैदखाना मात्रै भेटाए
तिनीहरूले कैदखानाको पनि तलासी लिए
तर आफूहरूलाई भेटाए नेल र हतकडीमा ।
००
२) भेट
उसले भनी—
‘हामी कहिले भेट्नेछौँ ?’
मैले भनेँ—
‘युद्ध समाप्त भएको
एक वर्षपछि ।’
उसले सोधी—
‘युद्ध कहिले समाप्त हुन्छ ?’
मैले भनेँ—
‘जब हामी भेट्नेछौँ ।’
००
३) भजन
जुन दिन मेरा कविताहरू
धर्ती थिए
म गहुँको डाँठको साथी थिएँ ।
जुन दिन मेरा कविताहरू
क्रोधित थिए
म नेल र हतकडीको साथी थिएँ ।
जुन दिन मेरा कविताहरू
ढुङ्गा थिए
म सानो नदीको साथी थिएँ ।
जुन दिन मेरा कविताहरू
विद्रोह थिए
म भूकम्पको साथी थिएँ ।
जुन दिन मेरा कविताहरू
तिता स्याउ थिए
म एउटा आशावादी मान्छेको साथी थिएँ ।
तर
जब मेरो कविता मह बन्यो
झिँगाहरूले ढाके मेरो ओठलाई ।
०००
प्यालेस्टिनी कवि दर्विश (१९४१–२००८)का कविताहरुलाई चन्द्र गुरुङले अनुवाद गरेका हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित