शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

जसपा नेपाल लुम्बिनी प्रदेशमा विवाद : अध्यक्ष हुँदाहुँदै कार्यवाहक अध्यक्ष चयन

शनिबार, ०३ कात्तिक २०८१, १२ : २९
शनिबार, ०३ कात्तिक २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशमा विवाद उत्पन्न भएको छ । जसपा नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादव हुँदाहुँदै पार्टीले रामअवतार यादवलाई कार्यवाहक अध्यक्ष बनाएको छ । अशोक यादवले अध्यक्ष पदबाट राजीनामा दिएका छैनन् । पार्टीले पनि कुनै कारबाही गरेको छैन तर उनको ठाउँमा अर्को कार्यवाहक अध्यक्ष बनाएको छ । 

जेठमा सम्पन्न महाधिवेशनलाई लिएर अशोक यादवले पार्टीमा असन्तुष्टि जनाउँदै आएका थिए । उनले महाधिवशेनको विरुद्धमा निर्वाचन आयोगमा मुद्दा दायर गरेका छन् । उनले पार्टी भने छाडेका थिएनन्, न पार्टीले कारबाही नै गरेको थियो । 

तर अर्को कार्यवाहक अध्यक्ष बनाएपछि उनले असन्तुष्टि जनाएका छन् । उनले भने, ‘म पार्टीमा छँदैछु, म कतै गएको छैन, पार्टी पनि छाडेको छैन, पार्टीले कारबाही पनि गरेको छैन तर मेरो ठाउँमा अर्कोलाई कार्यवाहक अध्यक्ष बनाएको छ त्यो कसरी भयो मैले बुझ्न सकेको छैन ।’ 

महाधिवेशनलाई लिएर आफूलाई चित्त दुखेको उनले बताए । आफूले त्यसको कानुनी उपचार खोजी रहेको तर पार्टीले अचानक अर्कोलाई लुम्बिनी प्रदेश समितिको कार्यवाहक अध्यक्ष बनाएकोमा आफूलाई आश्चर्य लागेको उनले बताए । 

पार्टीको विधान र नीति विपरित कार्यवाहक अध्यक्ष बनाएको बताउँदै उनले यसका लागि आफूले न्याय खोज्ने बताए । 

यता, जसपा नेपालका प्रवक्ता मनिष सुमनले अशोक यादवले पार्टी अनुशासन विपरीत कार्य गरेको हुनाले अरूलाई कार्यवाहक अध्यक्ष दिएको बताए । कार्यवाहक अध्यक्ष बनाउने कार्य केन्द्रले नभई लुम्बिनी प्रदेश समितिले गरेको बताउँदै अशोक यादवले पार्टीको अनुशासन विपरीत कार्य गरेको हुनाले त्यही कार्यसमितिको बैठक बसेर कार्यवाहक तोकिएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप