शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
आईसीसी महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनल

पूर्वविजेता वेस्ट इन्डिजलाई पहिलो उपाधिको खोजीमा रहेको न्युजिल्यान्डको चुनौती

शुक्रबार, ०२ कात्तिक २०८१, १४ : १६
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल शुक्रवार खेलिँदै छ । दोस्रो सेमिफाइनल खेलमा पूर्वविजेता वेस्ट इन्डिजले पहिलो उपाधिको खोजीमा रहेको न्युजिल्यान्डको सामना गर्नेछ ।

वेस्ट इन्डिज र न्युजिल्यान्डबिचको खेल संयुक्त अरब इमिरेट्स (यूएई) स्थित दुबई इन्टरनेशनल स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । वेस्ट इन्डिज समूह ‘बी’ को विजेता र न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

दोस्रो सेमिफाइनलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग भिडन्त गर्नेछ । दक्षिण अफ्रिका भने पहिलो सेमिफाइनल खेलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियामाथि आठ विकेटको रोमाञ्चक जित हासिल गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

जारी प्रतियोगितामा वेस्ट इन्डिज र न्युजिल्यान्डले हालसम्म एक–एक खेल मात्र हारेका छन् । समूह ‘बी’ को विजेता बनेको वेस्ट इन्डिज आफ्नो पहिलो खेलमा साबिक उपविजेता दक्षिण अफ्रिकासँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको थियो ।

 

वेस्ट इन्डिजले आफ्नो दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो । क्यारेबियन टोलीले आफ्नो तेस्रो खेलमा बङ्गलादेशलाई आठ विकेटले र चौथो खेलमा इङ्गल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।

यसैगरी, समूह ‘ए’ को उपविजेता बनेको न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतलाई ५८ रनले हराएको थियो । न्युजिल्यान्डको टोली आफ्नो दोस्रो खेलमा भने साबिक विजेता अस्ट्रेलियासँग ६० रनले पराजित भएको थियो ।

आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डले श्रीलङ्कामाथि आठ विकेटको सजिलो जित हासिल गरेको थियो । समूहगत चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा पनि न्युजिल्यान्डले पाकिस्तानमाथि ५४ रनको जित हासिल गरेको थियो ।

 

वेस्ट इन्डिज र न्युजिल्यान्ड दुबैले सन् २००९ मा सम्पन्न पहिलो संस्करणदेखि नै महिला टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । न्युजिल्यान्डको टोली सन् २००९ मा सम्पन्न पहिलो र सन् २०१० मा सम्पन्न दोस्रो संस्करणको फाइनलमा पुगेर पनि पराजित भएको थियो ।

सन् २००९ को विश्वकपको फाइनलमा घरेलु टोली इङ्ल्यान्डले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो । सन् २०१० मा सम्पन्न विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

महिला टी–२० विश्वकपको इतिहासमा सबैभन्दा कमअन्तरको जितको कीर्तिमान पनि त्यही खेलले बनाएको छ । त्यसयता न्युजिल्यान्ड फाइनलसम्म पनि पुग्न सकेको छैन । लामो समयपछि यसपटक न्युजिल्यान्ड पुनः लयमा देखिएको छ ।

 

यसैगरी, वेस्ट इन्डिज महिला टी–२० विश्वकपको पूर्वविजेता हो । क्यारेबियन टोलीले एकपटक उपाधि पनि चुमिसकेको छ । वेस्ट इन्डिजले सन् २०१६ मा सम्पन्न पाँचौँ संस्करणको फाइनलमा अस्ट्रेलियालाई आठ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

न्युजिल्यान्ड र वेस्ट इन्डिजबिच हालसम्म २३ वटा महिला टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमा न्युजिल्यान्ड बलियो देखिन्छ । न्युजिल्यान्डले १७ र वेस्ट इन्डिजले पाँच खेलमा जित हात पारेका छन् । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

जारी विश्वकपमा न्युजिल्यान्डको टोली सोफी डेभिनको कप्तानीमा रहेको छ । ३५ वर्षीया सोफी टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले देशका लागि एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् ।

West vs New 1

टेस्ट क्रिकेटमा भने उनले हालसम्म ‘डेब्यू’ गरेकी छैनन् । दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले सतक बनाएकी छन् । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा एक सय एक र टी–२० अन्तर्राष्ट्रियमा एक सय १७ विकेट पनि लिइसकेकी छन् ।

यसैगरी, वेस्ट इन्डिज यसपटक हायली म्याथ्यूजको कप्तानीमा रहेको छ । २६ वर्षीया म्याथ्यूज टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् । आफूले खेलेको दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले उत्कृष्ट सतक बनाएकी छन् । उनले दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट पनि लिएकी छन् ।

 

महिला टी–२० विश्वकपको नवौँ संस्करणमा १० वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलङ्का रहेका थिए ।

यसैगरी, समूह ‘बी’ मा बंगलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका थिए । दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको थियो । फाइनल खेल अक्टोबर २० तारिखमा खेलिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप