शनिबार, ०३ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
१२ बजे, १२ समाचार

रातोपाटी ब्रिफिङ : रवि लामिछाने पक्राउदेखि सन्दीप लामिछानेलाई अमेरिकाको भिसासम्म

शनिबार, ०३ कात्तिक २०८१, ०० : ००
शनिबार, ०३ कात्तिक २०८१

पछिल्लो २४ घण्टामा भएका मुख्यमुख्य घटनाक्रमसहित रातको १२ बजे रातोपाटीको रात्रिकालीन श्रृंखला ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-


१. रवि लामिछाने पक्राउ, समर्थकहरूको विरोध प्रदर्शन
पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेलाई उनकै पार्टी कार्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।

 

 

२. धनराज र ऋषिकेशलाई कारबाही गर्न माग

चितवनको मुग्लिनमा सयौँको संख्यामा रास्वपाका नेता कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् । नाराबाजीका क्रममा एमालेका नेता ऋषिकेश पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङसहित वास्तविक सहकारी ठगहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् ।  


३. अध्यादेशको त्रास

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेपछि विपक्षी दलहरूमा हलचल उत्पन्न भएको छ । शुक्रबार अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकमा अध्याादेश पेस हुन सक्ने हल्ला चलेपछि विपक्षी दलहरूमा हलचल उत्पन्न भएको हो ।

४. विपक्षी दलको बैठक

विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

५. पशुपति धर्मशाला विवाद

उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

 न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।


६. सुनको मूल्यमा रेकर्ड

सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो ।

बिहीबार यस्तो मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो । आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।


७. रविका पार्टनरलाई म्याद थप

रास्वपाका सभापति रवि लामिछानेका तत्कालीन ‘बिजनेस पार्टनर’ छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी उनलाई २० दिन म्याद थप गरेको हो । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन ।

 

८. बीपी राजमार्गबारे अन्योल

पूर्वी नेपाललाई संघीय राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आए पनि स्थायी रूपमा सञ्चालनमा ल्याउनेबारे अन्योल देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार  स्थायी रूपमा निर्माण गर्न कति समय लाग्ने टुङ्गो लागेको छैन ।


९. सन्दीपले पाए भिसा

नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले अन्ततः अमेरिकाको प्रवेशाज्ञा (भिसा) पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा उपलब्ध गराएको हो ।

१०. अर्थ मन्त्रालयको तीन महिने प्रगति

अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री  क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेसशसम्म छन्।

११. टीआरसीसम्बन्धी आयोग गठनको बाटो खुल्यो

शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउन सरकारले सर्च कमिटी (सिफारिस समिति) लाई पूर्णता दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सर्च कमिटीलाई पूर्णता दिने निर्णय गरेको हो ।

१२. साना दलको एकता कसरत

विभिन्न साना दलहरूको बिचमा एकता र सहकार्यका लागि सहमति भएको छ । हिजो झापाको दमकमा भएको बैठकमा साना दलले एकता र सहकार्यका लागि सहमति गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप