शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतविरुद्ध पहिलो पालीमा न्युजिल्यान्डलाई ३५६ रनको अग्रता, रचिनको शतक

शुक्रबार, ०२ कात्तिक २०८१, १३ : ३५
शुक्रबार, ०२ कात्तिक २०८१

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा न्युजिल्यान्डले तीन सय ५६ रनको अग्रता लिएको छ । पहिलो टेस्टको तेस्रो दिन शुक्रबार न्युजिल्यान्डको टोली आफ्नो पहिलो पालीमा चार सय दुई रन बनाउँदै अलआउट भयो ।

बेंगलुरुमा जारी टेस्टमा न्युजिल्यान्डले तीन विकेटको नोक्सानीमा एक सय ८० रनको स्थितिबाट तेस्रो दिनको खेल अगाडि बढाएको थियो । न्युजिल्यान्डका लागि पहिलो पालीमा ओपनर डेभोन कनवे र युवा ब्याट्सम्यान रचिन रवीन्द्रले उत्कृष्ट प्रदर्शन गरे ।

न्युजिल्यान्डका लागि कनवेले ९१ रनको योगदान गरे । उनले एक सय पाँच बलको सामना गरी तीन छक्का र ११ वटा चौका पनि हिर्काए । ३३ वर्षीय कनवेले टेस्ट क्रिकेटमा बनाएको यो १० औँ अर्धशतक हो । उनी केवल नौ रनका कारण शतकबाट चुके ।

यसैगरी, रचिन रवीन्द्रले पनि उत्कृष्ट शतकीय पाली खेले । उनले टोलीको खातामा एक सय ३४ रन थपे । उनले एक सय ५७ बलको सामना गरी चार छक्का र १३ चौका पनि हिर्काए । २४ वर्षीय रचिनले टेस्ट क्रिकेटमा बनाएको यो दोस्रो शतक हो । उनी अघिल्लो दिन २२ रनमा अविजित थिए ।

न्युजिल्यान्डका लागि टिम साउथीले पनि अर्धशतकीय पाली खेले । नवौँ नम्बरमा क्रिज समाल्न आएका साउथीले टोलीको खातामा ६५ रन थपे । उनले ७३ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए । ३५ वर्षीय अनुभवी खेलाडी साउथीले टेस्ट क्रिकेटमा बनाएको यो सातौँ शतक हो ।

किविज टोलीका लागि पहिलो पालीमा विल योङले पनि ३३ रन बनाए । कप्तान टम लाथम भने १५ रन बनाउँदै पेभेलियन फर्किए । ड्यारल मिचेल १८ रन बनाउँदै आउट भए । उनी अघिल्लो दिन १४ रनमा अविजित थिए । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले पनि १४ रन बटुले ।

न्युजिल्यान्डले अतिरिक्त रुपमा पनि १५ रन पायो । भारतीय टोलीका बलर रवीन्द्र जडेजा र कुलदीप यादबले तीन–तीन विकेट लिए । मोहम्मद सिराजले पनि दुई विकेट हात पारे । जसप्रित बुमराह र रविचन्द्रन आश्विनले पनि एक–एक विकेट लिए ।

त्यसअघि घरेलु टोली भारतले आफ्नो पहिलो पालीमा निकै निराशाजनक प्रदर्शन गरेको थियो । पहिलो टेस्टको दोस्रो दिन बिहीबार नै भारतीय टोली आफ्नो पहिलो पालीमा केवल ४६ रन बनाउँदै अलआउट भएको थियो ।

भारतीय टोली पहिलो पालीमा ३१.२ ओभर मात्र क्रिजमा टिक्न सक्यो । भारतीय टोलीले टेस्ट क्रिकेटको एक पालीमा बनाएको यो तेस्रो सबैभन्दा कम योगफल हो । घरेलु मैदानमा खेलिएको टेस्टमा भने भारतको यो नै सबैभन्दा कम योगफल पनि हो ।

पहिलो पालीमा भारतका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । बेंगलुरुमा जारी उक्त टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतीय टोलीका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले सर्वाधिक २० रन बनाएका थिए । उनले ४९ बलमा दुई चौका पनि हिर्काए ।

ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले टोलीको खातामा १३ रन थपेका थिए । उनले ६३ बलमा एक चौका हिर्काए । सबैभन्दा लामो समय क्रिजमा टिकेका ब्याट्सम्यान जैसवाल नै हुन् । कप्तान रोहित शर्मा दुई र अनुभवी ब्याट्सम्यान विराट कोहली शून्य रनमै पेभेलियन फर्किए ।

भारतका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । सरफराज खानले पनि खाता खोल्न सकेका थिएनन् । केएल राहुल, रवीन्द्र जडेजा र रविचन्द्रन आश्विनले पनि खाता खोल्न सकेनन् । खेल अवधिभर भारतीय ब्याट्सम्यानहरु क्रिज समाल्न आउने र लगत्तै फर्कनेक्रम जारी रह्यो । 

किविज टोलीका बलर म्याट हेनरी एक्लैले पाँच विकेट लिए । विलियम ओ’रुर्कले पनि चार विकेट हात पारे । हेनरीले १३.२ ओभरमा तीन मेडनसहित केवल १५ रन खर्चिए । विलियमले पनि १२ ओभरमा ६ मेडनसहित केवल २२ रन खर्चिए । टिम साउथीले पनि एक विकेट हात पारे ।

टेस्ट क्रिकेटको इतिहासमा एक पालीमा भारतले बनाएको सबैभन्दा कम रन भने ३६ हो । भारतीय टोली सन् २०२० को डिसेम्बर १७ तारिखमा एडिलेडमा खेलिएको अस्ट्रेलियाविरुद्धको टेस्टमा केवल ३६ रन बनाउँदै अलआउट भएको थियो ।

टेस्ट क्रिकेटमा भारतले बनाएको दोस्रो कम योगफल भने ४२ रन हो । भारतीय टोली सन् १९७४ को जुन २० तारिखमा लर्डसमा खेलिएको इङ्ल्यान्डविरुद्धको टेस्टमा केवल ४२ रनमा अलआउट भएको थियो । पहिलो टेस्टको पहिलो दिन बुधबारको खेल वर्षाका कारण सुरु नै हुन सकेको थिएन । दोस्रो दिनको खेल पनि समय–समयमा अवरुद्ध हुँदै अगाडि बढेको हो । 

न्युजिल्यान्डले ३६ वर्षदेखि भारतलाई उसैको घरेलु मैदानमा टेस्ट क्रिकेटमा हराउन सकेको छैन । त्यसैले न्युजिल्यान्डका लागि यो टेस्ट निकै महत्वपूर्ण छ । अन्तिम पटक न्युजिल्यान्डले सन् १९८८ मा भारतलाई उसैको मैदानमा टेस्ट क्रिकेटमा हराएको थियो । अर्कोतिर, भारतले सन् २०१२ देखि घरेलु मैदानमा एउटा पनि टेस्ट शृंखलामा हारेको छैन ।

क्रिकेट इतिहासमा भारत र न्युजिल्यान्डबिच पहिलो टेस्ट क्रिकेट सन् १९५५ को नेभेम्बर १९ देखि २४ तारिखसम्म हैदराबादमा खेलिएको थियो । यी दुई राष्ट्रबिच खेलिएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । यी दुई टोलीबिच दोस्रो टेस्ट सन् १९८८ को डिसेम्बर २ देखि ७ तारिखसम्म खेलिएको थियो । दोस्रो टेस्टमा भने भारत एक पाली र २७ रनले विजयी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप