शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

परराष्ट्रले चासो नदिँदा माल्टामा कार्यरत नेपालीको पासपोर्ट नवीकरण हुन सकेन

शनिबार, ०३ कात्तिक २०८१, १२ : ५५
शनिबार, ०३ कात्तिक २०८१

काठमाडौँ । परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरणका लागि चासो नदिँदा माल्टामा कार्यरत नेपालीहरू समस्यामा परेका छन् । पासपोर्ट नवीकरणलगायतका सेवाका लागि लागि  घुम्ती टोली पठाउन मन्त्रालयलाई आग्रह गरिएपनि हालसम्म समस्याको समाधान हुन नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए । 

उनका अनुसार माल्टाको अस्थायी आवासीय परिचय पाउनका लागि हरेक वर्ष नवीकरण गराउनुपर्ने हुन्छ । यसरी नवीकरणका लागि पासपोर्टको म्याद ८ महिना बाँकी हुनैपर्ने हुन्छ । तर, नवीकरण गराउन नपाउँदा करिब २०० जना अवैधको हैसियतमा रहनुपरिसकेको उनले बताए ।

 सरकारले समयमा आवश्यक व्यवस्था नगरिदिए छिट्टै कैयन नेपालीलाई समस्या पर्ने अवस्था रहेको उनको भनाइ छ । 

 राहदानी विभागका डीजी तीर्थराज अर्याल सकारात्मक देखिएपनि परराष्ट्रले नै ठोस निर्णय गर्नुपर्ने भएकाले ढिलाइ भएको उनको भनाइ छ । उनले भने, ‘यसबारे परराष्ट्रले तत्काल निर्णय गरेर टोली खटाइदिए समस्याको समाधान हुन्थ्यो । यसबारे हामीले यसअघि नै पत्राचार पनि गरेका थियौँ । तर, रिस्पोन्स हुन सकेको छैन ।’

माल्टालाई नेपाली दूतावास स्पेनले हेर्दै आएको छ । तर, त्यहाँ जनशक्तिलगायतका समस्या रहेकाले तत्काल विभागबाटै टोली खटाइनुपर्ने आफूहरूको धारणा रहेको खनालको भनाइ छ । 

माल्टामा ५ वर्ष काम गरेर बसेपछि अस्थायी आवसायीय सुविधा हुने भएपनि हरेक वर्ष कार्ड रिन्यु गर्नुपर्ने नियम छ । हाल माल्टामा करिब १० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको बताइएको छ । 

समस्याबारे एनआरएनए माल्टाले राहदानी विभागबाट घुम्ती टोली पठाइदिन परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष आग्रह गर्दै सेप्टेम्बर पहिलो साता नै पत्राचार गरेको थियो । 

 विशेष गरी, पासपोर्ट नवीकरण, नयाँ पासपोर्ट आवेदन र अन्य राहदानीसम्बन्धी सेवाहरूको लागि घुम्ती टोलीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको एनआरएनएको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप