ह्विलचेयरबाटै सत्तालाई हाँक दिइरहेको प्राध्यापक अन्ततः मारियो !
सत्ताधारी वर्गको स्वार्थमा जब कसैले वास्तविक प्रश्न उठाइदिन्छ, तब ह्विलचेयरबाट उठ्न नसक्ने मानिसलाई पनि राज्यको नजरमा सबैभन्दा ठुलो दुश्मन, राष्ट्रद्रोही र अराष्ट्रिय करार गरिन्छ । साईबाबा त्यस्तै एउटा नाम हो, जसले राज्यको अन्यायविरुद्ध आदिवासीका पक्षमा आवाज उठाए र आजीवन प्रमाणित गर्न नसकिएको ‘माओवादी’ र ‘राष्ट्रद्रोही’ को ट्याग भिरेरै बिदा भए ।
शरीरको ९० प्रतिशत अंगमा देखिएको सघन समस्याका कारण आजीवन ह्विलचेयरबाट उठ्न नसकेको एउटा प्राध्यापक र कविको मृत्युले नरेन्द्र मोदी शासित भारतीय लोकतन्त्रलाई कठघरामा उभ्याइदिएको छ । ५७ वर्षअघि आन्ध्र प्रदेशको गरिब किसान परिवारमा जन्मिएका गोकाराकोन्डा नागा साईबाबा अर्थात् जीएन साईबाबाको मृत्यु ‘न्यायिक हत्या’ हो वा ‘सामान्य मृत्यु’ ! बहस यसैमा केन्द्रित छ ।
त्यसो त लोकतन्त्रका नाममा मारिने उनी मात्र एक्ला होइनन् भारतमा । सन् २०२२ डिसेम्बरमा स्टेन स्वामी पनि त्यसै गरी न्यायिक हत्याको सिकार भएका थिए । त्यसअघि अफजल गुरुको त्यसैगरी हत्या गरियो । हजारौँको हत्या र यातनाको जगमा उभिएको भारतीय लोकतन्त्रको वास्तविक अनुहार हिजोआज शासकको अहंकार, अल्पसंख्यकको अनुहार र भारतका जेलहरूमा देख्न सकिन्छ जहाँ, प्राध्यापक, सामाजिक कार्यकर्ता, मानवअधिकारवादी, पत्रकार तथा विद्यार्थी कैद गरिएका छन् ।
गौतम नवलखा, आनन्द तेलतुम्बडे, सुधा भारद्वाज, सोमा सेन, रोना विल्सन, उमर खालिद, गुल्फिसा फातिमा, खालिद सैफी, सरजिल इमाम, सुरेन्द्र गाडिलिङ महेश राउत र बरबर रावसहित साईबाबा तिनै हजारौँ नाममध्ये एक थिए । धन्न साईबाबाले मुक्ति पाए अकल्पनीय यातनाहरूबाट ।
लेखिका अरुन्धती रोय भन्छिन्, ‘उहाँको वास्तविक अपराध भनेकै म र उहाँ लगायत कैयौँले आदिवासी क्षेत्रमा सरकारद्वारा चलाइएको ‘अप्रेसन ग्रिनहन्ट’ विरुद्ध आवाज उठाउनु थियो । तपाईंहरूलाई थाहै छ— त्यो अप्रेसन दशौँ हजार प्यारा मिलिट्री फोर्स र सलवा जुडुम नामको राज्य पोषित भिजिलान्ते समूहद्वारा चलाइएको छ । उनीहरू त्यहाँ हत्या, बलात्कार र विस्थापन गराइरहेका छन् र त्यसविरुद्ध बोल्नेलाई अनेक आरोप लगाएर जेलमा कैद गरिरहेका छन् ।’
साईबाबा, जो सानै उमेरमा पोलियोबाट ग्रसित भएर ह्विलचेयरबाट उठ्नै सकेनन्, उनले आफ्नो असाधारण मेहनत र लगनकै जगमा दिल्ली विश्वविद्यालयबाट अंग्रेजीमा विद्यावारिधि गरे र त्यसै विश्वविद्यालयमा प्राध्यापक भए, तर सन् २०१४ मा सत्तामा आएको भारतीय जनता पार्टीको सरकारले ‘माओवादीसँग संदिग्ध सम्बन्ध’ रहेको अरोप लगाई उनलाई जेल पुर्याइदियो ।
साईबाबा त्यस्तै एउटा नाम हो, जसले राज्यको अन्यायविरुद्ध आदिवासीका पक्षमा आवाज उठाए र आजीवन प्रमाणित गर्न नसकिएको ‘माओवादी’ र ‘राष्ट्रद्रोही’ को ट्याग भिरेरै बिदा भए ।
पाठकहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदी–कर्पोरेट निगमहरू–आदिवासी–माओवादी र जीएन साईबाबा बिचको सम्बन्धबारे बुझ्न कठिन हुन सक्छ । यसलाई बुझ्ने सजिलो सूत्र छ । भारतको ओडिसा, छत्तिसगढ, आन्ध्र प्रदेशमा आदिवासीको मूल थातथलो छ, तर आदिवासीको मूल वासस्थान क्षेत्रमा कोइला, अभ्रक, स्टिल र फलामको ठुलो खानी छ । सरकार त्यो सिङ्गो भूमि अडानी ग्रुप, रिलायन्स र टाटा स्टिललाई माइनिङका लागि दुई सय वर्ष लिजमा दिन चाहन्छ । त्यसका लागि आदिवासीका सयौँ गाउँलाई अन्यत्र सार्नुपर्ने भयो । सरकार गाउँको विस्थापन चाहन्छ, आदिवासी आफ्नो थातथलो छाड्न चाहँदैनन् ।
विस्थापन गराउने र रोक्ने बिचको घर्षणबाट त्यस क्षेत्रमा दुई महत्त्वपूर्ण शक्ति सतहमा देखापर्यो । पहिलो, प्यारा मिलिट्री फोर्स र सलवा जुडुम (राज्य प्रायोजित भिजिलान्ते समूह) । दोस्रो, माओवादी । आदिवासी प्रतिरोध घनीभूत हुँदै जाँदा सरकारलाई हम्मे–हम्मे पर्न थाल्यो । त्यसपछि सरकारले ‘अपरेसन ग्रिनहन्ट’ सुरु गर्यो । र, आदिवासीका पक्षमा आवाज उठाउनेलाई सबैलाई ‘माओवादी’ र ‘राजद्रोही’का रूपमा युएपीए कानुन लगाएर जेलमा हाल्न थालियो ।
सरकारको ‘माओवादी’ र ‘राजद्रोही’ करार गरिने परियोजनाको सिकार भए प्राध्यापक साईबाबा । दुई वर्षअघि महाराष्ट्र उच्च न्यायालयबाट सबै आरोपमा निर्दोष साबित भए पनि गुजरातमा नरेन्द्र मोदीका कानुन सचिव तथा हाल भारतको सर्वोच्च अदालतमा न्यायाधीश रहेका बेला त्रिवेदीले न्यायालय बिदा भएकै दिन फैसला सुनाई उच्च अदालतले साईबाबाको पक्षमा गरेको आदेश उल्ट्याइदिए । त्यति मात्र होइन, त्रिवेदीले उनलाई जेलको सबैभन्दा कठोर यातना दिइने ‘अन्डा सेल’मा राख्न आदेश दिए । त्यसयता उनी जेलमै थिए ।
उनै साईबाबाको १२ अक्टोबर २०२४ मा पत्थरीको शल्यक्रिया गर्ने क्रममा बन्दी जीवनमै मृत्यु भयो । हामीले यहाँ साईबाबाले आफ्ना विद्यार्थीलाई लेखेको एउटा पत्र र तीन कविता पस्किएका छौँ ।
मेरा विद्यार्थी तथा सहकर्मीका नाममा
कठोर फलामे बारहरूभित्र
दिनरात साङ्लोले बाँधिएर
एक्लै काल कोठरीमा बन्द रहँदा पनि
म सपनामा आफ्नै कक्षाकोठामा पुग्छु ।
मेरो दुर्बल र अप्ठेरो जीवनका बाबजुद
मेरो निर्बन्ध मनको आँखाले
तिमीहरूलाई नै देख्छु
तिमीहरूसँगै कुरा गर्छु
तिमीहरूलाई नै अँगालो मार्छु ।
तिमीहरूभन्दा धेरै टाढा
पिँजडामा कैद रहेको यो घडी पनि
मेरा हरेक शिरा र धमनीहरूमा
स्वतन्त्रताकै इच्छा बगिरहन्छ ।
तिमीहरूलाई थाहै छ
मेरो सिङ्गो जीवन र प्रत्येक श्वासमा
पढ्ने–पढाउने काम नै खाँदिएको छ
मैले साहित्य रोजेँ
यसले हाम्रो दुःखको विगतलाई
दुःख, आँसु, डर र आशाको
दर्शन र अर्थशास्त्रलाई
नयाँ उज्यालो जीवनसँग बाँध्न सक्छ ।
यी झुटका फलामे बारहरू
राजद्रोही करार गर्न खोज्ने दफा
र षड्यन्त्रपूर्वक फिँजाइएका भ्रमले
मलाई तिमीहरूभन्दा टाढा
तिमीहरूसँगको घनिष्ठताबाट
तिमीहरूको ज्ञानको आलोचनात्मक विमर्शबाट
र दबाइएको धर्तीको मुक्तिप्रति न्यानो स्नेहभन्दा पर
थुनेर राखेका छन् ।
प्यारा साथीहरू,
मैले मेरो सारा सचेत जीवन विश्वविद्यालयमा ज्ञान, प्रेम र स्वतन्त्रताको खोजीमा सिक्दै र सिकाउँदै बाँचेको हुँ । यस्तो खोजीका क्रममा मलाई थाहा भयो, सीमित व्यक्तिको स्वतन्त्रता त स्वतन्त्रता नै होइन रहेछ । मैले इतिहास, दर्शन र साहित्यको अध्ययन झनै उत्सुकताका साथ आलोचनात्मक चेतसहित पढ्न थालेँ । त्यसले आफ्नो वरिपरि झनै मिहीन ढंगले हेर्न थालेँ ।
म समाजमा घुम्न थालेँ । अमानवीय जीवन बाँचिरहेका व्यक्तिलाई भेट्न थालेँ । उनीहरूले मेरोजस्तै स्वतन्त्रताको अनुभूति नै गर्न पाएका रहेनछन् भन्ने थाहा पाएँ । मैले जात र स्वतन्त्रता कहिल्यै सँगै रहन नसक्ने कुरा बोध गरेँ । त्यसपछि म आफैँसँग बोल्न थालेँ । अनि बिस्तारै मेरो यात्रामा भेटिएका मेरा प्यारा मान्छेसँग बोल्न थालेँ । मैले मेरो वरपर भीमकाय मौनता भेटेँ । पूरै समाज मौन देखेँ ।
५७ वर्षअघि आन्ध्र प्रदेशको गरिब किसान परिवारमा जन्मिएका गोकाराकोन्डा नागा साईबाबा अर्थात् जीएन साईबाबाको मृत्यु ‘न्यायिक हत्या’ हो वा ‘सामान्य मृत्यु’ ! बहस यसैमा केन्द्रित छ ।
मैले आफूलाई यही मौनताको ढिस्कोमा लगेर ठोकेँ । म निर्ममतापूर्वक घाइते भएँ । जनताको व्यापक बहुमत हिस्सालाई यो मौनता तोड्नै दिइएको छैन । भारतको तार्किकतालाई ठुलो र बाँझो चट्टानले शताब्दीयौँदेखि थिचेर राखेको रहेछ । मलाई त्यही मौनताको जञ्जिर चुँडाउन मन लाग्यो । म आफैँसँग जुधेँ, तर चट्टानहरू टसमस गर्न नसकिने खालका रहेछन् । मैले आफैँभित्र समेत यो मौन समाज बोकेर हिँडेको कुरा बल्ल थाहा पाएँ । मेरो यो यात्रा सजिलो थिएन ।
यो लामो यात्रा कठिन र पीडादायी थियो । अन्ततः मैले आफ्नो आवाज उठाएँ भन्ने सोचेँ । मैले मेरा प्यारा व्यक्तिलाई पनि आफ्नो आवाज उठाउन भनेँ ताकि हामी संवाद गर्न सकौँ । यो क्रममा मेरो आवाज बिस्तारै ठुलो हुँदै गयो । म छक्क परेँ । मेरो आवाज त सुनिन थाल्यो । केही समयपछि त मेरो आवाज झनै चर्को हुन थाल्यो । त्यसपछि एक्कासि मेरो घाँटीमा बन्चरो हानियो । एकै झट्कामा मेरो आवाज बन्द गरियो ।
साथीहरू, म असह्य पीडामा डुबेको छु । एकपछि अर्को मेरा अङ्ग–प्रत्यङ्ग फुट्न थालेका छन् । बन्द गरिएको मेरो आवाज असह्य पीडामा विस्फोट हुने गर्छन् । मेरो घाँटीमा घाउ भएको छ, यसले गर्दा मेरो आवाज मसिनो सुनिन्छ । घाउ दुख्दाको चित्कार पनि नसुनिने खालको हुन्छ । मेरो मुटुमा ‘हाइपरट्रोफिक कार्डियोमियोप्याथी’को समस्या देखिएको छ ।
मष्तिष्कमा देखिएको ‘सिन्कोप’ भनिने अवस्थाले म बेला–बेला बेहोस हुन थालेको छु । मेरो मिर्गौलामा पत्थरी देखिएको छ । पित्तथैलीमा पत्थर जम्मा भएको छ । प्याङ्क्रियाजमा प्यान्क्राइटिस भनिने दुख्ने खालको मासु पलाएको छ । मलाई गिरफ्तार गर्ने क्रममा मेरो दाहिने पाखुराका नसाहरू भाँचिएका छन् । यस्तो अवस्थालाई ‘ब्राकियल प्लेक्सोप्याथी’ भनिँदो रहेछ । मेरा धेरैभन्दा धेरै सध्दे अंगहरूलाई मौनताका अंगले विस्थापित गर्न थालेका छन् । म हरघडी असह्य पीडामा बाँचिरहेको छु । म जीवन र मृत्युको दोसाँधमा छु ।
म यहाँ फैज अहमद फैजको कविताको (शिव के. कुमार अनुवादित) पंक्ति सम्झिन्छु ।
मेरो दुःख मौन गीतजस्तो छ
मेरो अस्तित्व भुइँको बेनामे धुलोजस्तो छ
मेरो दुःखले बोल्न मात्रै सक्थ्यो भने
म को हुँ भन्ने मलाई थाहा हुन्थ्यो होला ।
मैले यसको सार थाहा पाउँथेँ होला
यो दुनियाँको रहस्य खोल्न सक्थेँ होला
यदि मैले यो लुकाइएको रहस्य खोल्न सकेको भए
मेरो मौनताले पनि आवाज पाउँथ्यो होला ।
एघार महिनादेखि म जेलको कठिन अवस्थामा कुनै सहायताबेगर दुःखमा छु । मलाई न्यूनतम मानवीय मर्यादा र शारीरिक अनुशासनबाट पनि वञ्चित गरिएको छ । म बाँचिरहेको जीवनले मलाई अमानवीय परिस्थितिमा पुर्याइरहेको छ । सोच्नुस् त मलाई के अपराधमा यसरी थुनिएको छ ?
मैले आफूलाई यही मौनताको ढिस्कोमा लगेर ठोकेँ । म निर्ममतापूर्वक घाइते भएँ । जनताको व्यापक बहुमत हिस्सालाई यो मौनता तोड्नै दिइएको छैन । भारतको तार्किकतालाई ठुलो र बाँझो चट्टानले शताब्दीयौँदेखि थिचेर राखेको रहेछ ।
मैले स्वतन्त्रताका लागि बाँचेँ, मैले आवाजविहीनहरूको आवाज खोज्ने प्रयत्न गरेँ । मैले मेरो आवाज खोज्ने प्रयास गरेँ । मैले सदियौँदेखि आवाज खोसिएका मेरा प्यारा मान्छेका लागि लेखेँ, उनीहरूका बारे बोलेँ । यही हो मेरो अपराध । यसरी मेरो शरीर र मस्तिष्कलाई अपमान गर्नु भनेको मबाट मानवता खोस्नु मात्रै होइन, यो त हाम्रो सम्पूर्ण समाजबाट तथा समस्त सभ्यताबाटै मानवता खोस्नु हो ।
मलाई आशा छ— तपाईंहरू कसैमा मप्रति दया जाग्ने छैन । मलाई दयाको खाँचो छैन, म त ऐक्यबद्धता चाहन्छु । म यो कथा तपाईंहरू सामु यसकारण दोहोर्याउँदै छु, किनभने यो तपाईंहरूको पनि कथा हो । साथै मेरो स्वतन्त्रता तपाईंहरूको पनि स्वतन्त्रता हो ।
७ फेब्रुअरी २०१८
नागपुर
(मेरा विद्यार्थी र सहकर्मीहरूको नाममा लेखिएको)
(साईबाबाको पुस्तक ‘ह्वाई डु यु फिएर माई वे सो मच ?’ पुस्तकबाट)
जीएन साईबाबाका तीन कविता
- १) केही त बोल साधु !
केही त बोल साधु
खै कसरी त्याग्यौ
सांसारिकता ?
तिमीले आभूषण त्यागेँ भन्यौ
तर, राम्रो रेशमी गेरु भिरेर हिँडेको देख्छु ।
लोभ– पाप हो भनेर पढायौ,
तर, तिमी आफैँले विशाल जमिन कब्जा गरेको
बेहिसाब सम्पत्ति जम्मा गरेको देख्छु ।
मोह त्यागको घोषणा गर्यौ,
र लगत्तै मानिसहरूबिच घृणा फिँजाएको देख्छु
र अन्ततः उनै सर्वशक्तिमानका नाममा
शक्तिको आसन खोस्न पुगेको देख्छु ।
जनताको दास कविर भन्छन्,
ध्यानले हेर है सबैजना !
के यो दानव पुत्रले
कुर्सीका लागि कहिल्यै लोभ छाडेको छ ?
मेरा सहयात्रीहरू
अझै मनमा सवाल बाँकी छन् भने
अझै राम्रोसँग हेर त !
अत्याचारको नाभी
साधु बसेको कुर्सीमा कसरी जोडिएको छ !
(१५ फेब्रुअरी २०२०)
००
- २) मेरो स्वर्ग र नर्कको साँचो कथा
यो महारले
आत्मसम्मानको नशामा लागेर
असन्तुष्टि निम्त्याउँदै
भविष्यको स्मार्ट सिटीको साइनबोर्ड च्यातेर
राज्यविरुद्ध अपराध गर्ने सिवाय
केही गरेको थिएन ।
उसलाई
राजद्रोहको आरोपमा थुनियो ।
यो चमारले
स्वाभिमानको नशामा लागेर
असन्तुष्टि निम्त्याउँदै
भविष्यको स्मार्ट सिटीबाट मरेका गाईको सिनो
उठाउन इन्कार गरेर
राज्यविरुद्ध अपराध गर्ने सिवाय
केही गरेको थिएन ।
उसलाई
राजद्रोहको आरोपमा थुनियो ।
सुनौलो र अग्लो मेचको पछाडि बसेको
दाह्रीवाला मजिस्ट्रेटले आफ्नो फैसला सदर गर्यो
महार र चमारलाई
जन्म–जन्मान्तरका लागि
भविष्यको स्मार्ट सिटीबाट निष्कासन गरियोस् ।
महारलाई स्वर्ग
र
चमारलाई नर्क लगियो ।
अब उनीहरूले
हरेक बिहान र साँझ
देउताहरूको फोहोर सफा गर्नुपर्ने भयो
अनि बाँकी रहेको दिन
ढल सफा गर्नुपर्ने भयो ।
(१२ अप्रिल २०१८)
००
- ३) मेरा लागि नरुनु आमा !
जब तिमी मलाई भेट्न आयौ
मैले काँचको झ्यालबाट
तिम्रो अनुहार देख्न सकिनँ
यदि तिमीले मेरो अशक्त शरीरलाई नियालेर हेरेकी भए
म जिउँदै छु भन्ने पक्कै बुझ्थ्यौ ।
मलाई घरमा नभेट्दा नरुनु आमा !
जब म घरमा थिएँ
र बाहिरको खुला संसारमा थिएँ,
मेरा धेरै साथीहरू थिए
जब मलाई यो जेलको
गोलघरमा बन्दी बनाइयो
मैले संसारभर
झनै धेरै साथी पाएँ ।
मलाई बिसन्चो भयो भनेर दुःखी नहुनु आमा !
म सानो छँदा
जब तिमी मलाई एक गिलास दुध खुवाउन सक्दिनथ्यौ
तिमीले मलाई साहस र शक्तिका
तिम्रा मिठा बोली खुवाएकी थियौ
दुःख र पीडाको आजका दिनमा
तिमीले त्यो बेला खुवाएकैले
मलाई कमजोर हुन दिएका छैनन् ।
आफ्नो आशा निभ्न नदिनु आमा !
मैले बुझिसकेँ आमा जेल भनेको मृत्यु होइन
यो त मेरो पुनर्जन्म हो
म छिटै घर फर्किनेछु
तिमीले आशा र हिम्मतका साथ
मलाई हुर्काएको काखमा आइपुग्नेछु ।
मेरो स्वतन्त्रताको चिन्ता नगर आमा !
संसारलाई भनिदेऊ
मैले गुमाएको स्वतन्त्रता
हजारौँले स्वतन्त्रता पाएको हो
जब कोही मसँगै उभिन आइपुग्छन्
धर्तीका दुःखबारे बोल्न थाल्छन्
त्यहीँ मेरो साँचो स्वतन्त्रता छ आमा !
आमा ! आशा छ कसैले मेरो यो कविता तपाईंका लागि तेलगुमा अनुवाद गरिदिनेछन् । आमा, तपाईंले नबुझ्ने पराई भाषामा लेखेकामा माफ गरिदिनुहोला । के गरुँ म ? सानो छँदा आफ्नो काखमा राखेर तिमीले सिकाएको मिठो बोलीमा लेख्ने अनुमति छैन मलाई ।
(१४ नोभेम्बर २०१७ मा आमा मलाई भेट्न जेलको झ्यालमा आएर फर्केपछि लेखिएको ।)
००
यसरी एउटा छोरो गयो । एउटा पति, पिता, प्राध्यापक गयो । एउटा कवि, सामाजिक कार्यकर्ता, जनताको आवाज, एउटा सिङ्गो मानिस गयो । यसरी एउटा न्यायका लागि बोल्ने आवाज गयो । आखिर कहाँ गयो त ? वास्तवमा भन्ने हो भने ऊ फेरि नफर्कने गरी अस्ताएर गयो वा भन्नुस् भारतीय सत्ताले उसको न्यायिक हत्या गरिदियो । अपराध, जुन उसले कहिल्यै गरेकै थिएन, ऊ त्यसै कारण मारियो अन्ततः ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल सकिएपछि पारस खड्काले भने– अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउँछौँ
-
जनकपुरले जितेपछि पुबुदुले भने– मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी
-
एनपीएलमा हारेपछि सुदूरपश्चिमका प्रशिक्षक टमटाले के भने ?
-
विदेशमा रहेका नेपालीको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : शर्मा
-
आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु
-
१० बजे, १० समाचार : सकियो एनपीएल, साइबर ब्युरो पुगिन् समीक्षा