शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

झापा ११ बेलबारी गोल्डकपको क्वाटरफाइनल प्रवेश

शुक्रबार, ०२ कात्तिक २०८१, १८ : ४४
शुक्रबार, ०२ कात्तिक २०८१

बेलबारी ।  उद्घाटन खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब  अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार बेलबारी ११ को लक्ष्मी खेलमैदानमा भएको उद्घाटन खेलको नवौँ मिनेटमा कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीका प्रनेश प्रदानले वान भर्सेज वानमा उत्कृष्ट गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । झापाका गोल रक्षक सन्दीप लिम्बू गोल पोष्ट छोडेर अगाडि बढेको मौकालाई सदुपयोग गर्दै पाहुना टोलीले झापा विरुद्ध सुरुवाती गोल गरेको हो ।

 खेलको ३५ ओं मिनेटमा झापा खेलमा फर्क्यो । आशिष् चापागाईंले पोस्टमा प्रहार गरेको बल रिवाउन्स भएर मैदानमा फर्किएको थियो । उक्त बललाई झापाका नीरज कार्कीले कुनै गल्ती नगरी जाली चुमाएका थिए । मध्यान्तर अघिसम्म १–१ गोलको बराबरीमा रहेको खेलमा झापाले ५३ ओं मिनेटमा अर्को १ गोल थप्यो । झापाका अभिषेक गुरुङले आशिष् चापागाईँको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरे ।

कञ्चनजङ्घाका खेलाडीहरू सम्हालिन नपाउँदै झापा ११ ले तेस्रो गोल ठोक्यो । ५९ ओं मिनेटमा झापाका नीरज कार्कीको पासमा उत्सव राईले गोल गरे । खेलको ७० ओं मिनेटमा उत्सव राईले अर्को १ गोल थपे ।

सिलिगुडीका गोल रक्षक प्रनुव लिम्बु बल नियन्त्रण गर्न अघि बढेको समयमा उत्सवले सुन्दर गोल गरे । सुरुवाती गोल खाएर निरास बनेको झापाको गोल गर्ने क्रम रोकिएन ।खेलको ७६ ओं मिनेट भविन बोहोराको पासमा निकेश श्रेष्ठले टिमका लागि गोल गरे । ५–१ गोलले स्तब्ध भएको पाहुना टोली अन्ततः पहिलो चरण बाटै खेलबाट बाहिरिएको छ । 

उद्घाटन खेलमा  झापाको तर्फबाट २ गोल गर्ने उत्सव राई   म्यान अफ द म्याच घोषित भए । उत्सवलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले नगद ५ हजार सहित ट्रफि प्रदान गरे । उद्घाटन खेलको म्यान अफ द म्याचको ट्रफि विवेक गुरुङले सौजन्य गरेका हुन् ।

शनिवार आयोजक एलएक्स सिटी फुटबल क्लब बेलबारी ११ र चित्लाङ फुटबल क्लब काठमाडौँ बिच खेल हुनेछ । यसअघि एक भव्य समारोहका बिच सातौँ संस्करणको गोल्डकप फुटबल प्रतियोगिता कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।

क्लबका अध्यक्ष विक्रम राईको सभापतित्वमा भएको उद्घाटन समारोहमा एन्फाका सदस्य दीपेन्द्र धिमाल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप