शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीका सय दिन, यस्ता छन् उपलब्धि

शनिबार, ०३ कात्तिक २०८१, ०१ : ३२
शनिबार, ०३ कात्तिक २०८१

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कार्यभार सम्हालेको १०० दिन पुगेको छ । 

हनिमुन पिरियड मानिने १०० दिनमा गरेको कामको आधारमा नै सरकारको प्रशंसा र आलोचना हुने गरेको छ । 

गत असार ३१ गते मन्त्रीमा नियुक्त भएका भण्डारीले आफ्नो पहिलो १०० दिने कामको समिक्षा गरेका छन् । यो अवधिमा उनले केही काम सम्पन्न गरेका छन् भने केही काम प्रकयामै रहेका छन् । 

मन्त्री भण्डारीले आफ्नो पहिलो १०० दिनमा कार्यस्थलमा आधारित सुरक्षा बिमाको काम सम्पन्न गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका आयोजनामा खटिने श्रमिक र रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु गरी ६५ हजार व्यक्तिको सामूहिक सुरक्षा बिमा गरी सामाजिक सुरक्षाको प्रत्याभूत गराएका छन् । 

तीमध्ये हालसम्म ६२ हजार २५९ जनाको सामुहिक सुरक्षा बिमा भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्शका लागि थप ३३ जिल्लामा आप्रवासी स्रोत केन्द्रको स्थापना गर्ने कार्य अघि बढेको छ । 

हाल ४४ वटा जिल्लाम सञ्चालित आप्रवासी स्रोत केन्द्र विस्तार भई ७७ वटै जिल्लामा स्थापना गर्न मन्त्रालयले थप ३३ जिल्लाका प्रक्रिया अगाडि बढाएको हो । त्यसबाट जिल्लास्तरबाट नै वैदेशिक रोजगार सम्बन्धी सूचना र परामर्श प्रदान हुने मन्त्रालयले जनाएको छ । 

मन्त्री भण्डारीले आफ्नो पहिलो १०० दिने कार्यकालमा मधेश प्रदेशमा निर्माण हुने व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको तालिम केन्द्र निमार्णलाई समेत राखेका छन् । त्यसका लागि जग्गा प्राप्ती गर्ने कार्य अघि बढेको मन्त्री भण्डारीले जानकारी दिए । 

त्यस्तै, सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताहरुको थप सूचीकरण गर्ने कार्य समेत आफ्नो १०० दिने अवधिको उपलब्धिभित्र राखेका छन् । त्यो समयभित्र ३०० रोजगारदाता र एक लाख ५० हजार योगदानकर्ता थप सूचीकरण गर्ने लक्ष्य मन्त्री भण्डारीको थियो । तर, त्यो अवधिमा ४६६ रोजगारदाता थपिएका छन् । हालसम्म १९ हजार ६७६ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । 

त्यस्तै १०० दिने अवधिमा एक लाख ५० हजार योगदानकर्ता थप गर्ने लक्ष्य लिएकोमा एक लाख ९८ हजार ५६३ जना सूचीकरण भएका छन् । हाल सूचीकरण हुने योगदानकर्ताको संख्या १६ लाख ९० हजार १०३ पुगेको छ ।
 
त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र क्षेत्रीय विमानस्थल पोखराबाटै श्रम स्वीकृति प्रदान गर्ने कार्य अघि बढाएका थिए । श्रम स्वीकृति लगायतका कार्य गर्न सबै सरोकारवालाहरुसँग छलफल गरी प्रतिबद्धता प्राप्त भई सेवा प्रवाह गर्न तयारी पुरा गरिएको मन्त्री भण्डारीले बताए । 

त्यस्तै उनले आफ्नो १०० दिने उपलब्धीमा तीन देशसँग द्विपक्षीय श्रम सम्झौतालाई समेत राखेका छन् । जसमा दक्षिण कोरिया (ईपीएस) र मलेसियासँगका द्विपक्षीय श्रम सम्झौताको नवीकरण र ओमानसँग द्विपक्षीय श्रम सम्झौताको प्रक्रिया अगाडि बढाएका छन् । 

कोरियासँग नवीकरणका लागि रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेर कार्यदलले काम गरिरहेको छ । एचआरडी कोरियासहितको सहभागितामा संयुक्त बैठक भई अन्तिम रुप दिन बाँकी छ । 

त्यस्तै, नेपालको तर्फबाट मलेसियासँगको श्रम सम्झौतालाई अन्तिम रुप दिई परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकार समक्ष पठाइएको र जवाफ प्राप्त हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, ओमानसँगको द्विपक्षीय श्रम सम्झौताका लागि नेपालमा उच्चस्तरीय छलफल भई प्रारम्भिक सहमति भई ओमान पठाइएको र ओमान सरकारको तर्फबाट कानूनी प्रक्रिया पुरा गरी नेपालले पाएपछि नेपाल सरकार मन्त्रिपरिषद् पठाउने गरी अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई विना धितो ऋण उपलब्ध गराउने योजना समेत मन्त्री भण्डारीले अघि सारेका छन् । त्यसका लागि कार्यविधिको अन्तिम मस्यौता तयार भएको र स्वीकृतिको चरणमा रहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप