शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा

शनिबार, ०३ कात्तिक २०८१, ०८ : २९
शनिबार, ०३ कात्तिक २०८१

काठमाडौँ । न्युजिल्याण्ड १४ वर्षपछि पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा पुगेको छ । शारजाहमा भएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । 

वेस्ट इन्डिजकी डिएन्ड्रा डोटिनको चार विकेट लिँदै २२ रनको प्रदर्शनले न्युजिल्याण्डको ब्याटिङलाई निरन्तर दबाबमा राख्यो ।  जर्जिया प्लिमरले ३३ रनको सर्वाधिक योगदान दिएर न्युजिल्याण्डलाई १२८ रनको सम्मानजनक स्कोरसम्म पुर्‍याइन् । 

जवाफमा वेस्ट इन्डिजको सुरुवात खराब रह्यो। इडेन कार्सनले शीर्ष क्रमलाई ध्वस्त पारेपछि अन्त्यतिर डिएन्ड्रा डोटिनले आक्रामक पारामा ३३ रन बनाएर वेस्ट इन्डिजलाई जितको आशा देखाइन् । 

तर, न्युजिल्याण्डले दबाबमा राम्रो खेलेर आफ्नो जित सुनिश्चित गर्यो। अब फाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ । पहिला ब्याटिङ रोजेको न्युजिल्याण्डको सुरुवात ढिलो भयो। ४ ओभरको समाप्तिमा १६ रन मात्र बनाएको थियो । 

वेस्ट इन्डिजकी चिनेले हेन्क्रीले लगातार चार ओभर बलिङ गर्दै न्युजिल्याण्डलाई २४ रनमा सीमित गरिन् ।  करिश्मा रामहराकले अनुभवी सुजी बेट्सलाई २६ रनमा क्लिन बोल्ड गर्दै पहिलो विकेट लिएपछि न्युजिल्याण्ड ४८र१ को स्थितिमा पुग्यो । 

प्लिमरले आक्रामक पारामा खेल्दै चिनेले हेन्क्रीमाथि छक्का प्रहार गरिन्, तर केही बेरपछि हेन्क्रीलाई चोट लागेर मैदान छोड्नुपर्‍यो । 

यसबाट न्युजिल्याण्डको लय बिग्रियो। अमेलिया केर अर्को बलमै आउट भइन् भने प्लिमर १३ औँ ओभरको सुरुवातमा डोटिनको स्टम्पिङमा आउट हुँदै ६९/३ को अवस्थामा न्युजिल्याण्डलाई छोडिन् । 

क्याप्टेन सोफी डिभाइन र ब्रुक हलिडेले १२ रनको साझेदारी गरे पनि डोटिनले फेरि न्युजिल्याण्डलाई दबाबमा राखिन् । अन्तिम ३ ओभरमा न्युजिल्याण्डले ८ रनमा ४ विकेट गुमायो। अन्त्यमा इज्जी गेजले केही योगदान दिएर टिमलाई १२८/९ को स्कोरमा पुर्‍याइन् । 

वेस्ट इन्डिजको जवाफमा क्याना जोसेफ र हेली म्याथ्युजले धैर्यपूर्वक सुरुवात गरे। तर जोसेफलाई कार्सनले बोल्ड गरेपछि वेस्ट इन्डिजले २५/२ को स्कोर बनाएर पावरप्ले समाप्त गर्‍यो ।  कार्सनले कप्तान स्टेफनी टेलरलाई आउट गरेर वेस्ट इन्डिजको आशा कमजोर बनाइन् । 

डोटिनले आक्रामक पारामा खेल्दै ३ ठुला छक्का प्रहार गरिन् तर केरले उनलाई २२ बलमा ३३ रनमै आउट गरेपछि वेस्ट इन्डिजको जितको सम्भावना समाप्त भयो । अन्तिम ओभरमा वेस्ट इन्डिजलाई १५ रन आवश्यक थियो तर सुजी बेट्सले आठ वर्षपछि विश्वकपमा पहिलो ओभर बलिङ गर्दै न्युजिल्याण्डलाई जिताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप