महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक रु १० लाखको कारोबार
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद्योगमा सङ्कलन भएको दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो ।
डेरीबाट उत्पादित दुग्धजन्य वस्तुहरु आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताका लागि टाउन चोकमा पसल सञ्चालन गरिएको सहकारीका व्यवस्थापक सङ्गीता ओझाले जानकारी दिइन् । सहकारीले सञ्चालन गरेको डेरीबाट उत्पादित दुग्धजन्य पदार्थहरु दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवा अबदेखि उक्त पसलबाट पनि बिक्री वितरण गरिने ओझाले बताइन्।
उनका अनुसार डेरी उद्योगमार्फत मासिक रु १० लाखको दुग्धजन्य उत्पादनको कारोबार हुँदै आएको छ । सहकारीलाई देवघाट गाउँपालिकाले दूधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित वस्तुहरुको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ ।
देवघाटका महिलाले सञ्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबारसँगै दूध सङ्कलन, दुग्धजन्य वस्तुको उत्पादन, डेरी सञ्चालन, पशुपानलन, तरकारीखेती तथा सामूहिक रुपमा नगदेबालीको खेतीजस्ता आयआर्जनको काममा सदस्यलाई आबद्ध गराउँदै आएको छ ।
उक्त सहकारीमा हाल दैनिक पाँच सय ७० लिटर दूध सङ्कलन हुँदै आएको छ । सङ्कलित दूधलाई आफ्नै भवनमा रहेको उद्योगबाट विभिन्न वस्तु बनाई बिक्री गर्दै आइरहेको सहकारीका अध्यक्ष तारादेवी पन्तले जानकारी दिइन्।
उनका अनुसार दूधबाट दुग्धजन्य पदार्थ दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवालगायत उत्पादन हुँदै आएको छ । सहकारीमा हाल सात सय ९४ जना शेयर सदस्य रहेका छन् ।
सहकारीमा देवघाटको वडा नं १, ४ र ५ का महिला सदस्य छन् । शेयर सदस्यमध्ये अधिकांश पशुपालनमा संलग्न छन् । शेयर सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले खरिदगरी दुग्धजन्य वस्तु उत्पादनगरी बिक्री गर्दै आइएको छ । उत्पादित दुग्धजन्य वस्तु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौँडा, कावासोती, गैँडाकोटलगायत बजारमा डेरी पसलमार्फत बिक्री गर्दै आएको छ ।
अध्यक्ष पन्तले भनिन्, “बचत सङ्कलन तथा ऋण लगानीमार्फत शेयर सदस्यलाई व्यवसायमा सघाउने तथा उनीहरुको आर्थिक अवस्था सुधार्ने सहकारीको उद्देश्य हो । पछिल्लो समय सहकारीका सदस्य मिलेर समूह बनाएर सामूहिक रुपमा अदुवा र बेसारखेती गरेका छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठकमा वित्तीय उत्तरदायित्व विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो
-
संघमा ढिलाइ, प्रदेशहरूमा धमाधम हिउँदे अधिवेशन
-
पुस मसान्तसम्ममा ८ खर्बको आयात हुँदा ७४ अर्बको निर्यात
-
कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्री नआएको भन्दै समितिको ध्यानाकर्षण
-
प्रेस सेन्टरको महाधिवेशन चैत ५ मा गर्न प्रस्ताव