भरियादेखि ट्रेकिङ कम्पनीको मालिकसम्म
काठमाडौँ । धादिङको खनियाँबास–५, सिम्लेडाँडाका शिवहरी रिजाल कुनै बेला ट्रेकिङ कम्पनीमा भरियाको काम गर्थे । एसएलसीसम्म गाउामै पढेका उनले सरस्वती क्याम्पसबाट आइए उत्तीर्ण गरे । उनलाई अंग्रेजी भाषा एकदमै मन पर्थ्यो । अंग्रेजी बोल्न र लेख्नमा उनलाई रुचि थियो । उनी भूगोलमा पनि उत्तिकै चाख राख्थे । नयाँ ठाउँ, भाषा, संस्कृति, हावापानीबारे जान्न खोज्थे ।
धादिङबाट पढाइका लागि राजधानी पसेका रिजाल कामको खोजीमा थिए । उनका भिनाजुले सुरुमा गणेश हिमाल ट्र्रेकिङ कम्पनीमा काम लगाइदिए । अफिस ब्वायका रूपमा उनले त्यहाँ काम गरे । उनलाई यतिमा सीमित हुनु थिएन । जीवनमा अझै प्रगति गर्नु थियो । भरियाका रूपमा उनले केही समय गणेश हिमाल ट्रेकिङ कम्पनीमा काम गरे । भरियामै उनको मन कहाँ अडिन्थ्यो र ? केही समय भरियाका रूपमा काम गरेपछि कम्पनीका मालिकले उनलाई ट्रेकिङमा पठाए ।
रिजालका लागि ट्र्रेकिङ नयाँ काम थियो । त्यस्तो अनुभव नभएकाले सुरुमा यो काम उनका लागि चुनौतीपूर्ण नै थियो । केही पटक ट्र्रेकिङ गएपछि बिस्तारै काम सहज हुँदै गयो । उनले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (नाथम) बाट ट्रेकिङ गाइडको लाइसेन्स लिए । अब उनलाई फरक कामको अनुभव लिनु थियो ।
ठमेलको मदरल्याण्ड कम्पनीमा उनले ट्रेकिङ गाइडको रूपमा काम सुरु गरे । साढे ७ वर्ष यस कम्पनीमा काम गर्दा उनले थुप्रै विदेशी साथी बनाउने मौका पाए । विदेशीहरूसँग उनीहरूको भाषा, संस्कार सिक्ने यो सुनौलो मौका थियो ।
सन् २००० मा रिजालले पहिलो पटक विदेश पाइला टेके । ट्रेकिङ गाइडको रूपमा काम गर्दा जर्मनीका नागरिक रुथ र मार्टिनसँग उनको दोस्ती जम्यो । नेपालमा रहँदा ७ ठाउँमा उनीहरूले सागसँगै ट्रेकिङ गरे । पछि उनीहरूले ‘स्पोन्सर्ड’ गरेर रिजाललाई जर्मनी घुम्ने निम्तो दिए ।
रिजालले पर्यटन क्षेत्रमा ३० वर्ष बिताए । तीन दशक लामो यो समयमा फरक कम्पनीमा फरक भूमिकामा उनले काम गरे । गणेश हिमाल कम्पनीबाट उनले भरियाका रूपमा जीवनको पहिलो जागिर सुरु गरेका थिए । त्यसपछि ठमेलस्थित मदरल्याण्ड नेपाल कम्पनीमा ७ वर्ष काम गरेको अनुभव बटुले ।
एक जना साथीसँगको साझेदारीमा सन् २०१० मा उनले नेपाल स्पिरीट एडभेन्चर कम्पनी खोले । पाँच वर्ष यस कम्पनीमा काम गर्दा उनलाई थुप्रै कुराको अनुभव भयो । कम्पनी कसरी चलाउनुपर्छ, विदेशीहरूलाई कसरी नेपाल भित्र्याउने, अतिथि सत्कार कसरी गर्ने ? विदेशीहरू के चाहन्छन् ? उनीहरूलाई कसरी खुसी बनाउने ? लगायत उनले थुप्रै अनुभव बटुले ।
यति अनुभव बटुलेपछि रिजालमा आत्मविश्वास भरियो । उनी जोखिम लिन तयार भए । अनि सन् २०१६ मा आफ्नै कम्पनी खोले । उनले सञ्चालन गरेको लाइफ हिमालय ट्रेकिङ प्रालिमा हाल ३० जना भरिया, २० जना गाइड र ४ जनाले कार्यालयमा प्रत्यक्ष रोजगारी पाएका छन् । २५ लाख रुपैयाँको लगानीमा उनले यो कम्पनी खडा गरेका थिए ।
रिजालले नयाँ–नयाँ प्रविधिको भरपुर प्रयोग गरे । कसरी बढीभन्दा बढी पर्यटक नेपालमा भित्र्याउने ? उनले भएभरको जुक्ति लगाए । कम्पनीको वेबसाइट, इन्स्टाग्राम, फेसबुक, लिंक्ड्इन लगायतका प्लेटफर्ममार्फत उनले व्यापक रूपमा आफ्नो कम्पनी र नेपालको प्रचारप्रसार गरे । वर्षैपिच्छे उनले नयाँ–नयाँ प्याकेज बेच्न थाले, जुन अरू कम्पनीले बेच्न सकेनन् । उनले सगरमाथा (माउन्ट एभरेस्ट)कै मात्र वर्षमा ४०/५० वटा प्याकेज बेच्न थाले । अन्नपूर्ण, घान्द्रुक, गोक्यो लगायतका क्षेत्रमा पर्यटकहरूलाई घुमाउन थाले । योगा ट्रेक, लक्जरी होटेलमा रिट्रिट, बडी डिटोक्स लगायतका सेवा उनले प्रदान गरे । जसले गर्दा पर्यटकहरू भित्र्याउन सहज भयो ।
लाइफ हिमालय ट्रेकिङ प्रालिले सिजनमा ६ महिना राम्रै कारोबार गर्छ । ‘युरोपभन्दा मैले नेपालमा बढी कमाएँ ।’ यसो भनिरहँदा रिजालको आवाजमा आत्मविश्वास भरिएको थियो । ‘मलाई युरोप छोडेकोमा कुनै पछुतो छैन ।’
युरोपभन्दा नेपाल नै रमाइलो
विदेशीहरूसँगको चिनजानले रिजाललाई युरोप पुर्यायो । सन् २००३ देखि २०१० सम्मको समय उनले युरोपमा बिताए । सुरुमा घुम्नका लागि युरोप पुगेका उनले पछि जर्मनीलाई तीन वर्ष कर्मथलो नै बनाए । जर्मनी बस्दा उनले जर्मन भाषा र संस्कृति सिके । उनी सात वर्ष अस्ट्र्र्र्रियामा बसे ।
नेपालमा बस्दा भूगोलमा स्नातकोत्तर गरेका उनले अस्ट्रियाको साल्सबर्गमा सीएनसी टेक्निक पढे, जुन स्टिल र फ्रिजसँग सम्बन्धित थियो । युरोपमा उनको कमाइ राम्रो थियो । आर्थिक हिसाबले राम्रो कमाइ भए पनि उनको मनमा भने सन्तोष थिएन । किनकि रिजाललाई नेपाल फर्किनु थियो । नेपालमै व्यवसाय गर्नु थियो ।
युरोपका सुखसयल भन्दा नेपालकै बसाइ कयौँ गुणा बढी सन्तोषजनक थियो । उनलाई लाग्छ– देश भनेको ढुंगा, माटोमात्र होइन । हाम्रो धर्म, संस्कृति, परम्परा, सभ्यता पनि हो । यहाँका नदीनाला, हावापानी, रुख, विरुवाबारे हामी जानकार हुनुपर्छ ।
‘म आफ्नो माटो बुझेरै स्वदेश फर्किएँ,’ उनी भन्छन्, ‘युरोपभन्दा नेपालमै म बढी रमाउँछु ।’
रिजाल युरोपमा भन्दा नेपालमै खुसी छन् । कतिले किन नेपाल आएको ? उतै बसेको भए हुन्थ्यो भनेर सोध्छन् । तर, उनलाई नेपाल फर्केकोमा कुनै पछुतो छैन । बरु उनी खुसी नै छन् । जुन कुरा नेपालमा भोग्न पाएका छन्, युरोप बस्दा त्यो सम्भव थिएन । रिजालले ६,४७० मिटरको मेरापिक आरोहण गरेका छन् । यसबाहेक कालापत्थर, गोक्यो, थोराङलापास, यालापिक, रोल्वालिङ, यालुङ्ग्री, लार्केपास छिचोलेका छन् ।
समाजसेवामा मन
आफ्नो लगाव, परिश्रम र आत्मविश्वासका कारण रिजालले आफ्नै कम्पनी खडा गरे । उनले समाजसेवामा आफ्ना हात फैलाए । हाल रिजाल गणेश हिमाल कम्युनिटी फाउन्डेसनका अध्यक्ष छन् । सन् २०१३ देखि उनी यस संस्थाको नेतृत्वमा छन् । यसै संस्थाको सहयोगमा धादिङमा २ वटा स्कुल पनि निर्माण गरियो । यस्तै धादिङकै कुरीमा होमस्टे सम्बन्धी तालिम प्रदान पनि गरियो । जसले गर्दा केहीले रोजगारी पनि पाए । फाउन्डेसनले केही विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गरेको छ । उनले जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँलेहरूलाई सहायता प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीको उमेर हदले नयाँ तरंग ल्यायो : शर्मा
-
पौष कृष्ण औँसी : गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भक्तजनले गरे श्राद्ध
-
परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता
-
बन्दीपुर भ्रमण वर्ष मनाइँदै
-
१० बजे १० समाचार : नयाँ यात्रामा गौतम र रावल, रास्वपामा दलको नेतामा विवाद
-
एनपीएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा स्वागत