शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
संस्कृति

सात्तलाको भैलो हेर्न भिड, यस्तो इतिहास र महत्त्व

शुक्रबार, ०२ कात्तिक २०८१, १९ : ००
शुक्रबार, ०२ कात्तिक २०८१

सुर्खेत । दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको अवसरमा पश्चिम नेपालमा विभिन्न मेला तथा जात्रा लाग्ने गर्दछन् । जिल्ला र ठाउँ अनुसार फरक–फरक तर संस्कृति र इतिहास जोडिने ती मेला तथा जात्रामध्ये ‘सात्तलाको भैलो’ निकै चर्चित छ, जो दसैँको समयदेखि तिहारसम्म खेलिन्छ ।

कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको चर्चित मेला मानिन्छ सात्तलाको भैलो । पश्चिम दैलेखको आठबिस नगरपालिका–१, सात्तला भन्ने ठाउँमा मनाइने भैलो हेर्न यो पटक ५ हजारभन्दा बढी मान्छे भेला भए । दैलेखसहित छिमेकी जिल्ला अछाम, कालिकोट, सुर्खेतदेखि बिहीबार सात्तलाको भैलो हेर्न मानिस आएको उक्त वडाका वडाध्यक्ष बमबहादुर रावतले रातोपाटीलाई बताए ।

पुर्खाको थलो छाडेर तराई तथा सहरतिर गएकाहरू ‘सात्तलाको भैलो’ हेर्न गाउँ फर्किन्छन् । कैलाली, बर्दिया, बाँके लगायतका जिल्लाका मान्छेसमेत यहाँ सहभागी हुने गरेका छन् ।

रातको समयमा जाग्राम बसेर खेलिने ‘सात्तलाको भैलो’ हेर्न कर्णाली प्रदेशका कृषिमन्त्री विनोदकुमार शाह, भौतिक राज्यमन्त्री गमता विकदेखि प्रतिनिधि सभा सदस्य दीक्पाल शाही समेत सात्तला पुगे ।

बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्म खेलेर भैलो समापन भएको छ । वडा अध्यक्ष रावतका अनुुुसार ‘सात्तलाको भैलो’ को महत्त्व र सांस्कृतिक पक्ष पश्चिम नेपालका अन्य जिल्लाहरूको भन्दा विशिष्ट छ । उनले भने, ‘यो एक पुरानो संस्कृति हो । अहिले यो अन्त लोप हुँदै गइरहेको अवस्था छ । हामी यसलाई संरक्षण गर्न लागिपरेका छौँ ।’

5

रावतका अनुसार ‘सात्तलाको भैलो’ परापूर्वकालदेखि नै हरेक वर्ष दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमामा भव्यताका साथ मनाइन्छ । अन्य ठाउँको भैलो तिहारको बेला खेल्ने गरिन्छ भने यहाँ कोजाग्रत पूर्णिमाको राति खेल्ने गरिन्छ ।

‘सात्तलाको भैलो’ सम्बन्धी जानकार स्थानीय वीरबहादुर नेपाली (मार्क्सवादी)का अनुसार अन्य ठाउँमा घरघरमा भैलो खेल्ने परम्परा भए पनि यहाँको भैलो भने पौराणिककालदेखि नै बनाएको एउटा निश्चित ठाउँमा मात्रै खेल्ने गरिन्छ ।

यो क्षेत्रमा दसैँ–तिहारभन्दा भैलो मेलालाई ठुलो चाडको रूपमा मानिन्छ । भैलो हेर्न र खेल्नकै लागि प्रदेश तथा सहर पसेका युवायुवतीहरू गाउँ फर्किन्छन् भने बिहे भइसकेका चेलीहरू माइत फर्किन्छन् ।

‘संस्कार, संस्कृति र परम्पराहरूमा सात्तलाको प्रमुख आकर्षक र ऐतिहासिक चिनारीको रूपमा भैलो नै स्थापित छ,’ नेपालीले भने ।

कसरी सुरु भयो त सात्तलाको भैलो परम्परा ?

स्थानीय इतिहासका जानकारहरूका अनुसार भैलो कहिलेदेखि खेलिएको हो भन्ने तथ्य यकिन छैन । तर सय वर्षअघिदेखिनै यो परम्परा सुरु भएको हुनसक्ने वडाध्यक्ष रावत बताउँछन् ।

भैलोको विषयमा जानकार वीरबहादुर नेपालीले सङ्कलन गरेको विवरण अनुसार भैलो कसरी सुरुवात भयो भन्ने केही किंवदन्ती पाइएका छन्ः ।

—विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको राति सम्पन्नताकी देवी महालक्ष्मी रातभर को जागेको छ ? जाग्राम बसेर पूजाआजा कसले गरिरहेको छ ? भनेर पृथ्वीमा भ्रमण गर्ने र जाग्राम बसेका मान्छेलाई धनधान्य तथा ऐश्वर्य प्रदान गरी सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

यही विश्वासको आधारमा गाउँघरका मानिसहरू आफ्नो भलाइका लागि एकै ठाउँमा भेला हुन्छन् र, सम्पन्नताका लागि महालक्ष्मीको पर्खाइमा जाग्राम बस्ने भएका कारण भैलो खेल्ने परम्पराको सुरुवात भएको हो भन्ने मान्यता पनि छ ।

–भगवान रामले दश इन्द्रियहरूमा विजय प्राप्त गरिसकेको रावणमाथि विजय प्राप्त गरेर असत्य र नकारात्मक शक्तिलाई सत्यले जित्छ भनेर प्रमाणित गरेको हुनाले यसैको खुसीयालीमा एक रात जाग्राम बसेर भैलो खेल्ने परम्परा सुरुवात भएको हो भन्ने पनि मान्यता छ ।

—दुर्गा देवीले राक्षस गणका नायक महिषासुर लगायत रक्तवीज, शुम्भ, निशुम्भ आदिलाई वध गरी तिनको आतङ्कबाट मुक्त गरी मानव जगतको भलाइ गरेको हुनाले यसैको खुसीयालीमा भैलो खेलिएको हो भन्ने मान्यता पनि छ ।

—सारमा भन्नुपर्दा यी विभिन्न धार्मिक विश्वास र मान्यताका आधारमा आफ्नो भलो होस् भनेर गाउँका सबै मानिस एक रात जाग्राम बस्नु पर्ने र जाग्राम बस्दा रातभर केही नगरी बस्न नसकिने भएकाले जाग्राम बसेका भक्तजनहरूले अब जाग्राम बस्दा कुनै खेल खेलर बसौँ भन्ने योजना बनाएर भैलो खेल्ने परम्पराको सुरुवात भएको पनि हुन सक्छ । भलो शब्द अपभ्रंश हुँदै भैलोको रूपमा परिणत भएको पनि हुन सक्छ ।

कोजाग्रत पूर्णिमाको बिहान सूर्योदयसँगै पञ्चेबाजा मार्फत दमाई बस्तीबाट विशेष पूजाआजाका साथ भैल्या बाजो अर्थात् वर्षदिने बाजा बजाएर वरपरका छरछिमेकी र गाउँघरलाई भैलो खेलिने कुराको जानकारी गराइन्छ ।

यसैगरी दिउँसो र साँझपख पनि विशेष नगरा र भैल्या बाजा लगाएर पञ्चेबाजा मार्फत धुमधामका साथ भैलाको सूचनाको प्रचार गरिन्छ । यही पञ्चेबाजाको सूचनाको आधारमा वरपरका छरछिमेकी भैल्यारा–भैल्यारीहरू भव्य र सभ्य रुपमा भैलो खेल्न र हेर्न उपस्थित हुने गर्छन् । यो भैलोका प्रमुख हर्ताकर्ता र सामाजिक सांस्कृतिक रूपमा जिम्मेवार सात्तलाका पाल थापा, पाल दमाई र कडाराहरू हुन् ।

दमाई बस्तीमा भैलो पैटाउन्या ठाउँ अर्थात् गह्रा छ । त्यसै गह्रामा आफ्नो भाइहरूको नायक उपस्थित गराउने कुपिण्डाको बलि दिने, विशेष पूजाआजा गर्ने, भैलो हेर्न र खेल्न आएका नातागोता, सम्बन्ध र भाइबन्धुले एकाअर्कालाई टीकाटाला र जमरा लगाउने चलन छ ।

1

यो क्रम सकिसकेपछि दिदीबहिनीहरूले भैलो खेलाउने र हेर्ने आफ्ना भाइबन्धुहरूलाई फूलका माला र फुर्के पगरी बाँध्ने चलन थियो । यति भैसकेपछि पगरी फुर्को, माला र झगुलासहित विशेष पहिरनमा ठाटिएका बाजा बजाउने दमाईहरू भैलो खेलाउनका लागि तयार हुन्थे ।

भैलो पैटाउने ठाँउमा महाराजी नगरासहित, भैल्या पाड र भैल्या बाजो लगाई भैलो पुआड्दै आफ्नो नायकलाई काँधमा चढाएर ल्याउने र तामझामका साथ भैल्या गडामा उपस्थित हुने र विशेष रुपमा भैलो खेलाउने पुरानो चलन थियो । यद्यपि केही परम्परा बाँकी रहे पनि धेरैजसो चलन हराउँदै गएको छ ।

पाल थापाहरूको नायकको घरमा पनि कुपिण्डाको बलिसहित विशेष पूजाआजा गर्ने, आए÷गएका पाहुनाहरूलाई विशेष सम्मानका साथ भोज दिने नायकलाई विशेष सम्मानका साथ नातागोता, सम्बन्ध, भाइबन्धुहरू र भैल्याराहरूले टिकाटाला, जमरा र फूलमाला लगाउँथे ।

कुपिण्डाको बलिसहित विशेष पूजाआजा गरिसकेपछि दमाहाले पर्छाउँदै (दमाहाको पूजा) भैलो पुआड्दै नायकलाई काँधमा चढाएरै भैलोमा उपस्थित गराउने चलन थियो । नायक भैलो खेल्ने ठाउँमा आउनुभन्दा अघि नै गाउँघरका बुढापाका र युवाहरू भैलो खेलिरहेका हुन्छन् । पञ्चेबाजा र नायक कतिखेर आउँछन् भनेर भैल्यारा–भैल्यारीहरू विशेष प्रतीक्षामा हुन्थे ।

पञ्चेबाजासहित दुवैतर्फका नायकहरू भैलामा प्रवेश गरिसकेपछि भैलो भव्य रुपमा चम्किने गर्थ्यो । केही वर्ष यता पाल थापाभित्रको जेठो नायक परिवार चिउरेगडी थापाको घरबाट सम्पूर्ण विधि प्रक्रिया पु¥याइ भैलो भट्याउँदै पञ्चेबाजाको साथमा नायकसँगै धुमधामका साथ भैल्या गडा अर्थात भैलो खेल्ने ठाउँमा भैलो ल्याइन्छ ।

त्यसपछि मात्रै भैल्याराहरू जम्मा भएर गोलाकार रुपमा लागेर वर्ष दिन्या बाजाका तालमा भैलो खेलिन्छ ।

भैलो पुरुषले मात्रै खेल्ने चलन छ —गोलाकार रुपमा एकले अर्काको हात समातेर एकसरो र दोहोरो पाइतोमा खेल्ने गरिन्छ । भैलोभित्र भैलाको नायक र बाजा बजाउनेहरू मात्रै हुने गर्दछन् ।

भैलो खेल्दा भैलाका टुक्काहरू भन्ने अर्थात् भट्याउने ८÷१० जना बुढापाका र जानकारहरूको टिम हुन्छ । उनीहरूसँगै पञ्चेबाजा हुन्छ । भैलो भट्याउने र खेल्नेहरूले नेपाली पोसाक दौरा सुरुवाल र टाउकोमा फुर्कोसहितको पगरी बाँध्नुपर्ने पुरानो चलन थियो । यद्यपि यो चलन अहिले हराउँदै गएको छ ।

भैलोको टुक्का !

भैलो भट्याउँदा प्रायः देवीदेवताका नाम आउने गर्छन् । भैलाको टुक्कामार्फत देवीदेवता, भैल्यारा, भैल्यारी, रम्चेडु, दर्शक, बाजा बजाउने, भैलो खेलाउने, सुरक्षाकर्मी, नायक, सरकार पक्ष, मातृभूमि सबैको सेवा गरिन्छ र, आशीर्वाद पनि दिने गरिन्छ । यतिमात्रै होइन, भैलाको बिदाइ र अर्को सालको निम्तो पनि दिइन्छ ।

6

भैलो भट्याउने टिमले हरेक टुक्का बदल्दा भैल्याराहरूले साब्बाई–साब्बाई भनेर निकै आनन्द लिने गर्दछन् ।

सात्तलाको भैलो खेल्दा प्रयोग हुने तुक्का अर्थात केही शब्दावलीः

श्री गणेशाय नमः

देवताको भैलो

ए वर्षदिनको भैलो— भैलो

ए सुनको शैलो—भैलो

ए खेलखेल भाइयो—भैलिया भैलो

ए राम्ररी खेल—भैलो

प्रथम भैलो–महामाईको सेवा—भैलो

ए ह्वाँ पछि भैलो—महाकालीको सेवा–भैलो

ए ह्वाँ पछि भैलो —लक्ष्मीको सेवा–भैलो

ए ह्वाँ पछि भैलो—सरस्वतीको सेवा–भैलो

ए ह्वाँ पछि भैलो —नव दुर्गा देवीको सेवा–भैलो

ए ह्वाँ पछि भैलो—गणेशको सेवा–भैलो

ए ह्वाँ पछि भैलो—बर्माको सेवा–भैलो

ए ह्वाँ पछि भैलो—विष्णुको सेवा–भैलो

ए ह्वाँ पछि भैला—रामज्यूको सेवा–भैलो

ए ह्वाँ पछि भैलो—भूमिको सेवा–भैलो

सबै देवीदेवता र सबै क्षेत्रको सेवा गरे पश्चात सेवा चरणका टुक्काहरू सकिन्छन् । सेवा चरणमा प्रथम भैलो, द्वितीय भैलो भनेर पनि भन्ने चलन छ । यसमा ह्वाँ पछि भैलो भनेर सेवा चरणलाई सम्बोधन गरिएको छ ।

अब यसपछि पञ्चेबाजाले दोहोरो बाजा बजाएपछि भैलो गज्जबले चम्किन्छ र भैलो दोहोरो पाइतोमा खेलिन्छ ।

ए इनु बाँस क्या अरौँ ?—भैलिया भैलो

ए सिन्की चिरौला—भैलिया भैलो

ए सिन्की मिसिन्कि—भैलिया भैलो

ए ती सिन्की लिएर—भैलिया भैलो

ए कोट बुझाउला—भैलिया भैलो

ए कोटको राजा—भैलिया भैलो

ए क्या बरु देला ?—भैलिया भैलो

ए वर्ष दिन्या भैलो—भैलिया भैलो

ए आज क्या हो बार—भैलिया भैलो

देउ महाशिष भनेको ठुलो आशीर्वाद हो । लाख वर्ष बाँचुन् भन्ने आशीर्वाद हो । अदृश्य देवीदेवतादेखी जीवजन्तु, प्रकृति लगायत मानव सबैलाई आशीर्वाद दिइन्छ ।

ए वर्ष दिन्या भैलो—भैलिया भैलो

ए नभई मुख मैलो —भैलिया भैलो

ए खेलखेल भाइयौ—भैलिया भैलो

ए राम्ररी खेल—भैलिया भैलो

ए सरकारका माथ—भैलिया भैलो

ए दुबो पाथी भरियोस्—भैलिया भैलो

ए जनताका माथ—भैलिया भैलो

ए दुबो पाथी भरियोस्—भैलिया भैलो

ए नायकका माथ—भैलिया भैलो

ए दुबो पाथी भरियोस्—भैलिया भैलो

ए दमाईका माथ—भैलिया भैलो

ए दुबो पाथी भरियोस्—भैलिया भैलो

ए देउताका माथ—भैलिया भैलो

ए दुबो पाथी भरियोस्—भैलिया भैलो

ए भैल्याराका माथ—भैलिया भैलो

हरेक राम्रो काम भयो भने दुबो पाथि लगाएर आशीर्वाद दिने पुरानो चलन छ । सबैको भलो होस् सबैलाई (माथ भनेको) शिरमा दुबो पाथी माला पहिराउन परोस्, सबैको सधै शुभ भइरहोस् भन्ने मान्यता हो ।

ए खेल मेरा भाइयौ—भैलिया भैलो

ए वर्ष दिन्या भैलो—भैलिया भैलो

ए सुनको शैलो—भैलिया भैलो

ए भैलाका भैल्यारा—भैलिया भैलो

यी टुक्काहरू भनिसकेपछि भैलो अन्त्य हुन्छ । यसपछि देउडा, रतेउली, फुर्को लगायतका विभिन्न खेलहरू खेल्ने गरिन्छ । भैल्यारा र रम्च्याडुहरूले रातभर जाग्राम बसेर भैलो खेलेपछि खुसीको रुपमा भैलाको नायकसँग उपहारमा बोका माग्छन् र नायकले दिने बचन दिन्छन् । यसरी भैलो सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप