बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय
संस्मरण

जीवनको त्यो क्षण : सर्प र बिच्छीहरूको जङ्गलमा– ३

शनिबार, ०३ कात्तिक २०८१, ११ : २४
शनिबार, ०३ कात्तिक २०८१

पृथ्वी जयन्तीको दिन आयो । ऊबेला यस्ता राजसी जयन्ती पञ्चहरूका लागि बडो उल्लासपूर्ण पर्व हुन्थे र पञ्चायत विरोधीका लागि दमनकारी मनोवैज्ञानिक भार हुन्थे । मास्टर र विद्यार्थीले लाममा नारिएर भाषण सुन्न डबलीमा जानु अनिवार्य थियो । नजानुको नतिजा जागिर खोसिनु, पक्राउ पर्नु, कुटिनु, थुनिनु जे पनि हुन सक्थ्योे । 

जुलुसमा मास्टरले नारा लगाएको–नलाएकोे मसिनोसँग जासुसी गरिन्थ्योे । बोटबिरुवाका पात–पातमा, माटाका कण–कणमा, हावाका लहर–लहरमा जासुसका आँखा टाँसिएका हुन्थे । उसबेला लायन्स क्लब, रेडक्रस, परिवार नियोजनजस्ता समाज सेवाका खोल हालेका सुकिला संस्थाहरू समेत सरकारी जासुसीका अखडा बनेका थिए । व्यवस्थासँग भिन्नमत राख्नेहरूको चियो गर्नु तिनको दिनचर्या थियो । पाए भएका कुरा बटुलेर, नपाए नक्कली कुरा कथेर व्यवस्था विरोधीका विरुद्ध प्रशासनलाई पोल लगाउनु र आफ्नो स्वामिभक्ति र दानापानी बढाउनु तिनका नित्य धन्दा थिए । 

पञ्चायतभित्र सादा मान्छे थिएनन्, जासुस मान्छे मात्र थिए । सिङ्गो समाज जासुस र मान्छेका बिचमा बाँडिएको थियो । दासानुदास बन्न इन्कार गर्ने मानिसलाई सोझो वा घुमाउरो ढङ्गले राजा र व्यवस्थाविरोधीको बात लगाइन्थ्यो । अनि सके उसलाई प्रलोभन र दमनको सहाराले दास बनाइन्थ्योे, नसके उसलाई सताउनु सताइन्थ्यो ।

डफ्फा ओझेल पर्नासाथ श्रीमतीले माथि बाटामा गएर छिमेकीसँग कुरा बुझिन् । बुझ्दा थाहा भयो— सीडीओले मेरो घर कुन हो भनेर सोधेछ । छिमेकीहरूले थाहा छैन भनेछन् । त्यत्तिकैमा डफ्फा हत्तपत्त फर्केर गएको रहेछ ।

जुलुस सकियो र सभा सुरु भयो । सभास्थल जिल्ला प्रहरी कार्यालय अगाडि थियो । सुन्नै नसकिने भाषण विवश भएर सुन्दै डबलीको एक छेउमा एउटा रुखको आडमा बसेँ म । भाषण के हुनु छ, त्यहाँ त शासकको स्तुति गाउनमा तँछाड–मछाड छ, व्यवस्थाविरोधी भनी बात लगाइएका कम्युनिस्ट र काङ्ग्रेसको अखण्ड निन्दा गर्नमा होडबाजी छ । अबौद्धिक र अनैतिक खाइदेउहरूका उच्चाटलाग्दा भाषण सुन्दै थिएँ, मेरा दृष्टि प्रहरी अड्डाको कम्पाउन्डभित्रको चहलपहलतर्फ खिचिए । 

बाहिर धुमधाम सभा भइरहेछ, भित्र बडो अस्वाभाविक, नाटकीय र शङ्कास्पद दौडधुप, हाँपझाँप, चपलता र आतुरी छ । लुकामारी खेलेझैँ प्रहरीहरू घरी कता र घरी कता कुदेका देख्छु । बन्दुके सीडीओका मुखबाट याक्सनको सूत्रको रटना सुनेपछि मेरो मनको अन्तरमा बेचैनी, भय र दुःस्वप्नको विचित्रको आँधी उठेको छ । प्रहरीहरूको चुरीफुरीमा कुनै अनिष्टको पूर्वाभास भएझैँ मलाई लाग्योे । शङ्कालु मनको छाया होला भनेर मन बुझाउन खोजेँं । बेचैनीको उत्ताल तरङ्ग साम्य भएन । त्यसैले गह्रुङ्गो मन लिएर सभाको बिचैमा म घर फर्कें । अवैध पार्टीका केही अवैध सामग्री थिए, तिनलाई गोप्य दुलामा लुकाएँ । मनको हुँडलोलाई मत्थर पार्न छोरीसँग गट्टा खेलेँ, छोरालाई साइकलमा घुमाएँ ।

साँझ पर्नपर्न लागेको हुँदो हो । म घरबाहिर श्रीमतीसँग गफ गर्दै र छोराछोरीलाई खेलाउँदै विश्रामको मुद्रामा बसिरहेको थिएँ । मेरो घर भरतपुर क्याम्पस पछाडिको ऐलानी टार र नारायणी नहरको बिचको भिरालोमा थियो । मेरो घरमाथि ४०–५० मिटरको दूरीमा क्याम्पसतिरबाट आउने बाटो थियो । बाटामा क्याम्पसतिरबाट एकाएक बर्दीधारी प्रहरीहरूको लर्को आयो । अघिअघि सीडीओ र इन्सपेक्टर, पछिपछि बन्दुक बोकेका थुप्रो जवानहरू । ती बडो तुजुकका साथ यसरी अगाडि लम्के, मानौँ अघिल्तिर बैरीको सशस्त्र किल्ला छ, र गोलीगट्ठाका साथ किल्लामाथि धावा बोल्न त्यो शक्ति जोडतोडका साथ त्यतातिर लम्कँदो छ । मलाई लाग्योे— म अब क्रूर सिकारीका पन्जामा परेँ । झटपट सोचेँ— मूल बाटोबाट ती मेरो घरतिर झर्ने गोरेटोतिर लागे भने पछिल्लो ढोकाबाट तल नहरतिर म कुलेलम ठोक्छु । घरभित्र पसेँ र झ्यालको सिसाबाट चियाएर हेरेँे । छिनभरमै त्यो डफ्फा जुन बाटो आएको थियो, त्यही बाटो फक्र्यो । त्यो अवाइ र त्यो खाली हात जवाइ मलाई अनौठो लाग्योे । 

डफ्फा ओझेल पर्नासाथ श्रीमतीले माथि बाटामा गएर छिमेकीसँग कुरा बुझिन् । बुझ्दा थाहा भयो— सीडीओले मेरो घर कुन हो भनेर सोधेछ । छिमेकीहरूले थाहा छैन भनेछन् । त्यत्तिकैमा डफ्फा हत्तपत्त फर्केर गएको रहेछ । माटाका कणकणमा जासुसीका आँखा बिछ्याइएको त्यस निरङ्कुश कालमा प्रहरी अड्डाबाट मुस्किलैले दस मिनेटको दूरीमा पर्ने मेरो घर कुन हो भन्ने तिनलाई थाहा नहुनु असम्भव थियो र ! तसर्थ त्यस सिल्पट अभिनयको अर्थ के हुँदो हो ? केवल आतङ्कित तुल्याउने परपीडक लहडबाजी ? मुसाले बिरालालाई झैँ मार्नुअघि अलिबेर खेलाउने कुटिल क्रीडा ? वास्तवमा त्यस नाटकको अर्थ के थियो, अझसम्म मलाई थाहा छैन ।

उनले सुस्त स्वरमा मलाई सम्झाए, ‘साहना प्रधान वीरगन्जतिरको भ्रमणबाट फर्कंदा तपाईंकहाँ बसेको गलत सूचना कतैबाट सीडीओ साप्का कानमा पुगेछ । त्यसैले तर्साउने सुरले प्रहरी दलबलका साथ उहाँ तपाईंको टोलमा जानु भएको रहेछ । त्यो सशस्त्र दौडाहा तपाईंप्रति लक्षित थिएन ।’

ज्यान जोगाउ अभियानमा मैले कतै टाप कस्ने अठोट गरेँ, तर जाने कहाँ ? म पार्टी कार्यकलापमा क्रियाशील थिइनँ । तसर्थ भरअभरमा मुन्टो लुकाउने मेरो ठाउँ कतै थिएन । आफन्तहरूबारे यसो गम्दै जाँदा ओमकुमार दाइको नाम मेरो मनमा आयो । ओमकुमार दाइ अर्थात् बन्दीपुर बस्दाताकाका मेरी श्रीमतीका संरक्षक दाइ र मेरा मिजासिला मित्र श्री ओमकुमार पिया । उनको घर मेरो घर र नारानघाट बजारको बिचमा पर्ने क्षेत्रपुरमा थियो । पञ्चायती राजनीतिमा उनको धेरथोर संलग्नता त थियो नै, तर मूढमतिका कट्टरपन्थी उनी थिएनन् । वाम भनेर चिनिएको कुनै मास्टर वा कुनै विद्यार्थीकहाँ आश्रय लिनुभन्दा ओमकुमार दाइकहाँ जानु बढी सुरक्षित होला भन्ने मलाई लाग्यो । 

झमक्क साँझ परेपछि रातको बर्को ओढेर म ओमकुमार दाइकहाँ पुगेँ । उनीसँगको मेरो नाता नितान्त पारिवारिक र अनौपचारिक थियो । त्यसैले जो भएको घटनाबारे मैले केही नलुकाई उनलाई सुनाएँ । लप्पन–छप्पन नजान्ने सोझो बुद्धिका सरल मान्छे ओमकुमार दाइ, त्यस घटनालाई उनले उति साह्रो गम्भीर ठानेनन् । उनले त यति मात्र भने, ‘पागल बुद्धिको एकछिनको लहड हुन सक्छ बाबु त्यो, फिक्री गर्नुपर्दैन ।’ 

हामी राति अबेरसम्म गफ गरेर बस्यौँ । ओमकुमार दाइ साइबाबाका परम् भक्त । साइबाबा सम्प्रदायको सदाचार पक्ष र सेवा पक्षबाट उनी खुब प्रभावित थिए । त्यो बाटोतिर भक्तिभाव बढेपछि तामसी भोजन गर्न उनले चटक्कै छाडेका रे । साइबाबाको चमत्कारी शक्तिका अनेकन् विचित्रका कथा र अद्भुत चटकहरू उनले मलाई सुनाए । मलाई लाग्योे— साइबाबाको शक्ति साइबाबा स्वयंमा होइन, भक्तहरूको उनीप्रतिको अद्भुत भक्तिभावमा छ । ओमकुमार दाइले सुनाएका कथाहरूप्रति मेरो रतिभर रुचि थिएन । तर यस्तो तन्मयताका साथ उनले ती कथा सुनाए, त्यो भने मलाई बडो रोचक लाग्योे । कस्तो ताना ! मनको कस्तो एकाग्रता ! भक्तिभावका बलले शून्य आकाशबाट धानका लहलह बालाको सृष्टि हुन सक्छ भन्ने कस्तो अजीवको विश्वास !

ओमकुमार दाइ भक्ति–विभोर भई साइबाबाका चमत्कार–गाथा सुनाइरहेका थिए । म भने मृत्युबारे सोचिरहेको थिएँ । मारिनलाई पनि त हैसियत चाहिन्छ । मानसिक अन्तद्र्वन्द्वको हुन्डरी चलेको त्यस कटु क्षणमा मैले आफ्नो हैसियतबारे अनेकन् तर्कना गरेँ । मैले आफ्नो सिङ्गो अतीतलाई सोहोरेर आफ्नो स्मृतिपटको पर्दामा फिजाएँ । आफूले छिचोलेका सारा उकाली–ओरालीका डोबलाई विस्फारित नजरले नियालेँ । त्यसमा मारिन लायकको योग्यता वा गुण आफूमा केही फेला परेन । अन्याय–अत्याचारका पहरामुनि किचिएका अभागीहरूलाई अज्ञानताको गाढा निद्राबाट ब्युँझाउन मैले के गरेको छु ? गाँस र चेत हरिएकाहरूलाई गाँस र चेत हातलागी गर्ने सङ्ग्राममा डट्न मैले कति आवाज दिएको छु ? मैले जे लेखेको छु, त्यसमा मेरो समयको सत्य कति शक्ति र सामथ्र्यका साथ चित्रित भएको छ ? त्यस सत्यले कति मानिसमा जीवनको न्यानो, प्रेम, आशा र प्रेरणा सञ्चार गरेको छ ? कटुताका साथ मलाई महसुस भयो, त्यस्तो विलक्षण केही छैन । मृत्युको मूल्य त मारिने मानिसले गरेका कार्यहरूको सामाजिक प्रभावको गहनता र दिगोपनाको हिसाबकिताबबाट न निर्धारित हुने हो । मलाई आफ्नो अतीतप्रति गहिरो अवसादको अनुभूति भयो । केहीकथम् म मारिएँ नै भने त्यो मेरो जीवनको ठुलो सिद्धि होइन, बरु व्यर्थको त्रासदि हुनेछ । 

 

सीडीओको तोत्रबाजीमा ममाथि जुन आरोप थियो, त्यस आशयको केही न केही गर्ने मेरो इच्छा त अवश्य थियो नै । तर मेरो त्यो इच्छा मेरो आदर्शमा मात्र जीवित थियो, मेरो व्यवहारमा, मेरा कार्यमा, इतिहासमा मैले छिचोलेको बाटोका डोबहरूका निसानीमा पर्याप्त शक्तिका साथ त्यो कतै साकार भएको थिएन । त्यसैले मलाई आफ्नो गुमेको अतीतप्रति गहिरो पछुतो लाग्योे— पागल जल्लादका हातबाट म मारिइहालेँ भने व्यवहारमा मैले साकार रूप दिने चेष्टा नै गर्न नभ्याएको मेरो आदर्शका साथ म मारिनेछु । त्यो मेरो सिङ्गो र अन्तिम हत्या हुनेछ । हत्यापछि मेरा नाममा केही बाँकी रह्यो भने त्यो केवल भावुक भ्रम मात्र हुनेछ, र त्यो भ्रम पानीको फोकोझैँ फुटेर पलभरमै अनस्तित्वमा बिलाउनेछ । सर्प र बिच्छीहरूको बिगबिगी भएको जीवनको अँध्यारो जङ्गलमा उज्यालोतिरको बाटो खोजिरहेका अभागीहरूका निमित्त मेरो हत्याले त्राण, आशा वा केही पनि दिन सक्नेछैन । जो आफैँ आफूलाई निचोरेर रचना गरेको जीवन–प्रकाशले प्रज्ज्वलित भएको छैन, उसले अरुमा कसरी प्रकाश सञ्चार गर्न सकोस् ? बस्, अतीतको अवसाद र विफलताबारे कष्टप्रद भावनाहरूको हुन्डरीमाझ ओमकुमार दाइको साइबाबाको पूजाकोठामा साइबाबाको तस्बिरमा बलिरहेको झिल्के बिजुली बत्ती टुलुटुलु हेर्दै रातभरि उचित र अनुचित कुराहरू मैले सोचिरहेँ । 

तिनताक सर्वहारा श्रमिक सङ्गठनमा मेरा केही अन्तरङ्ग मित्रहरू थिए । तिनको न्यानो सहानुभूति र स्नेहमा तिनका जनसम्पर्कका नाकाहरूमा चितवनका सुदूर गाउँमा एकाध हप्ता म लुकेँ । भूमिगत भई पार्टी कार्यमा पूरा समय लागिदेओस् भन्ने मेरा मित्रहरूको मप्रति उत्कट अपेक्षा थियो । तर राजनीतिक कार्यकर्ता भई सङ्गठन र आन्दोलनका काममा होमिनु मेरो मूल चाखको विषय थिएन । लेखक, मास्टर र मास्टरी आन्दोलनको एक अगुवाका रूपमा म समाजको ठुलो हिस्सामा नराम्ररी उदाङ्गिएको थिएँ । भूमिगत राजनीतिमा संलग्न भई काम गर्न थालेको खण्डमा सूर्यको प्रकाशमा सामान्य हलचलसम्म गर्नु पनि सुरक्षाका हिसाबले मेरा लागि असम्भव हुन सक्थ्योे । कि त मैले काशीबास गरेर राजनीति गर्नुपथ्र्यो, जुन मेरो चाखको विषय पटक्कै थिएन । सामाजिक घटना चक्रको दिशा र प्रवृत्ति, सामाजिक संघर्षको स्पन्दन र सामाजिक मनोविज्ञानको प्रकृतिको जानकारी प्राप्त गर्ने हदसम्म मात्र मेरा लागि राजनीति चाखको विषय थियो ।

मेरो चाखको मूल विषय त साहित्य थियो । मलाई डर लाग्योे— राजनीतिमा पूरापूर खटिन थालेँ भने मेरो साहित्यिक जीवन समाप्त हुनेछ । दुई नाउमा खुट्टा राखेर म न यहाँ सिङ्गो र सग्लो रहनेछु, न त्यहाँ । फेरि सङ्गठनका नाम सर्वहारावादी भए पनि त्यसभित्रको आपसी सम्बन्ध भने एक कमरेडको अर्को कमरेडसँगको जस्तो मलाई लागेन । त्यहाँको आपसी सम्बन्ध त दाजुभाइको सम्बन्ध थियो । त्यहाँ निहुरिएर अभिवादन गरिने दाइ र निहुरिएर अभिवादन गर्न कर्तव्यबद्ध भाइ मैले देखेँ । सर्वहारावादी खोलभित्रको त्यो सामन्ती सम्बन्धका सामु निहुरिन मलाई भने उस्तो मन थिएन । सम्बन्धको त्यो चुरोलाई भत्काएर नयाँ जगबाट कमरेडी सम्बन्धको महल खडा गर्ने न ममा अन्तर्दृष्टि थियो, न सामथ्र्य नै । मेरो जीवनशैली एक प्रकारले स्वच्छन्द ढाँचाको साँचोमा ढलिसकेको थियो । फुक्काफाल खालको साँचोमा ढलिसकेको जीवनशैलीलाई भूमिगत राजनीतिको कठोर अनुशासनको साँचोमा ढाल्नु मेरा लागि उति सहज र सरल कुरा निश्चय नै थिएन ।

म चितवनबाट काठमाडौँ आएँ । अलि दिन लुकीछिपी काठमाडौँमा बसेँ । यसै बस्दा बडो पट्टाइ लागिरहेको थियो, संयोगले माओको दोस्रो ठेली अनुवाद गर्ने काम मकहाँ आइलाग्यो । अब मलाई बसिबियाँलोे पनि भयो, यसो चिया चुरोटको चाँजो पनि मिल्योे । मन उदास, खिन्न र बेचैन थियो, अब बिस्तार–बिस्तारै हलुङ्गो, प्रशन्न र शान्त हुँदै गयो । माओको ग्रन्थ अनुवाद गर्न पाउनु मेरा लागि गौरवको विषय थियो । निस्सार अतीतप्रतिको अवसादले खुम्चिएको मेरो मनमा उमङ्गको अलिकता पाइन चढ्यो ।

अनुवादको काममा तपस्याको रूपमा पलेँटी कसेर काठमाडौँमा झन्डै एक महिना बिताएँ । एक दिन संयोगवश कवि दुर्गालाल श्रेष्ठसँग भेट भयो । मेरो स्थितिबारे सबै कुरा मैले उनलाई बताएँ । उनले सल्लाह दिए— चितवनबाट त्यसरी गायब हुनु ठीक छैन । सुरक्षित उपाय खोज्दा झन् ठुलो असुरक्षा आइलाग्न पनि त सक्छ । सत्ताले समात्नै खोजेको भए काठमाडौँमा पनि बाँकी राख्दैन । व्यर्थमा अलप भएर निहुँ खोजाहा प्रशासनलाई आफू दोषी भएजस्तो, सशङ्कित भएर भागेजस्तो किन देखाउनु ? दुर्गालालजीका मुखारविन्दबाट त्यो कुरा सुन्दा भावुक कविका मुखबाट ठुलो व्यावहारिक सत्य प्रकट भएझैँ लाग्योे मलाई । मित्रका वचनको सत्यतालाई नकार्ने तर्क मसँग थिएन । तर फेरि बिनसित्तीको जोखिम झेलेर चितवन फर्किन र क्याम्पसको वाक्कलाग्दो वातावरणमा रल्लिन पनि मलाई मन थिएन । एकाध दिन मानसिक खिचातानीबिच कछुवा चालमा मेरो समय बित्यो । आखिर मैले ठहर गरेँ— अव्यावहारिक कवि दुर्गालालको यो सल्लाह व्यावहारिक र दूरदर्शितायुक्त छ । मेरा लागि सही जुक्ति त्यही हो र त्यही मात्र हो । बस्, कवि साथीको वचनलाई अघि लगाएर एक दिन म एकाएक कतै शून्यबाट अवतरित भएझैँ भरतपुर क्याम्पसमा हाजिर भएँ । 

प्रमुखसाप् ! मेरो अन्तरबाट मौन भाकामा प्रचण्ड आवाज उठ्यो— प्रमुखसाप् ! सीडीओ रामकृष्ण पन्तले अपराधी आँखा विष्णुको तस्बिरतिर उठाएर विष्णुका विरोधीमाथि याक्सन गराउँछु भनेको ठुलो कुरा होइन ? मार्छु भन्नु र बन्दुके प्रहरीहरूको दलबलसाथ मेरो घर–आँगन नेरबाट मेरो सोधखोज गर्दै आतङ्क मच्चाउनुका बिचमा कुनै सम्बन्ध छैन ?

आकस्मिक अन्तध्र्यानपछिको मेरो त्यो आकस्मिक अवतरण त्यहाँ ठुलो विष्मयको विषय बन्योे । क्याम्पसका मास्टरमध्ये केही अकिञ्चन गौप्राणी थिए । तिनले मेरो पुनरागमनलाई सरल र निर्दोष आँखाले स्वागत गरेझैँ मलाई लाग्योे । जो टाठाबाठा, सुकिला र चिल्ला थिए तिनले भने आशङ्का र भयका दृष्टिले मलाई हेरेझैँ भान भयो । मानौँ मसित अभिवादन लेनदेन गर्दा, हात मिलाउँदा वा एक वचन बोल्दा पनि तिनका जागिरमा खोट लाग्न सक्छ, तिनको वृत्ति–विकासको बाटोमा पहिरो जान सक्छ । आफूलाई वाम बौद्धिक ठान्ने कतिपय मास्टरहरू मदेखि अलग्गै, अछुत रहन खोजेको छनक मैले पाएँ । तिनको त्यो चाला देख्दा तिनको देखाइखाने वामनिष्ठाप्रति मलाई हाँसो उठ्यो र तिनको दोहोरो चरित्रप्रति मलाई घृणा लाग्योे । मलाई त्यस दिन औधी एक्लोपनाको उदासी अनुभव भयो— कुपढहरूको हुलका बिचमा आफू आफूसँगै मात्र भएजस्तो लाग्योे मलाई । 

पछि केही विद्यार्थीले परदेशबाट फर्केका बाबुलाई न्यास्रोले छटपटाइरहेका छोराछोरीले झैँ मलाई घेरे । ती सबैजसो स्कुलदेखिका मेरा विद्यार्थी थिए । मैले हात समातेर स्नेहका साथ डो¥याएका, मैले अंगे्रजीका गोटा माने सिकाएका, मैले बौद्ध जातक कथा सुनाएर अर्ती उपदेश दिएका, मैले आफन्तीका व्यङ्ग्य कथा भनेर दिल बहलाएका । तिनले मलाई पाखुरा–पाखुराको डोरीले बाँधेर क्याम्पसमा थामिराख्न खोजे । बिचरा सरल स्वभावका ती अल्लारेहरू ! सर्प र बिच्छीहरूको जङ्गलमा मानिसले झेल्नुपर्ने अप्ठ्यारा र जटिलताहरूबारे ती निर्दोष जीवहरूलाई के थाहा ? मेरो स्थितिको निसासलाग्दो जोल्ठिङबारे ती गौप्राणीहरूलाई के थाहा ? बस्छु र बस्दिनँको दोसाँधमा कुरा अल्झाएर तिनको बालसुलभ स्नेहले भरिपूर्ण घेराबाट म फुत्किएँ । पछि एकाध टाठा र सचेत विद्यार्थीलाई एकान्तमा भेटेर मैले आफ्नो गाँठा परेको स्थितिबारे बताएँ । र भनेँ— आज क्याम्पसमा मेरो अन्तिम दिन हो । मप्रति श्रद्धाभाव राख्ने सबै विद्यार्थीलाई भन्दिनू— मेरो शुभेच्छा सधैँ तिनप्रति रहनेछ । तिनको मप्रतिको स्नेहमय व्यवहारको सम्झना मेरा चित्तको अन्तरमा सधैँ जीवित रहिरहनेछ— सुखमा पनि, दुःखमा पनि ।

अन्तिम दिनको पढाइ सकेर मैले क्याम्पस प्रमुखलाई भेटेँ । भेट्ने इच्छा मेरो थिएन, जो पाकेको थोरैतिनो तलब माग्न उनलाई नभेटी मैले धरै पाइनँ । उनमा अघिअघिको जस्तो प्रशन्नता, फरासिलोपना आज मैले देखिनँ । यतिका दिन कहाँ गएका थियौ भनी उनले मलाई सोधे । शिष्टता र मर्यादाको उति पर्वाह नगरीकनै मैले भनेँ, कहीँ गएको थिइनँ, म नेपालमै थिएँ । कुरा साँचो थियो वा उनले कथेको हो मलाई थाहा छैन, उनले सुस्त स्वरमा मलाई सम्झाए, ‘साहना प्रधान वीरगन्जतिरको भ्रमणबाट फर्कंदा तपाईंकहाँ बसेको गलत सूचना कतैबाट सीडीओ साप्का कानमा पुगेछ । त्यसैले तर्साउने सुरले प्रहरी दलबलका साथ उहाँ तपाईंको टोलमा जानु भएको रहेछ । त्यो सशस्त्र दौडाहा तपाईंप्रति लक्षित थिएन ।’

मेरा क्याम्पस प्रमुखको त्यो सफाइ दियाइ मलाई औधी हास्यास्पद लाग्योे । एक त साहना प्रधानसँग मेरो चिनापर्ची नै थिएन । फेरि उनी मेरो घरमा बसेकै भए पनि एक साधारण राजनीतिक कार्यकर्ताविरुद्ध त्यत्रो सशस्त्र प्रहरी परेड, त्यत्रो रोब र त्यत्रो आतङ्क किन ? आखिर साहना प्रधानको ज्यान बारुदको धोक्रो त थिएन, जसले जल्लाद रामकृष्ण पन्तको प्रशासनिक किल्लालाई एकै झमटमा ध्वस्त पार्न सकोस् !

क्याम्पस प्रमुखले मलाई निश्चिन्त भए हुन्छ भने । मलाई आश्वस्त तुल्याउन उनले भ्याएसम्म यत्न गरे । उनले क्याम्पसमा कम्तीमा पनि चालु सत्र पूरा गरिदिन सविनय आग्रह पनि गरे । मैले गर्छु पनि भनिनँ, गर्दिनँ पनि भनिनँ । त्यो मेरो मनको अनुचित आशङ्का थियो वा जीवनको कठोर वास्तविकता— म अहिले पनि भन्न सक्दिनँ, तर त्यस क्षणमा मेरो सामुन्ने शान्त र उदास मुद्रामा मतिर फर्केर कुरा गरिरहेका मेरा क्याम्पस प्रमुखको अनुहार छिनछिनमा सीडीओ रामकृष्ण पन्तको अनुहारमा फेरिएझैँ मलाई लाग्योे । मलाई त्यस दिन त्यस अनुहारलाई बेस्मारी खिसी गर्न मन लाग्योे, त्यसको धज्जी उडाउन मन लाग्योे । आखिरमा क्याम्पस प्रमुखले भने, ‘वास्तवमा सीडीओ साप्मा तपाईंप्रति कुनै दुर्भावना छैन । सानोतिनो केही असमझदारी होला । त्यो कुनै ठुलो कुरा होइन ।’

प्रमुखसाप् ! मेरो अन्तरबाट मौन भाकामा प्रचण्ड आवाज उठ्यो— प्रमुखसाप् ! सीडीओ रामकृष्ण पन्तले अपराधी आँखा विष्णुको तस्बिरतिर उठाएर विष्णुका विरोधीमाथि याक्सन गराउँछु भनेको ठुलो कुरा होइन ? मार्छु भन्नु र बन्दुके प्रहरीहरूको दलबलसाथ मेरो घर–आँगन नेरबाट मेरो सोधखोज गर्दै आतङ्क मच्चाउनुका बिचमा कुनै सम्बन्ध छैन ? तर त्यो पीडामय आक्रोशलाई मैले मनको अन्तरमै दबाएर राखेँ । के थाहा ! सौम्य अनुहार र मिजासिलो बोलीवचन भएका मेरा क्याम्पसप्रमुखभित्र सीडीओ रामकृष्ण पन्तको अर्धाङ्ग पो लुकिबसेको छ कि !

समाप्त 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप