शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँ र पोखरामा रास्वपाले प्रदर्शन गर्दै

शनिबार, ०३ कात्तिक २०८१, ०७ : ४४
शनिबार, ०३ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरा र काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । आज बिहान ११ बजे पोखराको मानवअधिकार चोक र दिउसो १ बजे काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न लागिएको हो । 

पोखरामा हुने प्रदर्शनको नेतृत्व गर्न पार्टीका दुवै उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतका नेताहरू गए राति नै पोखरा पुगेका छन् । राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ रास्वपाले लामिछानेको पक्राउविरुद्ध प्रदर्शन गर्न लागेको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज बिहान कास्की प्रहरीको जिम्मा लगाएको छ । शुक्रबार साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याएको सीआईबीले शनिबार बिहानका करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको हो । 

रातभरको पार्टी कार्यकर्ताको अवरोध र नाराबाजी छल्दै लामिछानेलाई सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको थियो । सीआईबीले सुरुमा रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । 

रविलाई पोखरामा पुर्‍याएर कास्की प्रहरीको हिरासतमा राखेपछि रास्वपा उपाध्यक्षद्वय वाग्ले र अर्यालसँगै रवि पत्नी निकिता पौडेलले भेट गरेका थिए । सडकमार्गबाट पोखरा जानेक्रममा बाटोमासमेत ठाउँ ठाउँमा रविको समर्थनमा नाराबाजी गर्न कार्यकर्ता सडकमा उपस्थित भएका थिए । उनीहरुले सकारकारको विरोध गर्दै रविको पक्षमा नाराबाजी गरेका थिए ।

लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारीको रकम ठगीको आरोप छ । यसअघि सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले लामिछानेले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न प्रहरीसमक्ष सिफारिस गरेको थियो ।

राजनीतिक पूर्वाग्रह देखियो: रास्वपा

संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा पार्टी सभापति लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर रास्वपाले गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहेको तर राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन् । 

बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम नागरिकको सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँ अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको समेत रास्वपाले आरोप लगाएको छ ।

गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडबडी जस्तो अर्बौँको घोटालामा आपसी समझदारीमा एकअर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका रास्वपाको आरोप छ ।

rrrr

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप