मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
ज्योतिष विज्ञान

ज्योतिषीय परामर्श र मनोविज्ञान

शनिबार, ०३ कात्तिक २०८१, ११ : १८
शनिबार, ०३ कात्तिक २०८१

वास्तु विज्ञान परामर्श केन्द्रमा आएकी एक महिलाको कुरा सुनिरहेको थिएँ । उनको दुःखको कथा निकै लामो थियो । आफूलाई बुझ्ने मानिस कोही छैनन् भन्ने उनको दुखेसो थियो । 

उनलाई कसैको माया लाग्दैन । कोही उनलाई मन पर्दैन । घरको काम सकेर अफिसको काममा जानु उनको दैनिकी हो । श्रीमान् पनि उच्च पदमा काम गर्ने भएकाले उनलाई घरको काममा कमै सहयोग मिल्छ । यद्यपि अप्ठेरो परेका बेला घरको काममा सहयोग भने गर्छन्, तर श्रीमान्ले गरेका हरेक काममा उनले कमी देख्छिन् । 

खाना पकाउँदा भाँडाहरू असरल्ल हुनु, चुलो फोहोर हुनु, तरकारीका टुक्राहरू यत्रतत्र छरिनु, खाना पकाउँदा भाँडाहरूको प्रयोग फरक हुनु जस्ता साना–साना कुराहरू उनलाई पटक्कै मन पर्दैन र श्रीमानलाई झपार्न थाल्छिन् । 

‘सन्तान असल छन्, राम्रो पढ्छन्, ज्ञानी छन् । राम्रो पढ्नु, असल र ज्ञानी हुनु त ठिकै हो तर मलाई पटक्कै बुझ्दैनन्,’ उनी भन्छिन्, ‘मैले कति दुःख गरेकी छु भन्ने उनीहरूलाई थाहै छैन । कहिल्यै आमा तँलाई दुःख छ भन्दैनन् । सधैँ घरको काम सकेर अफिस जान्छु र फर्केर पनि घरको सबै काम गर्छु तर श्रीमान्ले कहिल्यै तँलाई पनि गाह्रो छ भन्दैनन् । हरेक कुरालाई सामान्य रूपमा लिन्छन् । घर, अफिस, छोराछोरी, पाहुना, आफन्त सबै एक्लै सम्हाल्न मलाई निकै गाह्र्रो लाग्छ ।’ 

उनको मनको कुरा सुनिदिने कोही नभएर होला, उनले आफ्ना दुःखका कथा सुनाइरहिन् । 

ज्योतिषीय पेसा अरुका समस्या सुनिदिने र ग्रहजनित समस्या भएमा उपाय सुझाउने हो, तर कतिपय मानिस ग्रहको प्रभावभन्दा बढी मानसिक प्रभावले तड्पिरहेका हुन्छन् । सामान्यतया भावनात्मक दुःख या सुख मानिसको व्यक्तिगत अवस्थामा भरपर्छ । उसको भोगाइ र अनुभवले उसलाई दुःख या सुखको अनुभूति हुने गर्छ । मानिसको जीवनमा यी दुवै पक्ष अनिवार्य छ । दुःख छैन भने सुखको अनुभव पनि कठिन हुन सक्छ । यद्यपि मानिसले आफूले गरेका अनुभव र अनुभतिलाई नै दुःख या सुखको तराजुमा राखेर व्याख्या गरेको हुन्छ । आफ्ना अगाडिका घटनाको विश्लेषण कसरी गर्छ, त्यही आधारमा सुख र दुःखको निष्कर्ष निकाल्छ । किनकि कसैकोे प्रिय मान्छे गुमेको छ भने उसको पीडा अर्कोले उस्तै रूपमा अनुभूत गर्दैन । 

ज्योतिषीय पेसा अरुका समस्या सुनिदिने र ग्रहजनित समस्या भएमा उपाय सुझाउने हो, तर कतिपय मानिस ग्रहको प्रभावभन्दा बढी मानसिक प्रभावले तड्पिरहेका हुन्छन् ।

मानिस मनको राजा हो । मन जता गयो, भावना र उत्तेजना त्यतै जान्छ । ज्योतिषशास्त्रमा मनको कारक चन्द्रमा भएको ‘चन्द्रमा मनसो जातः’ भनिएको छ । मनले घटना निम्त्याउँछ, घटनाले भावना जन्माउँछ, खराब चन्द्रमाले आफूले भोगेका घटनाप्रति उदासीनता बढाउँछ र उदासीनता बढ्दै जाँदा अवसादमा परिणत हुन सक्छ । जुन अत्यन्तै पीडादायी हुन सक्छ । घटनालाई घटनाका रूपमा बुझ्न नसक्ने र जीवनकै वास्तविक पाटो बनाउने हो भने सामान्य तनावका घटना पनि अवसाद या ‘डिप्रेसन’को कारण बन्न जान्छ । जसमा घटनाका कारण या परिणामको प्रभावबाट कति समय दुःखी रहिन्छ भन्ने कुराले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । 

कतिपय मानिसले दुःखको कुरा गर्न निकै रुचाउँछन् । कसैले दिएको धोका, चोट, मानसिक र शारीरिक पीडाबाट उत्पन्न मानसिक पीडा, अपमान, घर–परिवारबाट दिइएका चोटका कथाजस्ता थुप्रै भावनाका कुरा सुन्ने र सुनाउने बानी नै परेको हुन्छ । आफ्ना पीडालाई बढाउँदै–चढाउँदै भन्ने र अर्काको सामान्य पीडालाई पनि अथाह ठुलो बनाएर प्रस्तुत गर्ने बानीले निराशा बढाउँछ । यो एउटा चित्त दुखाइका कारण उत्पन्न परिणाम हो । चित्त दुखाइमा कति वास्तविकता छ भन्ने बुझ्न कठिन छ । 

चित्तको दुखाइ र वास्तविक वा शारीरिक दुखाइ फरक कुरा हो । चित्तको दुखाइ चित्तबाट निवारण या उपचार गरिनुपर्छ भने शारीरिक दुखाइ चिकित्सकीय उपचारबाट निवारण गर्न सकिन्छ । शारीरिक दुखाइ शरीरको समस्यासँग सम्बन्धित हुन्छ, जसलाई घाइते या बिरामी अवस्था भनेर चिनिन्छ । जसमा दुखाइका आधारमा रोग र चोट पत्ता लगाएर उपचार हुन्छ । शरीरका विभिन्न अवयवमा असहजता उत्पन्न भएर हुने दुखाइ सकारण हुन्छ र कारणको पत्ता लागेपछि निश्चित किसिमको उपचार हुन्छ, तर दुःखको बानी परेकाका लागि भने उपचार सहज हुँदैन ।

कुण्डलीमा चन्द्रमा पीडित छ भने मानिसले आफू कसरी खुसी या सुखी हुन्छु भनेर सोच्दैन । आफ्ना अगाडिका सकारात्मक कुरालाई बेवास्ता गर्छ । समस्या र पीडालाई निरन्तर सम्झिरहन्छ । जसले आफू त दुःखी बन्छ नै, आफ्नो वरिपरिको वातावरणलाई पीडामय बनाउन थाल्छ । कसैलाई भेट्यो भने आफ्नो दुःखको कथा–व्यथा सुनाउन थाल्ने मानिसमा दुःखी बन्ने बानी विकास भइसकेको हुन्छ । 

उनीहरूलाई लाग्छ कि राम्रा र सकारात्मक कुरा सबै सामान्य हुन् तर दुःख र पीडाका घटना निकै अजंगका छन् । बितेका सबै दुखद् या पीडादायी घटनाहरू सफा दराजमा स्याहार गरेर राखे जसरी निरन्तर पस्किरहन्छन्, तर सुखद घटनालाई कुनै मूल्य दिँदैनन् । राम्रा र सुखद अवसर, बितेका सकारात्मक उपलब्धिहरू, आफ्ना आफन्तले दिएका उत्साहजनक अवसरहरू पूरै रद्दीको टोकरीमा फाले जसरी सम्झनासम्म गर्दैनन् । यस्ता मानिसहरू म के कारण दुःखी छु भन्ने मात्र जान्दछन् । के गर्दा आफ्नो दुःख अरुले सुनिदिन्छन् भन्ने सोचिरहन्छन् । सुखद् विषयलाई अगाडि ल्याउँदैनन्, ल्याइहाले पनि त्यसमा नकारात्मकता खोज्न थाल्छन् र त्यसैलाई पीडा बनाउँछन् । जसले गर्दा उसमा निरन्तर दुःखी बनिरहने बानीको विकास हुन्छ । 

मानिसमा भावनासँग सम्बन्धित आफ्ना केही व्यक्तिगत बानीहरू हुन्छन् । जसले उसलाई प्रेरित गरिरहेको हुन्छ । बिहान ओछ्यानबाट बाहिर निस्कँदादेखि राति ननिदाउँदासम्म त्यही भावनाको वरपर घुमिरहन्छ मान्छे । बाहिर देखिने बानीभन्दा पनि खतरनाक हुन्छ, भावनात्मक बानी । बाहिरी बानी या लत त थाहा हुन्छ, भावनात्मक बानी या लत भने स्वयंलाई पनि थाहा नहुन सक्छ । यस्तो भावनात्मक व्यवहार या बानीले शारीरिक, मानसिक, सामाजिक, व्यावसायिक लगायत समग्र क्षेत्रमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । 

भावना मनसँग सम्बन्धित हुन्छ, तर ज्योतिषीय क्षेत्रमा मनलाई चन्द्रमाका आधारमा विश्लेषण गरिन्छ । मानिसका भावनालाई चन्द्रमाले प्रत्यक्ष प्रभाव पार्छ । जन्मकालीन समयमा चन्द्रमाको अवस्थालाई अध्ययन गरेर मानिसको मन या भावना कस्तो छ भन्ने निष्कर्ष निकालिन्छ । चन्द्रमाकै आधारमा हरेक मानिसको नाम रहन्छ भने यही नामका आधारमा राशि र प्रभाव तय हुन्छ । चन्द्रमाले नै सिंगो जीवनको दशा–महादशा निर्धारण गर्छ । जसको जन्मकालीन चन्द्रमा जस्तो छ, त्यस्तै उसको जीवनभरको भावनात्मक अवस्था हुन्छ भन्ने ज्योतिषीय मान्यता छ । 

भावना मनसँग सम्बन्धित हुन्छ, तर ज्योतिषीय क्षेत्रमा मनलाई चन्द्रमाका आधारमा विश्लेषण गरिन्छ । मानिसका भावनालाई चन्द्रमाले प्रत्यक्ष प्रभाव पार्छ । जन्मकालीन समयमा चन्द्रमाको अवस्थालाई अध्ययन गरेर मानिसको मन या भावना कस्तो छ भन्ने निष्कर्ष निकालिन्छ ।

मन चन्द्रमा हो । त्यसैले जन्मकालीन चन्द्रमा शुभ अवस्थामा हुनुपर्छ । जब चन्द्रमा पीडित छ भने मानिस जीवनभर पीडाको सहारामा बाँच्न चाहन्छ । मनोविज्ञान पनि चन्द्रमाको अवस्थासँग ठ्याक्कै मिल्छ । जुन व्यक्तिलाई ज्योतिषीय क्षेत्रमा चन्द्रमा पीडित बताइएको हुन्छ, त्यही मानिस मनोचिकित्सकको सहारामा पुगिरहेका हुन्छन् । जन्मकुण्डलीमा चन्द्रमा कुन ग्रहका कारण पीडित भएको छ, त्यही ग्रहजनित कारणबाट मानिस पनि पीडित भइरहेको हुन्छ । ज्योतिषीले चन्द्रमालाई बलियो बनाउन या पीडक ग्रहको दोष निवारण गर्न सल्लाह दिन्छन् भने मनोचिकित्सकहरू तत् प्रकारले मानसिक उपचार गरिरहेका हुन्छन् । 

ज्योतिषीय क्षेत्रमा उपचार भनेको मन्त्र, यन्त्र या तन्त्र हो । पीडित र पीडक ग्रहहरूको मन्त्रमार्फत व्यक्तिलाई निरन्तर होसमा राख्ने प्रयत्न ज्योतिषीय उपचार हो । मन्त्रको प्रभाव अथवा ‘भाइब्रेसन’ले मानिसमा नकारात्मक प्रभाव कम गर्छ र भावनात्मक उपचार सहज हुन्छ । त्यसरी नै मनोचिकित्सकले उसको व्यवहारबाट समस्याहरू पत्ता लगाई तत् सम्बन्धित विचार चलाउन मार्गनिर्देश गर्छन् । 

चन्द्रमा पीडित हुनेहरूका जलसँग चिकित्सा, चन्द्रस्नान, चन्द्र गायत्री मन्त्र अत्यन्तै लाभकारी हुन्छ । यद्यपि ज्योतिष केवल एउटा पक्षका आधारमा मात्र चल्दैन । त्यसैले यस्तो अवस्थामा चन्द्रमा शनि, केतु, राहु, मंगल कुन ग्रहका कारण पीडित भएको छ, सोही अनुसार उपाय गर्दा मात्रै तत्काल फाइदा लिन सकिन्छ । ग्रहका कारण प्रभाव र असरको कुरा एउटा महत्त्वपूर्ण पक्ष हो, तर पनि ज्योतिषी मनोविज्ञान बुझेर भावनात्मक उपायहरू प्रदान गर्नु अनिवार्य हुन्छ । 

(लेखक वास्तु विज्ञान परामर्श केन्द्रका सञ्चालक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप